– डा. उद्धव पुरी
सनातन धर्म र संस्कृतिका उद्गमस्थलहरूमध्ये पश्चिम नेपालको हालको चितवन देवघाट र माडी महत्त्वपूर्ण स्थानहरू रहेका क्षेत्रहरू हुन् । धार्मिक ग्रन्थहरूमा पौराणिककालदेखिकै विषयगत कुराहरू यहाँ जोडिएका छन् ।
मानव वस्तीको विकासपछि पवित्र धार्मिक स्थलहरूका रूपमा यी स्थानहरूको नाम प्रायः सबै पुराण वा ग्रन्थ र भाष्यहरूमा छन् । कतिपय नाम अहिले पनि उही छन् भने कतिपय नामहरू विभिन्न कालखण्डमा परिवर्तन हुदै आएका देखिन्छ ।
पवित्रताको हिसाबमा सनातन धर्मावलम्बीहरूका लागि संसारमा देवघाटजत्तिको पवित्रस्थल अन्त नभएको कुरा विभिन्न धर्मग्रन्थहरूले उल्लेख गरेका छन् । त्यसरी नै हालको माडीका विभिन्न स्थानहरू विष्णु, पाण्डव, राम सीतालगायतका देवी–देवता, आदर्श पुरुष र तिनका नामबाट प्रचलित धार्मिक स्थलहरू यहाँ छन् ।
राजा दशरथको राज्य अयोध्या, जहाँ राम उनका पुत्रका रूपमा जन्मेका थिए, यही नै उनको राम राज्य थियो । हालको माडी नाम शब्दलाई माण्डप ऋषि वा थारू भाषासँग पनि जोडिएर हेरिएको छ । सोमेश्वर पर्वत, अयोध्यापुरी, रियु वा सरयु नदी, विभिन्न कुण्ड, ताल, द्रौपदी इनार जस्ता धेरै कुराहरू प्राचीन शास्त्रहरूले उल्लेख गरेअनुसार ती सबै स्थानहरू यही वा हालको माडी नगरपालिकाभित्र र वरपर नै पर्छन् ।
तर, विभिन्न काल खण्डमा भएका अनेकौं परिवर्तनले कतिपय पौराणिक वा प्राचीन र ऐतिहासिक निर्माणहरूलाई भग्नावशेषका रूपमा परिणत गरिदिएका देखिन्छ । शास्त्रीय प्रमाण र अवशेषहरू भेटिँदा पनि केन्द्रीय र स्थानीय सरकार अपारदर्शी डरमा परेर होला, आधिकारिक रूपमा लुम्बिनी र कपिलवस्तुमा झैं पुरातत्त्विक उत्खनन र अध्ययन गर्न हतार नगरी बसेको देखिन्छ ।
माडीको आध्यात्मिक एवं धार्मिक पक्ष त छँदै छ, त्यसरी नै तिनै धर्मग्रन्थहरूले माडीको प्राकृतिक सुन्दरता र महत्त्वका बारेमा गरेको उल्लेख पनि अहिलेसम्म त्यतिकै सुन्दर देखिन्छ । वरपर डाँडाले धेरिएको र हालको चारकोेसे झाडीले बेरिएको माडी ऐतिहासिककालदेखि नै सुन्दर र त्यतिकै महत्त्वको क्षेत्र मानिन्छ ।
ठोरी र माडीको जंगल हाल राष्ट्रिय निकुञ्जको रूपमा परिचित जंगल हो । भारत र नेपालको सीमामा रहेको यस क्षेत्रको दुवै राज्यमा ठोरी नामक प्रचलित क्षेत्र रहेको छ । यी क्षेत्रहरू भारतीय र नेपालका शासकहरूको सिकार क्षेत्र पनि हो ।
नेपालको इतिहासमा अंग्रेजहरूले भारतमा उपनिवेश चलाउँदा ठोरीसम्म रेलमार्ग भएकाले जंगल भ्रमण र सिकारका लागि यही नाकाबाट विदेशीहरूसमेत आउने–जाने गरेका देखिन्छ । राणाकालमा बेलायतका राजा माहाराजा र अन्य विदेशी पाउनाहरूलाई यहाँ सिकार खेल्न बोलाइएको विश्व प्रसिद्ध सिकारका प्रसंगहरू पनि माडीसँग जोडिएका छन् ।
हाल पनि यो क्षेत्र सांस्कृतिक र प्राकृतिक पर्यटनका विभिन्न पक्षसँग जोडिँदै आएको छ र विकसित गर्ने क्रम चलिरहेकै छ । अहिले भरतपुरदेखि नेपाल र भारतको सीमा ठोरीसम्म हुलाकी राजमार्गको रूपमा बाटो चौडा हुँदै छ र यही मार्ग भएर पूर्वी नेपालको वीरगंजलगायतको ठाउँ पुग्न पनि सहज हुँदै छ ।
विश्व पर्यटनको गन्तव्यका परिचित स्थानहरूमध्ये नेपालको चितवन पनि पर्छ । सौराहा, जहाँ धेरै पर्यटकहरूको आगमन भइरहेको छ । त्यसरी नै माडी नजिक कसरा, जगत्पुरमा पर्यटकीय विकासको थप प्रगति भइरहेको छ । यहीँ हुँदै मोटरबाट राष्ट्रिय निकुञ्जको जंगलको करिब १ घण्टाको बाटो पार गरेपछि माडी पुग्न सकिन्छ ।
पहिलेका विभिन्न गाउँपालिकाहरूलाई समावेश गरी हाल माडी नगरपालिकाभित्र प्रायः सबै आध्यात्मिक र प्राकृतिक स्थानहरू समेटिएका छन् । तर, विकास र सुविधाका नाममा भने माडी नगरपालिका भारतपुको दाँजोमा ज्यादै कमजोर मानिन्छ ।
कृषि नै यहाँको मुख्य पेसा र आय स्रोत बनेको छ । केही मात्रामा अयोध्याको प्रसंग उठान र आन्तरिक पर्यटनको विकाससँगै यहाँ मानिसहरूको आवतजावत बढिरहेको छ । यहाँका १, २, ३, ४, ५ र ६ नं. वडामा मुख्य रूपमा सदियौंदेखिका पुराना वासिन्दा थारूहरूकै बाहुल्य छ भने बोटे, दराई, चेपाङलाई पनि यहीँका बासिन्दा मान्नुपर्छ ।
औलो उन्मूलनपछि चितवनमा पहाडियाहरू वा अन्यत्रबाट बस्ती बढ्न थालेसँगै माडीमा पनि विभिन्न जातिहरू एकल र समूहमै बसाइँ सरेका देखिन्छ । पर्यटकीय गतिविधि र जग्गा किनबेचका कारण यहाँ मानिसहरूको चहलपहल दिनदिनै बढिरहेको छ ।
हालसम्म यहाँको केन्द्र वसन्तपुर बजार र त्यसको आसपास केही परम्परागत लज, केही पर्यटकीय स्तरका रिसोर्ट भनी संचालनमा रहेका होटेलहरू छन् । त्यसपछि बाक्लो बस्ती भएको र पर्यटकीय चहलपहल हुने स्थान वरपर रहेका विभिन्न जातजातिहरूले होमस्टे संचालन गर्न थालेका छन् । लगभग ९–१० वर्षदेखिको उनीहरूको इतिहास बनेको छ ।
केही ठाउँमा ठूला होटेलहरू बन्ने क्रम र बनाउन पृष्ठभूमि तयार पार्दै गरेको पनि देख्न सकिन्छ । नेपालको परिप्रेक्ष्यमा पर्यटन र होमस्टेलाई बुझ्ने तथा त्यसको संचालन विधि र उद्देश्यको भिन्नता जान्ने र सोहीअनुरूप विकास गर्दै लैजाने सरकार र विज्ञको अभाव देखिन्छ । केही पर्यटनका कथित विज्ञ र पर्यटन ज्ञानले कमजोर पर्यटन व्यवसायीहरूले होमस्टेलाई होटलहरूको अभावमा र कम बजेट भएका यात्रु वा पर्यटकलाई थेग्ने माध्यम बनाएको देखिन्छ ।
सरकारले निर्माण गरेको होमस्टे कार्यविधि पनि यसैको केही हदसम्म सिकार बनेको छ, जसले गर्दा नेपालका होमस्टेहरू विश्व पर्यटन र विश्व पर्यटन संगठनको परिभाषित स्वरूपअनुसार संचालन हुन सकेका देखिँदैन । पर्यटनसँग जोडिँदै विकसित हुँदै आएको होमस्टे त्यसका पाहुनाहरू अधिकांशले होमस्टेको मूल मर्मलाई बुझ्न सकेका पनि देखिँदैन ।
होमस्टेसम्बन्धीको प्राप्त अपर्याप्त र अपूर्ण ज्ञानका कारण होमस्टे संचालकहरू आफैंले पनि यसको वास्तविकतालाई त्यति धेरै व्याख्या गर्न सक्दैनन् । स्वअध्ययन र अन्य माध्यमबाट जानकारी भएकाहरूलाई पनि सरकार र स्थानीय निकायबाट प्रदान गरिएको तालिम, सहयोग र उपलब्धताले केही भ्रम सृजना पनि गरिदिएको छ ।
