२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

ओलीले खोजे साथ, माधवले सम्मान

ADV
दिवाकर अधिकारी
२०८१ जेठ २२ गते ०५:५०
ओलीले खोजे साथ, माधवले सम्मान

काठमाडौं : अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधबार विश्वासको मत लिँदैछन् । त्यसअघि एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता गराउन नेकपा एमाले र माओवादी केन्द्रले प्रयास गरिरहेको छ । 

यही विषयलाई लिएर सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच पटक–पटक सामुहिक र छुट्टाछुट्टै छलफल भयो । तर, निष्कर्ष निस्कन सकेको छैन ।

मधेश प्रदेशमा अघिल्लो सत्तागठबन्धन अनुसार एकीकृत समाजवादी जसपा नेपालका सरोज यादव नेतृत्वको सरकारमा सहभागी छ । एमाले र माओवादीले नयाँ गठबन्धन अनुसार सरकार छाडेपनि एकीकृत समाजवादीले सरकार छाडेको छैन । 

मधेशमा कुरा नमिल्दा सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन् । 

नेताहरुका अनुसार एमालेले मधेशमा एकीकृत समाजवादीको साथ र सुदूरपश्चिममा एकीकृत समाजवादीले एमाले र माओवादीको साथ खोजिरहेको छ । छन् । तर नेताहरूबिच सोमबार दिनभर भएको वार्ता समतिमा पुग्न सकेको छैन । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन गर्न प्रदेशसभाका ५४ सांसदको समर्थन आवश्यक पर्छ ।  

मधेश प्रदेशमा संघीय सत्ता गठबन्धनअनुसार बनाउन एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्नमुक्ति पार्टीको कुल ५५ सांसद पुग्छ । एकीकृत समाजवादीले साथ नदिए गठबन्धनको सरकार नबन्न सक्छ । 

प्रदेशसभामा एमालेका सभामुखसहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा एकीकृत समाजवादीका ७ तथा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका १–१ सांसद रहेका छन् । 

मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने सहमति भने एमाले र माओवादीबीच भइसकेको छ ।

जनमतका अध्यक्ष डा. सीके राउतको उपस्थितिमा बैठक बसेको थियो । मन्त्रालय बाँडफाँट आपसी सहमतिमा गर्ने निर्णय पनि भएको छ । उनीहरुबीच भएको लिखित सहमतिमा तीन दलका नेताहरुले हस्ताक्षर गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise