काठमाडौं : राष्ट्रप्रमुख, प्रधानमन्त्री र राज्यका उच्च अहोदामा रहेका हरेक व्यक्तिहरुको सम्पत्ति छानबिनको माग राख्दै नेकपा(बहुमत)ले आन्दोलनको घोषणा गरेको छ ।
मंगलबार काठमाडौंको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरोले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो मागको सुनुवाइ नभए कडा आन्दोलनको चेतावनी समेत दिएको छ ।
३ नम्बर ब्यूरो इन्चार्ज उदयबहादुर चलाउनेले देशको मुख्य दुष्मन भ्रष्टाचार रहेको र उच्च अहोदाका व्यक्तिहरु नै त्यसको कारक भएको आरोप लगाएका हुन् ।
पार्टीका स्थायी समिति सदस्यसमेत रहेका चलाउनेले आगामी चैत २४ गतेदेखि वैशाख ९ गतेसम्म सम्पत्ति छानबिनको लागि राजधानीको माइतीघर मण्डलामा धर्ना दिने घोषणा गरे ।
देशलाई समृद्ध तथा जनताको जीवनस्तर माथि उठाउन प्रत्येक उच्च पदस्त व्यक्तिहरुको सम्पत्ति छानबिन गरेर राज्यकोष अपचलन गरेको पुष्टि भए त्यसलाई राष्ट्रियकरण गरिनुपर्ने धारणा राखे ।
चलाउनेले कुलमान घिसिङलाई बर्खास्त गरिनुको मुख्य कारण पनि मन्त्रीले चलखेल गर्न नपाएको आरोप लगाए । पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज कुमाल सिलवालले भ्रष्टाचारको जालो तोड्न आफूहरुले आन्दोलनको घोषणा गरेको जानकारी दिए ।