पश्चिम नेपालमा संचालित होमस्टेको दाँजोमा माडी क्षेत्रमा संचालनमा रहेका होमस्टेहरू होमस्टेको वास्तविक अवधारणाभन्दा अलि भिन्न रूपमा विकसित हुँदै छन् । माडीमा संचालनमा रहेका होमस्टेमध्ये केहीलाई छाडेर हेर्ने हो भने, अधिकांश लजका रूपका जस्ता देखिन्छन्, जुन सरकारले निर्माण गरेका ऐन नियमसँग पनि मेल खाँदैनन् ।
माडीमा संचालनमा रहेका सामुदायिक वा निजी स्तरका होमस्टेहरू किन होमस्टेको वास्तविकताभन्दा केही पर हुँदै अगाडि बढिरहेका छन् ? भन्ने सम्बन्धमा पर्यटनसम्बन्धी काम गर्ने नेपाल सरकारका सम्बन्धित पक्षहरू, स्थानीय सरकार, पर्यटन र होमस्टेका नाममा संचालित केही गैरसरकारी संघसंस्थाहरू रहेका देखिन्छ ।
उनीहरूले त्यहाँ होमस्टेका लागि छुट्टै टहरा वा साना घर बनाउन आर्थिक सहयोग गरेका छन् । ती टहराहरूलाई होमस्टेको अवधारणाविपरीत ससाना लजको झैं सुविधायुक्त बनाउन सिकाएको बुुझिन्छ । केहीले होटेल व्यवसायीलाई झंै खाना बनाउने र नयाँ परिकार बनाउने तालिम दिएको बुझिन्छ ।
होमस्टेका पाहुनाहरू होटेल, रिसोर्ट वा लजमा बसेझैं खान, बस्न, रमाउन स्वतन्त्र छन् । उनीहरू आफ्नो इच्छा र चाहनाअनुसारको सुविधा उपभोग गरी बस्न सक्छन् । केही होमस्टेहरू त शहरी क्षेत्रका होटेल, लजलगायतको झैं अवैध रूपमा केहीबेरका लागि हुने यौन धन्दाका निमित्त पनि उपलब्ध भएका भेट्टाइन्छ ।
विभिन्न जातजाति, जस्तै ः थारू, मगर, बोटेलगायतकाले संचालनमा ल्याएका होमस्टेहरू सामुदायिक भनिए पनि अधिकांशको सहकार्य होमस्टे स्थापनाका विधि विधानअनुसार भएको देखिँदैन । माडीका होमस्टेहरूले माडीका सांस्कृतिक र प्राकृतिक पक्षहरूलाई समेटर होमस्टे पाहुनाहरूलाई प्रभावित गर्न सकेका पनि भेटिँदैन । त्यसैले, यहाँका होमस्टेहरूमा होमस्टे संस्कृतिमा रमाउने विदेशीहरू प्रायः आएका देखिँदैन भने नेपालीहरू विविध कारण र जग्गा कारोबारका लागि नै बढी गएको देखिन्छ । केही सरकारी वा गैरसरकारी संघसंस्थाहरू पनि सजिलो र सस्तोका लागि होमस्टेमा बसेका देख्न पाइन्छ ।
माडीका होमस्टेहरूको यस किसिमको रूप स्थानीय जाति, संस्कृति, परम्परा, धर्म, प्रचलित सामाजिक अवस्थालाई नाश गर्दै लाने प्रवृत्तितर्फ उन्मुख भएको छ भन्न सकिन्छ । हाललाई केही आर्थिक फाइदा मात्र देख्ने समूह र व्यक्तिहरूले यसलाई नकारात्मक टिप्पणी भने पनि कालान्तरमा वा केही वर्षपछि त्यसका दोषहरू क्रमशः देखिन थाल्छन् ।
विश्व पर्यटनमा पर्यटकीय विकास र होमस्टे मौलाएका भनिएका धेरै स्थानहरू अहिले बदनाम भएका छन् र कतिलाई बन्द नै गरी नयाँ संरचनाको सुरुवातसमेत गरिएका छन् ।
दिगो पर्यटन र होमस्टेको वास्तविकतालाई सुरुको अवस्थादेखि नै कार्यान्वयन गर्न र गराउन सके भविष्यका लागि सहज र निरन्तर फलदायी भई चलिरहने छन् । यो दायित्व मुख्य रूपमा स्थानीय सरकार र होमस्टे संचालन गर्नेहरूको पनि हो ।
धार्मिक र सांस्कृतिक पर्यटनको विशेष गन्तव्य बनाउन सकिने र त्यसका सकारात्मक पक्ष बढ्दै गएको माडीको होमस्टे विश्व होमस्टेको स्तरमा फैलिन र फैलाउन सक्नु सबैको चाहना र सम्बन्धितको दायित्व बन्नुपर्छ, जुन माडीको विकास र आर्थिक भविष्यको मुख्य स्रोत बन्न सक्छ ।