काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा नेपालको सार्वजनिक ऋण सवा २ खर्ब थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन देखि जेठसम्ममा सार्वजनिक ऋण २ खर्ब २० अर्ब ५८ करोड रुपैयाँ थपिएको हो ।
कार्यालयको तथ्यांकअनुुसार जेठ मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । जेठ महिनामा मात्रै ३२ अर्ब २७ करोड रुपैयाँ ऋण थपिएको छ । गत वर्षको साउनमा २४ खर्ब ३४ अर्ब ९ करोड सार्वजनिक ऋण रहेको थियो । कार्यालयको तथ्यांकअनुसार सरकारको आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँ तथा बाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
आन्तरिक ऋण जीडीपीको २२.३१ र बाह्य २४.२३ प्रतिशत छ । सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.४७ प्रतिशत पुगेको हो । चालु आर्थिक वर्षमा कुल सार्वजनिक ऋणमा जेठ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२.०६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.९४ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा ११ महिनामा सरकारले ४ खर्ब १४ अर्ब १९ करोड ऋण लिएको हो । सो अवधिमा सरकारले ३ खर्ब १४ अर्ब ९९ करोड आन्तरिक ऋण तथा ९९ अर्ब २० करोड बाह्य ऋण प्राप्त गरेको छ ।
चालु आर्थिक वर्षमा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब वार्षिक बजेट रहेकोमा जेठ मसान्तसम्म ३ खर्ब २९ अर्ब ६० करोड ऋण तिरेको छ । चालु आर्थिक वर्षको ११ महिनामा आन्तरिक ऋण २ खर्ब ७७ अर्ब ७३ करोड र ५१ अर्ब ८७ करोड बाह्य ऋणको दायित्व सरकारले घटाएको छ । जेठ मसान्तसम्म साँवा भुक्तानीमा २ खर्ब ६६ अर्ब ६५ करोड र ब्याज भुक्तानीमा ६२ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।