बर्दिया : राजापुर नगरपालिकाको दोस्रो नगरसभाको ८औं अधिवेशन बुधबारबाट सुरू भएको छ । नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा भएको सभामा आर्थिक वर्ष ०८२/०८३ का लागि पालिका स्तरिय नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
नगर प्रवक्ता अशराज न्यौपानेले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक विकास, गरिबी निवारण, आन्तरिक राजस्व वृद्धि, सेवा प्रवाह क्षमतामा सुधार, सुशासन प्रवर्द्धन, जनसहभागिता, लैंगिक समानता, दिगो विकास, वातावरण संरक्षण, कला, संस्कृति र जीविकोपार्जनमा केन्द्रित २ सय ५८ बुँदे नीति तथा कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए ।
प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी सृजना र भौतिक पूर्वाधारका क्षेत्रमा विशेष ध्यान दिने उल्लेख गरिएको छ । उत्पादनमुखी तथा छिटो प्रतिफल दिने कार्यक्रमहरू मार्फत नगरको आर्थिक वृद्धि र नागरिक जीवनस्तरमा सुधार ल्याउने लक्ष्य रहेको जनाइएको छ ।
सभामा सदस्य–सचिव दशरथ बुढा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखाका प्रमुख प्रतिनिधिहरू, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो । नगरसभाको दोस्रो बैठक आगामी असार ८ गते बिहान ७ बजेका लागि बोलाइएको छ ।