काठमाडौंः नेपाल नेत्रज्योति संघको संजालमार्फत एक वर्षमा ३४ हजार बढी आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको छ ।
संघका देशैभरी छरिएर रहेका २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरुमार्फत सन् २०२४ मा ३४ हजार ४ सय २५ जना आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको हो ।
संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रका अनुसार संघद्धारा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुको सहयोग तथा अस्पतालहरुको आन्तरिक श्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो । उनका अनुसार संघको सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीहरुको आँखा परिक्षण गरी २ लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया गरिएको छ ।
नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पुर्याउने दायित्व र निर्देशन प्राप्त भए अनुरुप हजारौँ स्वयमसेवक तथा कर्मचारीहरुमार्फत नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँगको महत्वपूर्ण सहकार्य, निर्देशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय जनसमुदाय एवम् दाताहरुको उल्लेख्य साथ र सहयोगमा आँखा स्वास्थ्य सेवालाई हिमाली क्षेत्रका विकट गाउँहरुदेखि तराईका समथर भूमि पूर्व मेची देखि पश्चिम महाकालीसम्मका सर्वसाधारणलाई सहज, सर्वसुलभ र गुणस्तरीय उपचार सेवा पुर्याउने कार्यमा नेपाल नेत्रज्योति संघले अग्रणी भूमिका खेल्दै आएको छ ।
नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघअन्तर्गतका अस्पतालहरुले प्रवाह गर्ने गुणस्तरिय सेवाकै कारण छिमेकी मुलुक भारत, बंगलादेश, भुटान लगाएका मुलुकका नागरिकहरु समेत नेपालमा आँखा उपचारका लागि आउने गरेका छन् । महासचिव चन्दका अनुसार सन् २०२४ मा मात्र संघको संजालमार्फत ९ लाख ७ हजार ७१ जना अन्य देशका नागरिकहरुको आँखा परिक्षण गरी १ लाख ६२ हजार ८४५ जना बिरामीहरुको शल्यक्रिया गरिएको छ ।
‘नेपालको आँखा उपचारको गुणस्तरियताका कारण अन्य देशका नागरिकहरु समेत नेपालमा आँखा उपचार गराउने क्रम बढ्दो छ’ महासचिव चन्दले भने ‘अब हामीले बढीभन्दा बढी नेपाली नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने गरी नेपाल सरकारसंगको समन्वयमा आफ्ना योजना र कार्यक्रमहरु अगाडी बढाएका छौं ।’
नेपालमा आँखा उपचारको क्षेत्रमा धेरै विकास भएता पनि अझै पनि धेरै नेपालीहरु आँखा उपचार सम्बन्धी जनचेतनाको अभावमा उपचारबाट बन्चित रहेको बताउँछन् । संघका अध्यक्ष प्रा.डा.चेजराज पन्त । ‘सन् २०२१ मा नेपालका ७ वटै प्रदेशमा गरिएको सर्वेले समेत आँखा उपचार सम्बन्धी जनचेतनाको अभावमा सबैभन्दा बढी नागरिकहरु आँखा उपचार सेवाबाट बन्चित रहेको देखाएको छ त्यसैले सबै मिलेर आँखा उपचार सम्बन्धी जनचेतना जगाउन आवश्यक छ’ प्रा.डा. पन्तले भने ।
वि.सं. २०३५ साल चैत्र १३ गते गैरसरकारी संस्थाका रुपमा स्थापित संघले आफ्नो स्थापनाको ४६ वर्ष पार गरी ४७ वर्षमा प्रवेश गरेको छ । ४७ औँ नेत्रज्योति दिवसका अवसरमा संघले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गर्ने निर्णय गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल मल्टिपल काउन्सिल ३२५, प्रा.डा. डि.एन शाह, प्रा.डा.ताकेसी नाईतो, डा.जुनसुके आकुरा, डा. रघुनन्दन बेन्जु र कृष्णहरी सापकोटालाई नेत्रज्योति सम्मानबाट सम्मानित गरिने भएको छ । त्यसैगरी श्यामकुमार पोखरेल, चक्रबहादुर सिंह, श्यामसुन्दर उदास, प्रा.डा. दिलबहादुर क्षेत्री र पद्मनारायण चौधरीलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।
स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा संघको संजालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।