२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

‘ग्रेटर नेपालको नक्सा टाँस्ने प्रधानमन्त्री भारत भ्रमणमा चुप लागे’ : एमाले महासचिव पोखरेल

Nada
२०८३ मंसिर ८ गते १६:३५
Shares
‘ग्रेटर नेपालको नक्सा टाँस्ने प्रधानमन्त्री भारत भ्रमणमा चुप लागे’ : एमाले महासचिव पोखरेल

दाङ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाको मेयर हुँदा कार्यालयमा ग्रेटर नेपालको नक्सा टाँसेर आफूलाई राष्ट्रियताका पक्षधरका रूपमा प्रस्तुत गरेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणका क्रममा चुप लागेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल, दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशको कार्यकारी प्रमुखका हैसियतमा दक्षिणी छिमेकी मुलुक भारतको दुईदिने औपचारिक भ्रमणका क्रममा सीमा क्षेत्रको विषयमा ठोस छलफल नहुनुले प्रधानमन्त्री बालेनको राष्ट्रवादमाथि प्रश्न उठाएको बताए ।

‘ग्रेटर नेपालको नक्सा मेयर हुँदा कार्यालयमा टाँसेर बस्ने बालेनले प्रधानमन्त्री भएपछि भारतको औपचारिक भ्रमणका क्रममा कम्तीमा मिचिएका सीमाका बारेमा छलफललाई एजेन्डा बनाउनुहुन्छ भन्ने नेपालीहरूको ठूलो अपेक्षा थियो । त्यो पूरा हुन सकेन,’ महासचिव पोखरेलले भने, ‘नेपालजस्तो देशका लागि गुमेको भूभाग फिर्ता ल्याउने विषय असम्भव नै हो । तर, सीमा जोडिएका देशका कार्यकारी प्रमुखबीचको औपचारिक भेटका क्रममा त्यस विषयलाई भावनात्मक रूपमा उठाउने प्रयाससमेत नगर्नु आश्चर्यजनक विषय हो ।’

पूर्वतिरबाट पश्चिमतिर हवाई मार्ग हुँदै आवतजावत गर्न नपाएका नेपालीका लागि पश्चिमतर्फको हवाई रुटसम्बन्धी सहमति हुनु सकारात्मक भए पनि यसको कार्यान्वयन पक्षलाई भने कुर्नुपर्ने उनले बताए ।

नेपाल–भारतबीचको सीमा समस्या, सन् १९५० को सन्धि पुनरावलोकन तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायत विषयमा छलफल हुन नसक्नुले प्रधानमन्त्रीको भ्रमणलाई सफल मान्न नसकिने उनको भनाइ थियो ।

पञ्चायतकालमा समेत यस्तै सहमति भएको स्मरण गराउँदै पोखरेलले त्यसबेला भएका सहमति कार्यान्वयनमा नआएको दाबी गरे ।

‘प्रधानमन्त्रीले सन् १९५० को नेपाल–भारत सन्धिको विषयमा समेत प्रवेश गर्न सक्नुभएन । नेपाली चिया, अलैँची तथा तरकारी भारतीय बजारमा सहज रूपमा प्रवेश गर्न नसकिरहेको समस्यालाई भ्रमणको एजेन्डामा समेत समेट्न नसक्नुले वर्तमान सरकार जनजीविकाका सवालप्रति अनुदार रहेको पुष्टि हुन्छ । नेपालमा भारतबाट आउने उत्पादनले प्राथमिकता पाओस्, तर आफ्ना उत्पादन भारत पुर्‍याउने कुरामा ध्यान नजाओस् भन्नेमा सरकार ढुक्क देखिन्छ’, उनले भने ।

रास्वपा पुरानो भ्रमबाट मुक्त भयो
महासचिव पोखरेलले विदेशी ऋणका विषयमा चर्को विरोध गर्दै आएको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले उक्त भ्रमबाट मुक्त भएको बताएका छन् ।

नेपालको विकासका लागि वैदेशिक ऋण आवश्यक रहेको कुरा अहिलेको सरकारले समेत स्वीकार गरेको उल्लेख गर्दै पोखरेलले देश सञ्चालन गर्नु बाहिर बसेर विरोध गरेजस्तो सहज नहुने बताए ।

‘विगतमा लोकतन्त्रका लागि लडेका दललाई जुन आक्षेप लगाइएको थियो, त्यो कति मिथ्या रहेछ भन्ने कुराको पुष्टि अहिले रास्वपा नेतृत्वको दुईतिहाइ बहुमतको सरकारले नै गरेको छ । विदेशी ऋण लिनुपर्ने रहेछ भन्ने कुरा स्वयं प्रधानमन्त्रीजीले नै स्वीकार गर्नुभएको छ । भारतबाट प्राप्त ऋणलाई प्रमुख उपलब्धि भन्दै गर्व गर्नुभएको छ । रास्वपा आफ्नो पुरानो भ्रमबाट मुक्त भएको योभन्दा बलियो प्रमाण अरू के हुन सक्छ ?’ पोखरेलले प्रश्न गरे ।

