–लेखराज रेग्मी
यतिबेला राजसंस्थावादीहरूले गरेको तीनुकने प्रदर्शनले मुलुकको राजनीतिमा केही तरंग उत्पन्न भएको छ । यो घटनालाई लिएर अनेक खालका टीका टिप्पणी भइरहेका छन् । यसमा दोषी को ? यसबाट सिक्ने पाठ के ? जस्ता विषयमा विवेचना भइरहेका छन् ।
पूर्वपञ्चहरूलाई बहुदल र गणतन्त्रमा काखी च्याप्नेदेखि टाउकोमा चढाउने काम तत्कालीन स्थितिका आत्मघाती आपराधिक कार्य नै थिए । यसले सरकारमा रहने, पुग्नेहरूप्रति जनताका बीचमा जुन छाप बस्यो, यो व्यवस्थाकै लागि प्रतिकूल हुनु स्वाभाविक थियो ।
जनताको मनोबल गिर्ने र पश्चगामीहरूको मनोबल बढ्ने यस्ता कामप्रति उत्पादक हुने छन् भन्ने हेक्का नरहनु, दम्भ, लालसा, अहंकार, भ्रष्ट चरित्र निर्माण भइसकेपछि यस्तो स्थिति पैदा हुनु स्वाभाविक थियो । तीनकुने घटनाका लागि यस कारण जनताको नजरमा उनीहरू दोषी देखिनु अन्यथा होइन ।
तर, विडम्बना के हो भने, यतिबेला जनताको नजरमा भर पत्यार गर्न लायक कुनै पनि शक्ति सतहमा मुखरित छैन । जनताको अगुवाइ गर्न र जनतामा अपिल गर्न कुनै राजनीतिक वैचारिक शक्ति स्थापित छैन । यो नै यस्तो खतरनाक स्थिति हो, जसले गर्दा जनताको मनोबल कमजोर बनाएको छ । यो स्थिति पश्चगमनका लागि अनुकूल र मनोबल बढ्ने खालको हुनु स्वाभाविक छ ।
सरोकारवालाहरूले पटक–पटक छलफलहरूमा पुनरुत्थानवाद खतरा बन्न सक्छ भनेर विषय उठान गरेका छन् । यसका लागि केही तथ्यहरू उल्लेख भएका छन् । तर, यसमा नेतृत्वबाट दम्भपूर्ण जबाफहरू मात्र पाउने अवस्था बन्यो ।
२०६४ सालदेखि नै खासगरी गणतन्त्र घोषणापछि पटक–पटक राजाले शक्ति सन्तुलनको नापजोख गरेको विषयलाई हेक्कापूर्वक उठाइएको छ । विस्तृत शान्ति सम्झौतापछि लगातार खबरदारी मात्र भएको छैन, जनयुद्धको समयमा नै खासगरी संकटकालको समयमा राजा र संसद्वादीहरूमा बढेको विश्वासको खाडलकै कारण वैदेशिक शक्तिहरू शान्ति वार्ता र आन्दोलनको पक्षमा आए पनि माओवादीविरुद्ध षड्यन्त्र चलाएको देखिन्छ ।
टीआरसीलाई जसरी गलपासो बनाइएको छ, यसले पनि अवस्था प्रस्ट्याउँछ । स्वयं माओवादी नेतृत्व पंक्तिमा त्यस प्रकारको गा(म्भीर्य कुनै पनि समूह वा गुटहरूमा देखिएन । नेपाली कांग्रेसभित्र प्रदीप गिरिको माओवादीले हार्दा एमाले कांग्रेसले पनि हार्छ भन्ने चेतावनीप्रति कुनै सजगता र गम्भीरता देखिएन ।
एमालेको नेतृत्व पंक्तिमा समेत गम्भीरताको ठाउँमा छुद्रताले प्राथमिकता पायो र यो स्थिति केपी शर्मा ओलीको नेतृत्व स्थापित भइसकेपछि झनै बढेर गयो । नेपाली राजनीतिमा फसिज्मको रुझान देखिन थालेपछि हामीबाट खबरदारी नभएको होइन ।
यो स्थितिमा पुनरुत्थानका लागि ऐतिहासिक रूपमा सबैभन्दा अनुकूल स्थिति बन्नुमा संसदीय धारा र संसदीय अभ्यासमा जीवन देखिरहेका कम्युनिस्ट शक्तिहरू र उनका अदूरदर्शी क्रियाकलापहरू जिम्मेवार छन् ।
साम्राज्यवादीहरू बाम धारामा विभाजन र अनुकूल तत्त्वहरूको खोजीमा छन् । यसबाहेक उनीहरू संसदीय शक्तिभित्र विभाजन गर्दै पश्चगामी पुनरुत्थानवादीहरूसँगको एकता र चुनाव वा फरक तरिकाले कठपुतली सत्ता स्थापित गर्ने योजनामा काम गरिरहेका छन् ।
हिन्दु अतिवाद, संघीयताको विरोध, जातीय विग्रहको क्षेत्रमा सुनियोजित काम भइरहेका छन् तर पनि उनीहरू केही अस्थिरता पैदा गर्ने र जनतामा अविश्वास पैदा गर्नेभन्दा बढी उपलब्धिको सायद अपेक्षा गर्न सक्दैनन् ।
भरपर्दो तथा आकर्षक नेतृत्व सबल संगठित समूह र जनताको विश्वास प्राप्त गरिहाल्ने परिस्थितिको प्रतिकूलताका कारण यो अभ्यास उनीहरूको आकांक्षाको सेमिफाइनल गेम पनि बन्न सकिरहेको छैन । यस कारण थोरै क्षति र विध्वंशपश्चात् आफ्नो बार्गेनिङ पोजिसनको टेस्टसँगै केही समयमा स्थिति सामान्य बन्ने छ ।
तर, यसलाई संसदीय शक्तिहरूले गम्भीर चुनौतीका रूपमा बुझ्न र स्थितिलाई सम्हाल्न सजगता बढाएनन् भने देशले छिट्टै गम्भीर चुनौतीको सामना गर्नुपर्ने छ । के नेपालका कम्युनिस्ट र र्याडिकल डेमोक्रेटिकहरू देश र जनताप्रति इमान्दार बन्न सक्लान् वा कुनै व्यवस्थित क्रान्तिकारी धाराको पुनर्गठन सम्भव होला ? यो एउटा ज्वलन्त प्रश्न नेपाली राजनीतिमा सबैको ध्यान तान्नेगरी तीनकुने घटनाबाट मुखरित भएको महसुस भइरहेको छ ।
अहिले गम्भीर बहसहरू जन्मिएका छन् र पुरानै ढंगले समाधान खोज्नु मूर्खता मात्र साबित हुने छ ।