अर्घाखाँची : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्दै सोही भूमिबाट विश्वव्यापी ज्ञानको सुरुवात भएको बताए । अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाणिनीको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रस्ट पारे ।
‘यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुवात भयो, प्रधानमन्त्री ओलीले भने’, ‘विश्वका व्याकरणका पिता पाणिनि यही भूमिमा जन्मनु भएको हो, अरु सबै व्याकरणहरूले पाणिनीको सूत्रलाई आधार मानेका छन् ।’
प्रधानमन्त्री ओलीले पाणिनीको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत् संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भैरहेको बताए । ‘पाणिनीको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवातसँगै संगीत र लयको विकास भयो’, उनले भने ।
उनले पाणिनिले मात्र नभई शिव, सिंह ऋषि, पतञ्जली र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने बताए । नेपाल सरकारले यस क्षेत्रको विकासको लागि ध्यान दिएको दिएको बताउँदै उनले धार्मिक र पर्यटकीय स्थलको रूपमा विकास गर्न जोड दिने बताए ।
पाणिनीको जन्म पाकिस्तानमा भएको भन्ने भ्रम मात्रै भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘ऋषिहरू ध्यान र तपस्याको लागि उपयुक्त भूमि खोज्थे, व्याकरण बनाउन सजिलो ठाउँ हेरेर गएका होइनन्, शिवका डमरुको ध्वनि सुनेर व्याकरण सृजना गर्ने पाणिनीको साधना यहीँ भएको हो’, उनले भने ।