२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

दिक्तेलमा नि:शुल्क आँखा शल्यक्रिया शिविर

draupadi film
मध्यान्ह
२०८१ चैत १० गते १०:१३
दिक्तेलमा नि:शुल्क आँखा शल्यक्रिया शिविर

खोटाङ : नेपाल नेत्र ज्योति संघ खोटाङले दिक्तेल बजारमा  तीनदिने नि:शुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । 

सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, लहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा सुरु भएको उक्त शिविरमा उपचारका लागि दुई सय ५७ बिरामी आएका थिए । शिविर यही चैत ११ गतेसम्म सञ्चालन हुने आयोजक नेत्र ज्योति संघका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए । शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चश्मा वितरण गर्ने कार्यक्रम रहेको छ ।

आँखाको शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बासजस्ता सेवा नि:शुल्क प्रदान गरिने आयोजकले जनाएको छ । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्य चिकित्सक दिवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका नेत्र सहायक हरिहर श्रेष्ठसहित १६ चिकित्सक टोलीले सेवा प्रदान गरिरहेको छ । जिल्लाका तीन ठाउँमा सञ्चालन गर्ने गरी सुरु गरिएको शिविर यसअघि चैत ४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालन गरिएको थियो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय ९२ जनाको आँखा जाँच, ३४ ज्येष्ठ नागरिकलाई नि:शुल्क  चश्मा वितरण र तीन सय १० जनालाई नि:शुल्क औषधि वितरण गरिएको थियो ।

नेत्र ज्योति संघले यही चैत १४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसीबजारमा नि:शुल्क शिविर सञ्चालनको तयारी गरेको छ । यस पटकको शिविरमा जिल्लाका करिब दुई हजार आँखाका बिरामीले सेवा लिने अनुमान गरिएको आयोजकले जनाएको छ । जिल्लामा एक हजार पाँच सय ४२ जनामा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ । उनीहरूलाई संसार देखाउने उद्देश्यले नि:शुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविरको आयोजना गरिएको अध्यक्ष कसजूले जानकारी दिए ।

शिविरको उद्घाटन कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँच कर्ण राईले गरेका थिए । बि.सं. २०६० वैशाख १० गतेदेखि जिल्लामा औपचारिक रूपमा सेवा सुरु गरेको नेत्र ज्योति संघले २७ हजार पाँच सय एक जनाको उपचार गरिसकेको छ । सेवा सुरु गरेयता जिल्लाका तीन हजार ३८ ज्येष्ठ नागरिकलाई चश्मा नि:शुल्क वितरण गरिएको आयोजकले जनाएको छ । शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पतालले औषधि, उपकरण तथा प्राविधिक सहयोग नि:शुल्क उपलब्ध गराउँदै आएको छ ।

ADV

सम्बन्धित खबर

Advertise