भारतको एक्जिम बैंकबाट प्राप्त ऋण कार्यान्वयनमा देखिएका जटिलता र त्यसका कारण सडक निर्माणमा भइरहेको ढिलाइले ऋण परिचालनका व्यावहारिक कठिनाइसमेत पुष्टि गरेको उनको भनाइ थियो ।

सरकारका गतिविधिले स्थानीय तहको निर्वाचनबारे अन्योल
एमाले महासचिव पोखरेलले वर्तमान सरकारका गतिविधिका कारण निर्धारित समयभित्र स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्ने विषयमा अन्योल सिर्जना भएको बताएका छन् ।

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्ने विषयमा सरकार अन्योलमा रहेको उल्लेख गर्दै उनले स्थानीय तहलाई कमजोर बनाउने दिशामा अघि बढेको सरकारले कतै स्थानीय तह र प्रदेशको निर्वाचनबाट पछि हट्ने त होइन भन्ने प्रश्न नागरिकमा उब्जिएको टिप्पणी गरे ।

एमाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने पक्षमा स्पष्ट रहेको बताउँदै उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल वैशाखमा सकिने र प्रदेशसभाको कार्यकाल अर्को वर्ष मंसिरसम्म रहने भएकाले दुवै निर्वाचन एकैसाथ हुन सक्छन् । स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने कुरा किमार्थ मान्य हुँदैन । स्थानीय तह र प्रदेशको निर्वाचन लोकतन्त्रको सुदृढीकरणका लागि अत्यन्त महत्त्वपूर्ण छन् ।’

स्थानीय तह र प्रदेशसभाको निर्वाचनले राष्ट्रिय सभाको गठन तथा राष्ट्रपतिको निर्वाचन प्रक्रियासँग समेत सम्बन्ध राख्ने भएकाले निर्वाचन समयमा हुन नसके लोकतान्त्रिक प्रक्रियामै असर पर्न सक्ने उनको भनाइ थियो ।

सुशासन र विकासमा सरकार कमजोर
महासचिव पोखरेलले वर्तमान सरकार गठन हुँदा नागरिकले सुशासन र विकासको अपेक्षासहित मतदान गरे पनि ती अपेक्षा पूरा हुन नसकेको बताए ।

सरकारले विगतमा ‘नो लाइन’को नारा दिए पनि अहिले सरकारी सेवा प्रवाहमा झन् अव्यवस्था देखिएको टिप्पणी गर्दै पोखरेलले भने, ‘पहिलो कुरा त यो सरकारलाई जनताले किन मतदान गरे भन्ने कुरा प्रमुख हुन्छ । सुशासन र विकासका लागि नागरिकले मतदान गरेका थिए । सुशासनका लागि उहाँहरूले ‘नो लाइन’ भन्नुहुन्थ्यो, तर अहिले विगतको भन्दा बढी भद्रगोल भएको छ ।’

उनले विदेश जाने युवाको संख्या र सरकारी सेवा लिन लाग्ने लाइन बढिरहेको, नेपालमा लगानी भित्र्याउने वातावरण निर्माण हुन नसकेको तथा विकास निर्माणका कामले गति लिन नसकेको टिप्पणी गरे ।

सरकारका कामकारबाहीप्रति जनतामा बढ्दै गएको निराशा र असन्तुष्टिले समाजमा अराजकता निम्त्याउन सक्ने चेतावनी दिँदै पोखरेलले त्यसबाट उत्पन्न हुने परिस्थितिले कालान्तरमा नेपालमा पनि बंगलादेशको जस्तो अवस्था आउन सक्ने खतरा रहेको बताए ।

पुराना राजनीतिक दललाई जनताले निर्वाचनमार्फत दण्डित गरेको उल्लेख गर्दै उनले ती दलले आफूलाई नयाँ विकल्पका रूपमा स्थापित गर्न नसके लोकतन्त्र नै दुर्घटनामा पर्न सक्ने धारणा राखे ।

‘नेपालका पुराना राजनीतिक दललाई गएको निर्वाचनमा जनताले दण्डित गरे । उनीहरूले आफूलाई नयाँ विकल्पका रूपमा अघि बढाएनन् भने लोकतन्त्र दुर्घटनामा पर्न सक्छ’,पोखरेलले भने ।

स्थानीय तह निर्वाचनमा वामशक्तिबीच तालमेल हुन सक्छ
महासचिव पोखरेलले आगामी स्थानीय तहको निर्वाचनमा वामशक्तिबीच चुनावी तालमेल हुन सक्ने संकेत गरेका छन् । वामपन्थी दलहरूबीच तालमेल गर्दा मत एकअर्कामा हस्तान्तरण गर्न सकिन्छ भन्ने चेत नेकपाका नेताहरूमा फर्किएको उनको दाबी थियो ।

विगतमा माओवादीले एमाले र कांग्रेससँग चुनावी तालमेल गर्दाको अनुभवबाट यो पाठ सिकेको पोखरेलको भनाइ थियो ।

तालमेलका विषयमा अनौपचारिक कुराकानी भए पनि औपचारिक छलफल भने सुरु नभएको उनले स्पष्ट पारे । तल्लो तहमा तालमेल गर्दा राम्रो हुने भन्ने विषय अनौपचारिक रूपमा उठे पनि नेतृत्व तहमा यसबारे छलफल सुरु भइनसकेको उनको प्रतिक्रिया थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर