रौतहट : गरुडा नगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रमका लाभग्राहीले ईलाका प्रहरी कार्यालय गरुडामा ठगीको जाहेरी दिएका छन् ।
गरुडा नगरपालिका वडा नम्बर ९ बस्ने बसन्त सहनीविरुद्ध तेतरी देवी,मनजुरवा देवी पासवान,रेनु देवी पासवान,तारा देवी,मन्जुला पासवान,जनारसी देवी र सन्जुला देवीले लिखित जाहेरी दिएका हुन् ।
सुरक्षित नागरिक आवासका नाममा प्रलोभन देखाइ सहनीले ५ हजार रुपैयाँका दरले पैसा असुल गरेको आरोप लगाइएको छ । रकम लिएको ८/९ महिना भइसक्दा पनि घर नबनेको भन्दै उनीहरुले जाहेरी दिएका हुन् । ठगी गर्नेलाई कानुनी कारबाही गर्न उनीहरुले माग गरेका छन् ।
जाहेरी बुझेपछि ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले यसबारे प्रहरीले छिट्टै अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रतिक्रिया दिएका थिए ।
सुरक्षित नागरिक आवास कार्यक्रममार्फत नागरिकको खरको छाना भएका घर विस्थापित गर्न ७५ हजार रूपैयाँ पाउने व्यवस्था रहेको छ । त्यही व्यवस्था अनुसार नै गरिब, विपन्नको नाममा गरुडामा गत आर्थिक वर्षमै आएको रकममा कमिसन स्वरुप पाँच/पाँच हजार रुपैयाँ दरले प्रतिपरिवार पैसा असुल गरिएको पीडितहरुको आरोप छ ।