२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

hardik ivf
मध्यान्ह
२०८१ फागुन ९ गते १६:५६
लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

अर्घाखाँची : लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको सुरुवात गरे ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो ।

पूर्वविद्यार्थीको तर्फबाट मुख्यमन्त्री आचार्यले बुवाआमाको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको टिकाराम–तारादेवी अक्षयकोष स्थापना गरेका छन् । यो अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट दलित जेहन्दार विद्यार्थीलाई वार्षिक रूपमा पुरस्कृत गरिनेछ । 

अभियानको कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्दै अभियानको शुभारम्भ गरिएको हो । 

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल उच्च बनाउन यस अभियानले सहयोग पु¥याउने मुख्यमन्त्री आचार्यले बताए । ‘सामुदायिक विद्यालयले धेरै व्यक्तित्व जन्माएको छ । पढेको विद्यालय प्रतिको दायित्वका विषयमा चालू आवको नीति तथा कार्यक्रममा समावेश गरेर राख्यौं । अब नियमित रुपमा अभियान चल्छ ।’

प्रदेश भित्रका १७ वटा विद्यालयबाट एकैसाथ अभियानको शुभारम्भ गरिएको हो । ७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामुदायिक विद्यालयप्रति अझै भरोसा र विश्वास बढाउन आवश्यक रहेको मुख्यमन्त्री आचार्यले बताए ।  

सार्वजनिक विद्यालयको शाख र गरिमालाई कायम गर्न तथा सबै सरोकारवालालाई सामुदायिक विद्यालय प्रति जवाफदेही बनाउन प्रदेश सरकारले आफ्नो नीति कार्यक्रममा यो अभियान समावेश गरेको थियो । गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि यो अभियान थालिएको हो । अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिवृद्धि गर्न पूर्वविद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ । 

प्रदेशमा ६ हजार ३४० विद्यालय छन् । जसमध्ये ४ हजार ५३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार दुई सय ९८ विद्यार्थीमध्ये ९ लाख २५ हजार ६२९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । २०८० को एसईई परीक्षामा सहभागी ८० हजार २२७ विद्यार्थीमध्ये ३१ हजार १०३ मात्र ग्रेडेड हुन सफल भएका थिए । जसअनुसार नतिजा ३८.७२ प्रतिशत मात्र रहेको छ । राष्ट्रिय औसत ४७.८७ प्रतिशत हुँदा लुम्बिनी प्रदेशको नतिजा कमजोर देखिएको छ । सामुदायिक विद्यालयमा झनै कमजोर अवस्था रहेको छ । 

प्रदेशमा ४ हजार ५३१ सामुदायिक विद्यालयमध्ये २ हजार ६५ विद्यालयमा विद्यार्थी संख्या १०० भन्दा कम छ । यी विद्यालयको संख्या कुल विद्यालय संख्याको ४५.५७ प्रतिशत हो । विगतमा समुदायले अपनत्व लिई सञ्चालित विद्यालयमा पछिल्लो समय समुदायको संलग्नता कमजोर बन्दै गएको छ ।

अभियानमार्फत् विद्यालय व्यवस्थापन, सामाजिक जागरुकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गरिनेछ । अभियानअन्तर्गत शिक्षाबाट वञ्चित वर्गलाई मूलधारमा ल्याउन आर्थिक तथा भौतिक सहयोग जुटाइनेछ । विविध शैक्षिक प्रतियोगिताका आयोजना, छात्रवृत्ति कोष स्थापना, सूचना प्रविधि सामग्री हस्तान्तरण तथा व्यावसायिक मार्गदर्शन कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
 

ADV

सम्बन्धित खबर

Advertise