रुकुमपश्चिम : चौरजहारी नगरपालिका –१ मा लु. प्र. ०३–००१ क ००२७ नम्वरको मिनि ट्रकले बोकेको मार्वल र सिमेन्टले च्यापिएर एक मजदुरको मृत्यु भएको छ । ट्रकमै बसेका दुई कामदारमध्ये १ कामदारको मृत्यु भएको हो भने भने १ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार मृत्यु हुनेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका –१ का २४ वर्षीय देवचन्द्र सार्की रहेका छन् ।
सोहि नगरपालिका –६ का २१ वर्षीय मन्दिर सार्की भने घाइते भएका पाठकले जानकारी दिए । प्रहरीको अनुसार उक्त ट्रकको पछाडिको भागमा मार्वलसँगै दुई कामदारहरु चढेको बताएको छ । ट्रकको वरिपरीको भागमा बाँधेर ल्याइएको र मोडमा मार्वल बाँधेको डोरी चुडिएपछि बीचमा बसेका दुई मजदुर च्यापिएका जानकारी पाठकले दिए ।
चौरजहारीबाट खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छ भने सुर्खेतको गुर्भाकोट नगरपालिका ११ निवासी चालक विकास सुनार फरार रहेका छन् ।