सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका १७ वटा सहकारी संस्था खारेज गर्ने तयारी गरेको छ । पालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका विगत दुई वर्षदेखि निष्क्रिय रहेका ती सहकारी संस्था खारेजको लागि गाउँपालिकाले सूचना प्रकाशन गरेको हो ।
गाउँपालिकाको सहकारी शाखाले सहकारी ऐन बमोजिम सहकारी संस्था विघटन तथा दर्ता खारेज गर्न सकिने हुँदा सूचना प्रकाशित गर्दै ती संस्था खारेज गर्ने जनाएको छ । सूचना प्रकाशन भएको पैँतीस दिनभित्र सम्बन्धित सहकारी संस्थाको दर्ता प्रमाणपत्र, सक्कल पान नं प्रमाणपत्र, पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपी, पछिल्लो साधारणसभा भेलाको छायाँकपीलगायत आवश्यक कागजातसहित पालिकाको सहकारी शाखामा सम्पर्क गर्न प्रमुख प्रसाशकीय अधिकृत दीपक दाहालले जानकारी दिएका छन् ।
तोकिएको समय सीमाभित्र सम्पर्क नगर्ने सहकारी संस्थालाई खारेज प्रक्रियामा लगिने समेत दाहालले बताए । गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनापत्रमा गाउँ पालिकाका १९ वटा सहकारी संस्था रहेका छन् । जसमा अमर उज्यालो साना किसान कृषि सहकारी संस्था, त्रिशक्ति कृषि सहकारी संस्था, लगनशील महिला विकास बचत तथा ऋण सहकारी संस्था, कैलाश बचत तथा ऋण सहकारी संस्था, कोकरसिंग उपभोक्ता सहकारी संस्था ६.बन्जी सामुदायिक कृषि सहकारी संस्था, भोटेकोशी महिला बहुउद्देश्यीय सहकारी संस्था, निशाना उपभोक्ता सहकारी संस्था र हिमालयन मितेरी बचत तथा ऋण संस्था सहकारी संस्था रहेका छन् ।
त्यस्तै, लार्चा फुमाचे कृषि सहकारी संस्था, मितेरी उपभोक्ता सहकारी संस्था, सयपत्री उपभोक्ता सहकारी संस्था, शितल उपभोक्ता सहकारी संस्था, लिस्तिमाई बचत तथा ऋण सहकारी संस्था, थानसिङ् कृषि सहकारी संस्था, सिन्धु पर्यटन सहकारी संस्था र गोर्खा नेपाल बचत तथा ऋण सहकारी संस्थालाई पनि पालिकाले सूचना प्रकाशन गर्दै सम्पर्कमा आउन अनुरोध गरेको छ ।