२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

आर्थिक हिनामिना गरेपछि जनमतका कोषाध्यक्ष निलम्बित

draupadi film
मध्यान्ह
२०८१ फागुन २५ गते १६:०८
आर्थिक हिनामिना गरेपछि जनमतका कोषाध्यक्ष निलम्बित

काठमाडौं : जनमत पार्टीले कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई कारबाही गरेको छ ।

सप्तरीका उनलाई आर्थिक हिनामिना तथा ठगी गरेको आरोपमा स्पष्टीकरणसँगै जिम्मेवारीबाट पनि निलम्बन गरिएको छ ।
यादवमाथि पार्टीको केन्द्रीय अनुशासन समिति सदस्य सचिव अनिता कुमारी मण्डलले २१ फागुनमा विभिन्न आरोप लागेको भन्दै ४ बुँदे स्पष्टीकरण सोधेकी थिइन् ।

यादवमाथि पदीय जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको, नियमित पार्टी काम छोडेर अमेरिका, कतार र अन्य देश घुम्न गएको पनि आरोप लागेको छ ।

यादवले पार्टीका महत्वपूर्ण बैठकमा समेत भाग लिन छोडेको जनाइएको छ । स्पष्टीकरणको पहिलो बुँदामै यादव पार्टीको केन्द्रीय सचिवालय बैठकमा समेत लगातार महिनौँसम्म अनुपस्थित भएको उल्लेख छ ।

नेतृत्वलाई पार्टीको हिसाब नबुझाउने र हरेपटक हिसाब हेरफेर गर्ने गरेको आरोप पनि यादवमाथि छ । उनीमाथि २०७९ को निर्वाचनमै पार्टीका अध्यक्ष डा.सीके राउतलाई हराउने उद्देश्यले भूमिका निर्वाह गरेको पनि आरोप लागेको थियो । उनीमाथि पार्टीभित्र गुटबन्दी गरेको र विभाजनका लागि प्रयत्न गरेको अर्को आरोप लागेकोबारे पनि स्पष्टीकरण सोधिएको छ ।

पार्टीले लगानी शेयर तथा लेबीको नाममा करोडौं रकम उठाई काठमाडौंको कोटेश्वरमा घर किनेर प्रवासी होटल चलाएको आरोप पनि उनलाई लागेको छ ।

जनकपुरधाममा घर तथा स्कुल सञ्चालनसहित विभिन्न कारोबार गरेको आरोपबारे पनि स्पष्टीकरण सोधिएको हो ।

यादवले पार्टीको विधान २०७५ को धारा ३९ (क) को उपाधारा १, २, ३, ४, ५, ६, ८, १०, १३, १४ उल्लंघन गरेकोले किन कारबाही गर्न नपर्ने हो भनेर ७ दिने स्पष्टीकरण सोधिएको हो । यो कारबाही प्रक्रिया चलुन्जेल उनलाई कोषाध्यक्षको जिम्मेवारीबाट पनि हटाइएको जनमतले जनाएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise