रौतहट : नेपालमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै देशभर राजावादी समूहहरूले प्रदर्शन जारी राखिरहेका छन् । यसैक्रममा मंगलबार रौतहटमा पनि ठूलो संख्यामा मोटरसाइकल र्याली निकालिएको हो । ‘राजा आउ, देश बचाउ’ नारासहित जिल्लाको मध्य भागमा रहेको गरुडा बजारबाट सुरु भएको मोटरसाइकल र्याली सदरमुकाम गौरको भन्सारसम्म पुगेको थियो । सहभागीहरूले राष्ट्रिय झण्डा फहराउँदै पूर्वराजा ज्ञानेन्द्रको पक्षमा नारा लगाएका थिए ।
र्यालीमा सहभागीहरूले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै राजतन्त्र पुनःस्थापनाको माग गरे । उनीहरूले संघीयता र गणतन्त्रले देशमा स्थायित्व दिन नसकेको भन्दै राजसंस्थालाई पुनःस्थापित गर्नुपर्ने धारणा व्यक्त गरे । स्थानीय प्रशासनले भने शान्तिपूर्ण प्रदर्शनलाई सहज बनाउनेतर्फ ध्यान दिएको शैलेन्द्र सिंहले बताए । सुरक्षाकर्मीहरू र्यालीका क्रममा तैनाथ गरिएको थियो भने कुनै अप्रिय घटना नहोस् भन्नेतर्फ प्रशासन सतर्क रहेको देखिएका छन् ।
हाल नेपालका विभिन्न स्थानमा राजतन्त्र पक्षधरहरूको आन्दोलन चलिरहेको हो । केही दिनयता काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्जलगायतका ठूला शहरहरूमा समेत यस्ता प्रदर्शनहरू भएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो आन्दोलनले नेपालमा राजसंस्थाको पुनरागमन सम्भव हुन्छ वा हुँदैन भन्ने बहसलाई पुनः चर्चामा ल्याएको हो ।
तर, सरकार र प्रमुख राजनीतिक दलहरूले भने लोकतान्त्रिक प्रणालीलाई नै बलियो बनाउनुपर्ने पक्षमा आफूहरू दृढ रहेको बताएका छन् । ¥यालीले स्थानीय स्तरमा राजावादीका गतिविधिहरू अझ सक्रिय बन्दै गएको संकेत गरेको हो । आगामी दिनमा यस्ता प्रदर्शनहरू अझै व्यापक हुने अनुमान गरिएको हो ।