रौतहट : रौतहट गौर सेन्ट्रल अस्पतालको लापरबाहीका कारण १८ वर्षीय लालु यादवको मृत्यु भएको भन्दै पीडित परिवारले निष्पक्ष छानबिनको माग गरेका छन् ।
गौर नगरपालिका ३ निवासी धर्मेन्द्र यादवका छोरा लालु यादवको आन्द्राको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको हो । मृतकका काका देवेन्द्र अधिकारीले पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनको चरम लापरबाहीका कारण भतिजाको ज्यान गएको आरोप लगाए ।
अधिकारीका अनुसार सुरुमा लालु यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लगिएको थियो । तर त्यहाँ कार्यरत चिकित्सक पंकज साहले उपचार सम्भव हुँदाहुँदै निजी अस्पतालमा रेफर गरिदिएका थिए । अधिकारीले भने, ‘डाक्टर पंकज साह लगायत केही चिकित्सकको मिलेमतोमा बिरामीलाई जबरजस्ती निजी अस्पताल पठाइएको थियो । कमिशनकै कारण लालुको ज्यान गयो ।’
उनले सरकारी अस्पतालमा उपचार सम्भव हुँदा पनि बिरामीलाई निजी अस्पतालमा पठाउनु केवल लापरबाही मात्र नभइ आपराधिक क्रियाकलाप भएको दाबी गरे ।
घटनापछि मृतकका आफन्त र स्थानीयवासी आक्रोशित बनेका छन् । उनीहरूले दोषी चिकित्सक तथा अस्पताल प्रशासनविरुद्ध कडा कारबाहीको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् । शनिबार स्थानीयबासीले अस्पताल अगाडि प्रदर्शन गर्दै ‘लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर’ भन्दै नारा लगाएका थिए ।