काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको १० दिनको ‘फोर्स लिभ’ सकिएको छ । गभर्नर अधिकारी ५ देखि १४ चैतसम्म बिदामा थिए ।
गभर्नर अधिकारीको कार्यकाल २३ गते सकिन लाग्दा १८औं गभर्नरका आकांक्षी अन्तिम कसरतमा शक्ति केन्द्र धाइरहेका छन् । गभर्नरको दौडधुपमा सत्ता गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा एमाले निकट व्यक्ति पार्टीका उच्च नेतृत्वसँग राष्ट्र बैंकको
नेतृत्वका लागि लबिङ गरिरहेका छन् । राजनीतिक नेतृत्वसँगै यस पटक व्यवसायीहरूसमेत आफ्नो पक्षको गभर्नर बनाउनका लागि कस्सिएका छन् ।
नयाँ गभर्नरको टुुंगो लगाउनका लागि गत सोमबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय गभर्नर छनोट समिति गठन गरिएको छ । समितिमा अर्थविद् डा. विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य छन् । यो समितिले १ जना डेपुटी गभर्नरसहित ३ जना व्यक्ति छनोटगरी सरकारलाई दिने छ ।
गभर्नर छनोटको अन्तिम चरण चलिरहँदा गभर्नरको कुर्सीको दौडधुपसमेत अस्वाभाविक नै देखिन्छ । १ साताभित्रै नयाँ गभर्नर चयन हुँदै छन् । गर्भनरको दौडमा रहेका व्यक्तिहरू अन्य संस्थाबाट राजीनामा दिएर गभर्नरको दौडमा उत्रिएका छन् ।
यो दौडमा डा. प्रकाशकुमार श्रेष्ठ पहिलो नम्बरमा छन् । श्रेष्ठले राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् । उनी हाल राष्ट्रिय योजना आयोगका सदस्यसमेत हुन् । उनले अर्थमन्त्री पौडेलका सल्लाहकारसमेत भएर काम गरिसकेका छन् ।
उनलाई गभर्नर बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एमाले महासचिव शंकर पोखरेल र अर्थमन्त्री पौडेलसमेत सकारात्मक छन् । अधिकारीको कार्यकालमा श्रेष्ठ डेपुटी गभर्नर बन्न दौडमा रहे पनि अन्तिममा छनोटमा पर्न सकेनन् । त्यतिबेला नीलम ढुंगाना र बमबहादुर मिश्र डेपुटी गभर्नर बन्दा उनी आउट भएका थिए । यस पटक उनी गभर्नरका बलिया उम्मेदवार हुन् ।
यस्तै, एमाले निकट रहेकी नीलम ढुंगाना छनोट समितिले गर्ने ३ जनामध्ये डेपुटी गभर्नरबाट छनोटमा पर्ने निश्चित देखिएको छ । उनलाई डेपुटी गभर्नर बनाउन सहयोग गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि गभर्नर बनाउन लागेकी छन् ।
यता, यस पटक कांग्रेस गभर्नर पाउनुपर्ने अडानमै छ । लामो समयदेखि राष्ट्र बैंकको नेतृत्व कम्युनिस्ट निकट व्यक्तिले गरिरहेका भन्दै कांग्रेसमा जे जस्तो परिस्थिति आए पनि गभर्नर छाड्नु हुदैन भन्ने दबाब छ । ओलीपछि कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री र अर्थमन्त्रीसहितका व्यक्ति सरकारमा जानुपर्ने हुँदा गभर्नर आफूले पाउनुपर्ने अडानबाट पछि हटेको छैन ।
कांग्रेसबाट राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउनुपर्नेमा जोड छ । छनोट समिति सदस्य विश्व पौडेल डा. भट्टकै पक्षमा देखिएका छन् । भट्ट यसभन्दा अघि पनि डेपुटी गभर्नर बन्ने दौडमा थिए तर त्यतिबेला प्रधानमन्त्री ओलीले डेपुटी गभर्नर झापाकी ढुंगाना र मिश्रलाई बनाएपछि उनी बाहिरिनुपरेको थियो ।
अर्थशास्त्र र तथ्यांकशास्त्रमा दक्ष व्यक्तिका रूपमा उनी राष्ट्र बैंकमा परिचित छन् । शालीन र नम्र स्वभाव भएका भट्ट अहिलेको अवस्थामा उत्तम नेतृत्वकर्ता भएकाले गभर्नरका लागि उपयुक्त रहेका कांग्रेसभित्र एक मत जस्तै देखिन्छ ।
गभर्नरको दौडमा रहेका ज्ञानेन्द्रप्रसाद ढुंगानासमेत कांग्रेस निकटबाट गभर्नर बन्ने दौडमा छन् । १२ चैतमा ढुंगानाले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर गभर्नरको दौडमा छन् ।
नेपाल बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका ढुंगाना उद्योगपति विनोद चौधरी र उमेश श्रेष्ठको लबिङमा राजीनामा दिएर गभर्नरको दौडमा अन्तिम कसरतमा छन् ।
गभर्नर दौडमा लगानी बोर्डका पूर्व कार्यकारी प्रमुख सुशील भट्टसमेत छन् । उनका भाइ दीपक भट्टको नियुक्ति प्रक्रियामा सधैं सक्रिय व्यक्ति भएकाले भट्टलाई गभर्नर बनाउन उनी ओली र देउवालाई सहमत बनाउने प्रयासमा छन् ।
अर्थतन्त्र र नागरिकलाई विश्वास गर्ने विज्ञ गभर्नरको खोजी गर्नुपर्ने बेलामा पार्टी र व्यक्ति निकट गभर्नरको चर्चा धेरै छ । आर्थिक मन्दीदेखि देश ग्रे लिस्टमा परेका बेलामा गभर्नरको नियुक्तिमा सरकारले आफ्नो भन्दा पनि दक्षता हासिल गरेको व्यक्तिलाई चयन गर्नुपर्ने अर्थशास्त्री डा. रघुवीर विष्टको सुझाव छ ।
१८ चैतमा प्रधानमन्त्री ओली थाइल्यान्डमा हुने विमस्टेक बैठक जानुअघि नै गभर्नर नियुक्ति टुंग्याउन भनिएको छ । अन्तिम ३ जनाको नाम टुंग्याउका लागि समितिलाई आइतबारसम्म समय दिइएको छ ।