२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

लघुकथा : विसंगत

shivam cement
घनेन्द्र ओझा
२०८१ चैत ९ गते ०८:४८
Shares
लघुकथा : विसंगत

‘यो देशको इतिहास गलत लेखिएको छ’, प्राध्यापक गफ सुरु गर्छ, ‘जित्नेको मात्र इतिहास लेखिएको छ’, उसको तर्क छ, ‘हारिदिने नभएको भए तिनले जित्थे ?’
राजनीतिक विश्लेषक हाँस्छ ।

‘घाटाको व्यापार गरियो’, चिन्ता छ व्यापारीको, ‘नाफाजति कि लुटेरालाई कि राजनीतिक दललाई’ (के राजनीतिक दल लुटेराभन्दा कम छन् र ?)
नेता विलखबन्द पर्छ ।

‘रोगीको भन्दा रोगको उपचारमा ध्यान दिनुपर्छ’, डाक्टरको भाषण सुरु हुन्छ, ‘रोगको उपचार गरेपछि रोगी ठीक भैहाल्छ ।’
बिरामी मुस्कुराउँछ (बुझ्छ कि बुझ्दैन कुन्नि ?)

‘जहाँ नागरिक समाज सशक्त हुन्छ, त्यहाँको शासनपद्धति राम्रो हुन्छ’, नागरिक समाजको अगुवाको तर्क छ, ‘यस्ता देशमा भ्रष्टाचार, अन्याय, अत्याचार हुँदैन ।’
आमजनता मन्त्रमुग्ध बन्छ ।

‘ढिलो न्याय दिनु न्याय नदिनु बराबर हो’, न्यायाधीश सुनाउँछ, ‘प्रजातन्त्रमा विधिको शासन हुनुपर्छ ।’
अभियुक्त खित्का छाड्छ ।

‘राज्यको चौथो अंग हुनुका नाताले जिम्मेवारीपूर्वक सही र तथ्यपूर्ण खबरहरू आमजनता सामु पुर्‍याउनु पत्रकारिताको धर्म हो’, पत्रकार पढाउँछ, ‘यसका लागि सूचनाको निर्बाध स्वतन्त्रता जरुरी छ र राज्यले यसको सुनिश्चितता गर्नुपर्छ ।’ सञ्चारमन्त्री टाउको हल्लाउँछ । (श्री ५ ले प्रत्यक्ष शासनका बेला हल्लाएझैं ।)

यी सबै गफ सुनिरहेको चिया पसले श्रीमतीलाई सोध्छ, ‘कुरो बुझ्यौ ?’

सम्बन्धित खबर