२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नक्कली कम्पनी खडा गरेर ३२ क्विन्टल सुन तस्करी

ADV
भावना पाठक
२०८१ असार १७ गते १४:४२
नक्कली कम्पनी खडा गरेर ३२ क्विन्टल सुन तस्करी

काठमाडौँ :   प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको प्रतिवेदन सार्वजनिक गरेको छ । सीआईबीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अवैध सुन तस्करीमा संलग्न व्यक्तिहरूले ७ वटा डमी कम्पनी खडा गरेर ५ वटा कम्पनीबाट अवैध सुन तस्करी गरेको खुल्न आएको हो । 

डमी कम्पनीबाट इलेकट्रोनिक मालवस्तु तथा ब्रेक सुमा लुकाएर गरी कुल ३ हजार १९४.६६८ के.जी अवैध सुन चोरी पैठारी गरेको देखिएको छ । यसमध्ये २ हजार ८३१.८९ केजी सुन पानी तान्ने मोटर लगायतका इलेक्ट्रोनिक सामानमा र बाँकी अरु ३६२.७७८ केजी ब्रेक सुमा लुकाएर तस्करी गरेको पाइएको छ । यो समूहले तस्करी गरेको कुल सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर भएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजी, दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालीमार्फत ७.५ केजी सुन तस्करी भएको पाइएको छ। 

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप २० जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दुई चिनियाँ र चार भारतीय नागरिकसमेत रहेका छन् । 

पक्राउ परेका भारतीय नागरिकमा बैजनाथ महादत्त गोयल, सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश भोइटे र प्रशान्त गणेश बजबलकर रहेका छन् । यस्तै चिनियाँ नागरिकमा सोनाम गुरुङ भन्ने सराव ग्याल्मो र जेन्गा जाग्सी रहेका छन् ।
     
पक्राउ पर्ने नेपालीमा पर्सा वीरगन्ज-११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक-५ का राजु खत्री, मध्यपुर-१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल-४ का कान्छा लामा, नमोबुद्ध-१० का भीमप्रसाद तिमल्सिना,काभ्रेपलाञ्चोक भुम्लु-१ का रूपक भण्डारी, काठमाडौँ महानगर-७ का प्रज्ज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती-१ का लालबहादुर कुँवर, बारा जितपुर-१९ का अरुणकुमार यादव छन् ।

यहि समुहको संलग्नतामा अवैध सुन तस्करीको अनलाइन भुक्तानी भएको खुल्न आएको सीआईबी प्रतिवेदनको निष्कर्ष छ । 

६० किलो सुन तस्करी प्रकरणमा हाई प्रोफाइल व्यक्तिको संलग्नता भेटिएको छैन । यसअघि कृष्णबहादुर महरा र दिपेस पुन लगायतका हाई प्रोफाइल व्यक्तिको नाम जोडिए पनि उनीहरूको संलग्नता पुष्टि नभएको सीआईबीले बताएको छ । सीआईबी प्रमुख श्यामलाल ज्ञवालीले ६० किलो सुन तस्करी प्रकरणमा नभई उनीहरूको नाम भेपमार्फत भएको सुन प्रकरणमा जोडिएको बताएका छन् । यो भेप सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नभएकाले यसमा उनीहरूको नाम अथवा संलग्नता नदेखिएको सीआईबी प्रमुख ज्ञवालीले बताए । 

अवैध सुनको भुक्तानी प्रक्रियामा नेपालका पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा रकम जम्मा गरी अवैध सुनको भुक्तानी भएको अनुसन्धानमा देखिएको छ ।

पेवेलको वालेटमा ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २ सय ५३ रुपैयाँबराबरको इ-मनी क्रेडिट भएको देखिएको छ । त्यस्तै सजिलोपेको वालेटमा ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २ सय ४७ रुपैयाँबराबरको इ-मनी लोड भएको देखिन्छ । 

सिआईबीले  पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडमा सङ्लग्न सञ्चालक समिति, कर्मचारी र एजेन्ट गरी आठ जनालाई पक्राउसमेत गरेको छ ।  नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरु पेवेल नेपाल प्रालि र सजिलो पेमेन्ट सर्भिसेज प्रालिको बैंक खाता रोक्का गरिसकेको छ ।

सुन तस्करीमा संलग्नहरू माथि ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बिगो दाबीसहित संगठित अपराध निवारण ऐन, २०७० को दफा २२ एवम् मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप अनुसन्धान गर्ने गरी मिति २०८०-०५-३१ गते अभियोगपत्र दायर भएको छ ।   

अभियुक्तहरू माथि अब भन्सार ऐन, संगठित अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन र नेपाल राष्ट्र बैंक ऐन अन्तरगत मुद्दा चलाउने तयारी भएको छ । 

 

ADVADV

सम्बन्धित खबर

Advertise