२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना

Nada
सूर्यप्रसाद भुसाल
२०८१ चैत २४ गते २०:४४
Shares
बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना

अर्घाखाँची : बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएका छन् । बुटवल– ८ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय भएअनुसार सेवा सुरु गर्न निर्देशन दिएका थिए ।

ncell

उनले बुटवलका वडा नम्बर ५, ६, ८, १०, १३ र १८ गरी ६ वटा स्वास्थ्य केन्द्र सञ्चालन हुने बताए । अरु वडाहरुमा भने यसअघि नै स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेका छन् । योसँगै १० वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पुगेका छन् । 

उनले बुटवल उपमहानगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै सबै वडामा आधारभूत स्वास्थ्य सेवा, ५ वटा वडामा ल्याबसहितका शहरी स्वास्थ्य केन्द्र, मोतीपुर स्वास्थ्य केन्द्रमा प्रसुति सेवा सञ्चालनमा रहेको बताए ।

उनले छिट्टै नै वडा नम्बर १३ मा फिजियोथेरापी सेवा, १७ मा अक्सिजनसहितको स्वास्थ्य सेवा सञ्चालन हुने बताए । यस्तै २ स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा रहेको उनले बताए । उनका अनुसार वडा नम्बर २ को आधारभूत स्वास्थ्य केन्द्रमा ल्याबसहितको सेवा सञ्चालनमा रहेको छ ।

‘जेष्ठ नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर बाआमासँग नगरप्रमुख कार्यक्रम अन्तर्गत घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने र गर्भवती महिलाहरुको स्वास्थ्य जाँच, पाठेघर र स्तन क्यान्सर परीक्षण शिविरहरु सञ्चालन गर्ने कार्यक्रम पनि नियमित रहेका छन्,’ उनले भने,‘आम्दा अस्पताललाई पनि थप सुधार गर्दै स्तरीय सेवा दिनका लागि हामी लागिरहेका छौं ।’

वडा तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालन गरेपछि वडाबासीलाई सहज हुने वडा नम्बर ८ का अध्यक्ष यज्ञ पंगेनीले बताए । सबै वडाहरुलाई स्तरीय सेवा प्रदान गर्ने गरी स्वास्थ्य केन्द्रहरु सञ्चालन भएको र सबै वडाबाट सहज रुपमा सेवा लिन सकिने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।

उनले शहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र र अन्य सेवाहरुलाई स्तरीय बनाउनका लागि पर्याप्त जनशक्ति खटिएको बताए । कार्यक्रममा बोल्दै जेष्ठ नागरिक समाजका अध्यक्ष राधेश्याम राजभण्डारीले बुटवल उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको प्रयास उत्कृष्ट रहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर