काठमाडौं : सहसचिव तथा अधिकृत प्रथम श्रेणीका महिला कर्मचारीहरूलाई नेतृत्व क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले विभिन्न आयोग तथा संवैधानिक निकाय, निजामति तथा सुरक्षा निकायका सहसचिव तथा अधिकृत प्रथम श्रेणीका महिला कर्मचारीलाई प्रशिक्षण दिएको हो । प्रशिक्षण १ असारदेखि ३ दिनसम्म चलेको थियो ।
सार्वजनिक प्रशासन क्षेत्रमा महिलाहरूको नेतृत्व क्षमतालाई थप सुदृढ बनाउन कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमले रणनीतिक सोच,प्रभावकारी सञ्चार,समूह व्यवस्थापन तथा अन्तरव्यक्तिगत सम्बन्ध व्यवस्थापनजस्ता महत्वपूर्ण पक्षहरूमा सहभागीहरूलाई सशक्त पार्ने प्रयास गरेको थियो ।
प्रशिक्षणमा नेपाल सरकारका २७ जना महिला उच्चअधिकारी सहभागी थिए । जसमा नेपाली सेना, िनजामति, प्रहरी, स्वास्थ्य क्षेत्रका महिला कर्मचारी सहभागी थिए । प्रशिक्षण कार्यक्रममा पार्वती शर्मा, गीता कुमारी हुमागाईं, मुन्नादेवी श्रेष्ठ, हिराकुमारी निरौला, रोजिना ताम्राकार, करुणा केसी, अनिता निरौलालगायत २७ जनाको सहभागिता थियो ।