२०८१ चैत ४ गते सोमवार / Mar 17 , 2025 , Monday
२०८१ चैत ४ गते सोमवार
Ads

मुख्यमन्त्रीको निर्देशन अटेर गर्दै खुल्न थाले रौतहटका अवैध अस्पताल

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत ४ गते १२:४१
मुख्यमन्त्रीको निर्देशन अटेर गर्दै खुल्न थाले रौतहटका अवैध अस्पताल

रौतहट : अवैध अस्पताल बन्द गर्ने मधेश प्रदेशका मुख्यमंन्त्री सतिश कुमार सिंहको निर्देशन अवज्ञा गर्दै रौतहटको गरुडा नगरपालिकाको शिवनगरमा रहेको आनन्द अस्पताल एक्युपन्चर सेन्टर संचालन भइरहेको छ ।

केही दिनअघि मात्र मुख्यमन्त्री सिंहले अनुगमनपश्चात मापदण्ड पूरा नगरेको भन्दै सो अस्पताल बन्द गर्न निर्देशन दिएका थिए । तर मुख्यमन्त्री सिंहको सो निर्देशनलाई अवज्ञा गर्दै संचालक उमेश प्रसादले मापदण्ड पूरा नगरी अस्पताल संचालन गरेको देखिएको हो ।

आनन्द अस्पतालसहित गरुडा नगरपालिकाका अधिकांश र चन्द्रपुरका अवैध अस्पतालहरूले सेवा सुचारु गरिसकेको बताइएको छ ।

यता गरुडा नगरपालिकाले नगरभित्र दर्ता र नवीकरण नै नगरी अवैधरूपमा संचालित सम्पूर्ण निजी अस्पताललाई १५ दिनभित्र दर्ता तथा नवीकरण गराउन पत्र लेखेको छ ।

फागुन २७ गतेदेखि १५ दिनको समय दिएर जारी गरिएको पत्रमा दर्ता र नवीकरण नगरी संचालित निजी अस्पताललाई १५ दिनभित्र दर्ता र नवीकरण गराउनुपर्ने उल्लेख छ । तर पत्रमा मुख्यमन्त्री सिंहले बन्द गरेको अस्पतालहरू सुचारु अर्थात संचालन गर्ने भन्ने कुरा कहीँ कतै उल्लेख गरिएको छैन ।

सोही पत्रलाई टेकेर आनन्द अस्पताल एक्युपन्चर सेन्टर संचालन गरेको पाइएको हो । आफूहरूले १५ दिनभित्र दर्ता र नवीकरण मात्र गराउन निजी अस्पतालहरूलाई समय दिएको, तर मुख्यमन्त्री सिंहले बन्द गरेको अस्पतालहरू खोल्न नभनेको गरुडा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रविण कुमार झाले बताए ।

सो पत्रको आधारमा कसैले यदि मापदण्ड पूरा नगरी मुख्यमन्त्रीको निर्देशनलाई अटेरी गर‍ेर अस्पताल खोलिरहेका छन् भने त्यसको जिम्मा नगरपालिकाले नलिने स्वास्थ्य शाखा प्रमुख झा बताउँछन् ।

त्यस्तै चन्द्रपुर नगरपालिकाले ३५ दिन समय नै तोकेर अस्थायी रूपमा बन्द अस्पताल संचालन गर्न पत्र जारी गरेको छ ।

३५ दिनभित्र नगरभित्र संचालित निजी अस्पतालहरूलाई दर्ता र नवीकरण गराउन भनेर चन्द्रपुर नगरपालिकाले समय दिएको छ । मुख्यमन्त्री सिंहले चन्द्रपुरको १० वटा अस्पताल मापदण्ड नपुगेको भन्दै बन्द गर्न निर्देशन दिएका थिए । तर चन्द्रपुर नगरपालिकाले मुख्यमन्त्रीको निर्देशनलाई अटेर गर्दै ३५ दिनसम्म अस्पताल अस्थायी रूपमा संचालन गर्न परिपत्र जारी गरेको हो ।

प्रदेश सरकारले दिएको निर्देशनलाई रौतहटको सथानीय सरकारले अवज्ञा गर्ने गरेको भएपनि प्रदेश सरकारको यसतर्फ ध्यान जान सकेको छैन ।

मुख्यमन्त्री सिंहले प्रदेश सरकारको निर्णयलाई स्थानीय सरकारले हस्तक्षेप गर्न नपाउने प्रतिक्रिया दिएका छन् । स्थानीय सरकारले परिपत्र जारी गरेकै आधारमा मापदण्ड पूरा नगरी आफूले बन्द गरेको निजी अस्पताल खोल्न नपाउने मुख्यमन्त्री सिंहको भनाइ छ ।

आफूले रौतहटको २० वटा अवैध निजी अस्पताल बन्द गर्न निर्देशन दिएको भएपनि स्थानीय सरकारले ति अस्पतालहरू खोल्न परिपत्र गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको मुख्यमन्त्री सिंहले बताए ।

प्रदेश सरकारले बन्द गरेको अस्पताललाई खोल्न अनुमति दिने अधिकार स्थानीय सरकारको नरहेको समेत उनले बताए । यसबारे आफू बुझिरहेको र चाँडै कडा कदम चाल्ने उनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise