काठमाडौं : ललितपुरको बिएण्डबी अस्पतालमा नेपालमै पहिलो पटक सफल रोबोटिक सर्जरी भएको छ । सो अस्पतालमा एकै दिन तीन वटा रोबोटिक सर्जरी भएको हो ।
वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलो पटक रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन् । ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटिक प्रक्रियाबाट ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी महिलाको पाठेघरको ट्युमर निकालेकी हुन् ।
नेपालमा पहिलो पटक रोबोटिक सर्जरी भइरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुगमन गरिरहेकी थिइन् । रोबोटिक सर्जरी गरिएका तीनै जना बिरामीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ ।
देशमै पहिलो रोबोटिक सर्जरीको रेकर्ड बनाउन सफल डा. नूतन शर्माले यो सफलतालाई जीवनकै सर्वाधिक ठूलो उपलब्धि भनेकी छन् । डा. शर्माले भनिन्, ‘यो मेरो करिअरको महत्वपूर्ण क्षण त हो नै, त्योभन्दा बढी नेपालको स्वास्थ्य क्षेत्रका लागि एक कोशेढुंगा हो । त्यसमाथि देशमै पहिलो रोबोटिक सर्जरी गर्ने सफलताको रेकर्ड हामीले राख्नु अर्को गर्वको विषय भयो ।’
बीएन्डबी अस्पतालका सहायक निर्देशक निरज वैद्यका अनुसार नेपालमै पहिलो पटक रोबोटमार्फत शल्यक्रिया सम्पन्न भएको हो । रोबोटिक सर्जरी अब स्त्री तथा प्रसूति रोगका बिरामीलाई मात्रै नभएर अन्य रोगको शल्यक्रियामा पनि प्रयोगमा ल्याइने उनले जानकारी दिए । डा. वैद्यका अनुसार, यो उपलब्धिले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ युगको शुरुवात गरेको छ ।
शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदाजनक भएको डा. शर्माले बताइन् । उनका अनुसार रोबोटिक प्रणालीले ठूलो घाउ नपारी बढी चुस्तताका साथ शल्यक्रिया गर्नसक्छ । यसले गर्दा जटिलताको जोखिम घटाउने र शल्यक्रिया परिणामहरूमा सुधार ल्याउने उनको भनाइ छ । रोबोटिक शल्यक्रिया न्यूनतम चिरफारमा सम्पन्न हुने हुँदा बिरामीहरूलाई पीडा खासै हुँदैन र घाउ अनि खत पनि धेरै रहन्न ।