काठमाडौं :नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न साधारणसभा पछिको निर्वाचनमा वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान गरि तार्किक निष्कर्षमा पुर्याएर छोड्ने बताएका छन् ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी एशोसिएसनद्वारा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका आफ्ना पूर्व अध्यक्ष समेत रहेका गैरेको सम्मानमा मंगलबार राजधानीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष गैरले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या नेपाली अर्थतन्त्रका पनि समस्या हुन भन्ने विषयमा निजी क्षेत्रमा कार्यरत अन्य व्यवसायीहरू पनि ‘कन्भिन्स’ भएको भन्दै अब समस्याको समाधानका लागि सबै क्षेत्रबाट जोडबल पुग्ने बताए ।
विजयी गैरेले आफुलाई मत दिएर निजी क्षेत्रले वैदेशिक रोजगारको महत्वपूर्ण भूमिकालाई आत्मसात गरेकोे आफुले पाएको बताए । महासंघ र संघबीच लामो समयदेखि वैदेशिक रोजगारका क्षेत्रमा सहकार्य स्थापित भई समस्या तथा समाधानकाबारे जानकारी गराइएको बताउँदै अध्यक्ष गैरेले महासंघका सबै वस्तुगत अध्यक्षहरूसँग छलफल चलाएर अघि बढ्ने बताए ।
कार्यक्रम एशोसियसन अध्यक्ष नरेन्द्र प्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको थियोे । वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई समयसापेक्ष सीप र फर्किएकाहरूको सीप परीक्षण गर्न आवश्यक रहेकोले मुलुकमा सातवटै प्रदेशमा सीप तालीम केन्द्र स्थापनामा आफुले जोडदिने अध्यक्ष गैरेले दोहोर्याए ।
तालीम विना वैदेशिक रोजगारमा जाने कामदारहरूलाई शोषणाबाट बचाउन नसकिने बताउँदै उनले निजी क्षेत्रमा पनि सीप तालीमको कार्यक्रममार्फत अघि बढ्ने धारणाको विकास भएको बताए । महासंघको बस्तुगत सदस्यमा संघ अध्यक्षको विजयले वैदेशिक रोजगारका समस्या समाधानमा महासंघमार्फत सरकारीस्तरमा लविङ गर्न सहज हुने बताएका अध्यक्ष गैरेले नेपालमा लगानी भित्र्याउने सोही लगानीमार्फत स्वदेशमै रोजगारी सृजना गर्नसकिने वातावरण रहेकोले त्यसका लागि आफुले उच्चस्तरमा पहल गर्ने समेत अध्यक्ष गैरेले प्रतिवद्धता जनाए । लामो प्रयासपछि महासंघमा संघ पहिलो पटक निर्वाचित भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगततर्फ कार्यसमिति सदस्यमा ऐतिहासिक मतसहित गैरे विजयी भएका हुन् । १४ जना एशोसिएट सदस्य निर्वाचनका लागि यसपटक महासंघका १ सय ३ संस्थाका प्रतिनिधिहरुले मतदान गरेकोमा गैरेले ५१ मत पाए । एशोसिएसनका अध्यक्ष नरेन्द्र प्रसादको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा संघका प्रथम उपाध्यक्ष कमल तामाङ, एशोसिएसनका सल्लाहकार डिलबहादुर कार्की लगायतले नवनिर्वाचित सदस्य गैरेलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।
गैरे चारवर्षे कार्यकालको लागि संघमा निर्वाचित भएका हुन् । उनी संघको अध्यक्षमा नरहेपनि महासंघमा संघका तर्फबाट प्रतिनिधित्व गरिरहने छन् । गैरेले वैदेशिक रोजगार व्यवसायीहरुले महासंघ वस्तुगततर्फबाट केन्द्रीय सदस्यमा जिताउन हरपहलले मेहनत गरेको भन्दै आभार व्यक्त गरे ।
यसअघि संघका पूर्व अध्यक्ष एवं सांसद एलपी साँवा लिम्बु, हंशराज वाग्लेले पनि उम्मेदवारी दिएका थिए तर २ देखि ५ मत कम हुँदा महासंघमा प्रतिनिधित्व गर्न संघ चुकेको थियो । कार्यक्रममा संचालन गर्दै एशोसिएनका महासचिव भवानी निरौलाले मनोनयन दाखिलादेखि मतदानको कामसम्म व्यवसायीले देखाएको एकता र सहकार्यले जितका लागि महत्त्वपूर्ण भुमिका खेलेको बताए ।
सबैको सद्भावनाको कारणा यसपटक कार्यसमितिमा निर्वाचित हुन अध्यक्ष गैरेलाई धेरै सहज रहेको दाबी गर्दै महासचिव निरौसयलाले यो आम ब्यबसायीका लागि गर्वको बिषय भएको उल्लेख गरे । वैदेशिक रोजगार व्यवसायका तमाम समस्यालाई नेपाल उद्योग वाणिज्य महासंघमार्फत अझ सशक्त ढंगले सरकार समक्ष राख्दै समाधान गर्नको लागी यो जीत कोशेढुङ्गा सावित हुने निरौलाले दावी समेत गरे ।
कार्यक्रममा नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका प्रथम उपाध्यक्ष कमल तामाङ र एशोसिएसनका सल्लाहकारहरुका तर्फबाट दानबहादुर बुढाथोकीले गैरेलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा एशोसिएसनका सल्लाहकारहरु, कार्यसमिति र संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies