२०८२ साउन ३ गते शनिवार / Jul 19 , 2025 , Saturday
२०८२ साउन ३ गते शनिवार
Ads

पाणिनी महोत्सवको तयारीका लागि छलफल

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ फागुन ५ गते १४:०२
पाणिनी महोत्सवको तयारीका लागि छलफल

अर्घाखाँची : अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पहलमा दुईदिने पाणिनी महोत्सव आयोजना हुने भएको छ । आगामी चैत २७ र २८ गते दुई दिन पाणिनी महोत्सव हुन लागेको हो । महोत्सवको पूर्व तयारी अनुरुप लुम्बिनी पर्यटन विकास परिषद्को कार्यालय बुटवलमा सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको पाणिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले मध्यान्हलाई जानकारी दिए ।

छलफलमा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशी, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, परिषद्का अधिकृत सीता पोख्रेल अर्याल, अधिकृत शंकर पौडेललगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

छलफलमा पाणिनी गाउँपालिकाका साविकका आठ वटा वाड पणेना, पोखराथोक, खिदिम, पटौटी, मैदान, धातिवाङ, अडगुरी र पालीका सम्पर्क समाजका प्रतिनिधिहरूले सल्लाह सुझाव दिएका थिए । कार्यक्रममा  समाजका पदाधिकारीहरू तथा स्थानीय अगुवाहरूले पाणिनी तपोभूमिको प्रवर्द्धनका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोक्रममा पाणिनी तपोभूमिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व, पाणिनीका कृतिहरू, पूर्वीय दर्शनका आर्थिक, सामाजिक, राजनैतिक तथा नैतिक आयामहरू, पाणिनी तपोभूमिको गुरुयोजना, धार्मिक पर्यटनका सम्भावना र चुनौती, संस्कृत शिक्षा केन्द्र स्थापनाका सम्भाव्यता, स्थानीय उत्पादन र पर्यटनको आपसी सम्बन्ध, सम्पर्क समाज तथा निजी क्षेत्रको भूमिका, नेपाल सरकारको पर्यटन नीति र पाणिनी क्षेत्रको प्राथमिकता तथा पाणिनी तपोभूमिको विश्वव्यापी प्रचारबारे छलफल भएको थियो ।

छलफलका क्रममा महोत्सवलाई भव्य र व्यवस्थित बनाउन आवश्यक पूर्वाधार विकास, प्रचार-प्रसार, धार्मिक तथा सांस्कृतिक गतिविधिहरू, अन्तर्राष्ट्रिय स्तरमा पाणिनी क्षेत्रको ब्रान्डिङ, स्थानीय पर्यटन प्रवर्द्धनका उपायहरू तथा सरकारी तथा निजी क्षेत्रको लगानीबारे छलफल भएको पाणिनी-२ का वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए । संस्कृत भाषा र वेदाध्ययनको पुनर्जागरण, धार्मिक पर्यटनको माध्यमबाट स्थानीय अर्थतन्त्र सुदृढीकरण, तीनै तहका सरकारको सहकार्यमा गुरुयोजना निर्माण र कार्यान्वयन तथा सम्पर्क समाज, संघसंस्था र निजी क्षेत्रको समन्वयबारे सहभागीहरूले  भनाइ राखेको वाड नम्बर ६ का अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले पाणिनी क्षेत्रको समग्र विकासका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै धार्मिक पर्यटन प्रवर्द्धन गर्न सरकार, सम्पर्क समाज, स्थानीयवासी, पर्यटन व्यवसायी तथा विभिन्न संघसंस्थाहरूले समान रूपमा भूमिका खेल्नुपर्ने बताए । पाणिनी तपोभूमि अझ व्यवस्थित रूपमा पर्यटन गन्तव्यका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै उनले संरचनागत विकासका लागि सरकारी तथा निजी क्षेत्रको लगानी आवश्यक भएको दाबी गरे ।

छलफलमा उपस्थित सम्पर्क समाजका प्रतिनिधिहरूले आफ्ना क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पाणिनी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि संयुक्त प्रयास आवश्यक रहेको बताए । उनीहरूले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई सशक्त बनाउँदै स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

पाणिनी महोत्सव सम्पन्न भएपछि पाणिनी तपोभूमिको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई अझ उजागर गर्दै संरचनागत विकासमा तीव्रता दिने, धार्मिक तथा अध्ययन पर्यटकहरूको आकर्षण बढाउने, नेपालको धार्मिक पर्यटन नक्सामा पाणिनी क्षेत्रलाई प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, संस्कृत तथा वेद अध्ययन केन्द्र स्थापना गर्ने तथा तीनै तहका सरकार, सम्पर्क समाज तथा पर्यटन व्यवसायीहरूबीच समन्वय सुदृढ गर्ने लक्ष्य राखिएको वाड नम्बर ३ का अध्यक्ष युवराज ज्ञवालीले बताए ।

छलफलमा सहभागी सबै पक्षहरूले महोत्सवलाई भव्यरूपमा सम्पन्न गर्दै पाणिनी तपोभूमिलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महोत्सव सम्पन्न भएपछि प्राप्त निष्कर्षहरूलाई आधार मानेर व्यवस्थित योजना बनाई तीनै तहका सरकारको सहकार्यमा पाणिनी क्षेत्रको दिगो विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनी तपोभूमिको छुट्टै ऐतिहासिक महत्त्व रहेको बताएका छन् । लुम्बिनी प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लामा पर्ने पाणिनी तपोभूमिको विकास द्रुत गतिमा अगाडि बढाउन प्रदेश सरकारलाई निर्देशन दिए ।

उनले भने, 'पाणिनी तपोभूमि अर्घाखाँचीमा आगामी चैत २७ र २८ गते दुई दिन पाणिनी महोत्सव हुन लागेको भन्ने सूचना प्राप्त गरेको छु, त्यो महोत्सव पूर्ण सफलताको शुभकामना दिन चाहान्छु । यो ऋषिमुनिले तपस्या गरेको पतन्जली नामले विश्वमा चिनिएको नेपाली व्याकरणको उद्गमस्थल भएकाले यसको विकास गर्नुपर्छ ।'

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise