२०८२ वैशाख १ गते सोमवार / Apr 14 , 2025 , Monday
२०८२ वैशाख १ गते सोमवार
Ads

किन नास्तिकतातर्फ उन्मुख छ विश्व ?

draupadi film
मध्यान्ह
२०८१ चैत ३१ गते ०७:१६
किन नास्तिकतातर्फ उन्मुख छ विश्व ?

– शम्भु पनेरू
नास्तिकता, नास्तिकवाद वा अनीश्वरवाद त्यो सिद्धान्त हो, जसले जगत्लाई सृष्टि गर्ने, यसलाई संचालन र नियन्त्रण गर्ने भनिएको कुनै पनि ईश्वरीय अस्तित्वलाई स्वीकार गर्दैन । नास्ति शब्द नास्ति : न+अस्तिबाट बनेको थियो, जसको अर्थ छैन अर्थात् ईश्वर छैन भन्ने हुन्छ ।

नास्तिकहरू ईश्वरीय अस्तित्वलाई स्वीकार गर्दैनन् । नास्तिकहरू ब्रह्माण्ड स्वयं संचालित र स्वयं शासित छ भन्ने कुरामा विश्वास गर्छन् । 

तर, ईश्वरवादी भने यो समग्र ब्रह्माण्ड नै ईश्वरीय शक्तिबाट चलेको विश्वास गर्छन् । उनीहरू ईश्वरको अस्तित्वलाई पूर्ण स्वीकार गर्छन् । यद्यपि, ईश्वरवादीका धेरै प्रश्नका जबाफ विज्ञानले दिन थालेको छ ।

विज्ञानले तथ्यसहित प्रश्नलाई चिर्न थालेसँगै विश्वमा पनि क्रमशः नास्तिकताको लहर बढ्दो छ । पछिल्ला वर्षहरूका अध्ययन र सर्वेक्षणहरूलाई हेर्दा नास्तिकताको संख्या उच्च तहमा बढ्दै छ । विशेषगरी विज्ञानको विकाससँगै नास्तिकताको लहर पनि क्रमशः बढ्दो देखिन्छ । 

जापान, क्यानाडा, बेलायत, दक्षिण कोरिया, नेदरल्यान्ड्स, चेक गणराज्य, इस्टोनिया, जर्मनी, फ्रान्स, उरुग्वे यस्ता देशहरू हुन्, जहाँ १०० वर्ष पहिलेसम्म धर्मको निकै महत्त्व थियो तर अहिले यी देशहरूमा पनि भगवान्मा विश्वास गर्ने मानिसहरूको दर सबैभन्दा कम छ ।

यहाँ अचम्मको कुरा के छ भने, ब्राजिल, जमैका र आयरल्यान्ड जस्ता देशहरूमा पनि धर्मप्रतिको आस्था घटेको छ । सायद यसको कारण यी देशहरूमा शिक्षा र सामाजिक सुरक्षा प्रणाली निकै बलियो छ । आर्थिक असमानता कम छ र मानिसहरू तुलनात्मक रूपमा बढी शिक्षित र धनी छन् ।

विभिन्न विश्वव्यापी सर्वेक्षण र अनुसन्धानहरूले पुष्टि गर्छन् कि नास्तिकहरूको संख्या अर्थात् भगवान् वा कुनै अलौकिक शक्तिमा विश्वास नगर्नेहरूको संख्या विगत केही दशकहरूमा बढेको छ ।

बढ्दो नास्तिकताको ग्राफ
ग्यालप अन्तर्राष्ट्रिय सर्वेक्षण (२००५–२०११) : यस सर्वेक्षणमा ५७ देशका ५० हजारभन्दा बढी मानिसहरूलाई समावेश गरिएको थियो । यसअनुसार सन् २००५ मा ७७ प्रतिशत मानिसहरू धार्मिक थिए, जुन सन् २०११ सम्ममा घटेर ६८ प्रतिशतमा झरेको छ ।

एकै समयमा आफूलाई नास्तिक भनेर दाबी गर्नेहरूको संख्या ३ प्रतिशतले बढेर १३ प्रतिशत पुगेको छ ।
प्यु अनुसन्धान केन्द्र : सन् २०१० को एक रिपोर्टअनुसार, विश्वव्यापी रूपमा नास्तिक र अज्ञेयवादीहरूको संख्या ५० करोडदेखि १ दशमलव १ अर्बको बीचमा अनुमान गरिएको थियो । यो संख्या समयसँगै बढ्दै गएको देखिन्छ, विशेषगरी विकसित देशहरूमा ।

विन : ग्यालप इन्टरनेसनल (२०१७) : यो सर्वेक्षणले विश्वव्यापी नास्तिक जनसंख्या ९ प्रतिशत अनुमान गरेको थियो, जबकि पछिल्लो प्रक्षेपण (२०२३)ले यसलाई २३ प्रतिशत राखेको छ । यो भिन्नता सर्वेक्षणको परिभाषा र विधिहरूमा निर्भर गर्छ ।

विशेषगरी अहिले नास्तिकता विकसित देशहरूमा बढ्दै गएको देखिन्छ । आर्थिक, राजनीतिक र सामाजिक सुरक्षा प्रदान गर्ने देशहरूमा नास्तिकताको वृद्धि सबैभन्दा बढी देखिएको छ । 

उदाहरणका लागि चीनमा जनसंख्याको ६८ प्रतिशतभन्दा बढी (लगभग ९५ करोड मानिसहरू) नास्तिक मानिन्छन्, जसले गर्दा यो विश्वको सबैभन्दा ठूलो नास्तिक देश बनेको छ ।

यसैगरी, युरोपेली देश नर्वे, जहाँ ३९ प्रतिशत मानिसहरू नास्तिक छन् । स्विडेन, जर्मनी, फ्रान्स र चेक गणतन्त्र जस्ता देशहरूमा नास्तिकहरूको संख्या बढ्दै गएको छ ।

भारत जस्ता देशहरूमा पनि नास्तिकता बढ्दै गएको पाइन्छ । यद्यपि, यो अझै पनि अल्पसंख्यक छ । सन् २०११ को जनगणनाले ३३ हजार मानिसहरूलाई नास्तिकको गणना गरेको थियो तर यो पूर्ण सत्य थिएन । 

कुन देशमा कति प्रतिशत नास्तिक ?
भियतनाम : ८१ प्रतिशत
स््िवीडेन : ७८ प्रतिशत
चेक गणराज्य : ७५ प्रतिशत
संयुक्त अधिराज्य : ७२ प्रतिशत
ऋस्ट्रेलिया : ७० प्रतिशत
जपान : ६५ प्रतिशत
नेदरल्यान्ड्स : ५८ प्रतिशत
डेनमार्क : ५६.२ प्रतिशत
दक्षिण कोरिया : ५४.९ प्रतिशत
न्युजिल्यान्ड : ५१.६ प्रतिशत
स्कटल्यान्ड : ५१.१ प्रतिशत
जर्मनी : ४६.२ प्रतिशत
नर्वे : ३९ प्रतिशत
फिनल्यान्ड : ३३.६ प्रतिशत
स्विट्जरल्यान्ड : ३३.५ प्रतिशत
फ्रान्स : ३३ प्रतिशत
क्यानाडा : २६.३ प्रतिशत
अल्बानिया : २४.४ प्रतिशत
सिंगापुर : २० प्रतिशत
भारत : ६ प्रतिशत

नास्तिकता बढ्नुका कारणहरू
विज्ञानले हरेक परिणामको कारण खोज्छ र सो कारणमाथि पनि विवेचना गर्छ । अलौकितालाई पाखा पन्छाएर गरिने विवेचनाबाट निस्कने परिणामबाट मानिसहरू नास्तिक बन्न पुग्छन् ।

सँगै, अहिले विशेषगरी इन्टरनेट र शिक्षाले मानिसहरूलाई फरक–फरक दृष्टिकोणमा उजागर गरेको छ, जसले गर्दा धार्मिक विश्वासमाथि प्रश्न उठेको छ ।

मानिसहरू आस्तिक हुनुका पछाडि आर्थिक, सामाजिकलगायतका कारणहरू पनि जोडिन्थे । भविष्य के हुने भन्ने अन्योलमा मानिसहरू त्रसित रहन्थे । यद्यपि, समाज विकास हुँदै जाँदा ती अन्योलहरू हट्दै गएका छन् ।
राज्यले कतिपय कुराको सुनिश्चितता गर्ने परिपाटीको सुरुवात गरिरहँदा जनतामा त्रास हट्दै गइरहेको छ । जनता कारण र परिणाम खोज्ने भएका छन् ।

निष्कर्षमा, यदि अहिलेको प्रवृत्ति जारी रह्यो भने नास्तिकहरूको संख्या विश्वमा अझ बढ्न सक्ने देखिन्छ । केही विज्ञहरूका भनाइलाई हेर्दा, सन् २०५० सम्ममा नास्तिक र अज्ञेयवादीहरूले विश्व जनसंख्याको ठूलो हिस्सा ओगट्न सक्छन् । विशेषगरी शहरी र शिक्षित समुदायहरूमा यसको संख्या सबैभन्दा बढी हुने छ ।
 

ADV

सम्बन्धित खबर

Advertise