-सन्तोष श्रेष्ठ
लोकसाहित्य वा लोकसंगीत भन्नु लोकमा वा समाजमा प्राचीनकालदेखि चलिआएका साहित्य वा संगीत हुन् । लोकपरम्परामा रहेका यस्ता साहित्य र संगीतले समाजको परिचय मात्र दिँदैनन्, सभ्यता र संस्कार पनि सँगै बोकेका हुन्छन् । अर्थात् लोकसाहित्य वा लोकसंगीत नेपाली मौलिक संस्कृतिको परिचय हो । लोकसंगीतको आफ्नै अनि छुट्टै परिचय छ । आफ्नै विशेषता छ ।
लोकसाहित्य वा लोकसंगीत नेपाली समाजको मौखिक अनि मौलिक गायन परम्परा हो । लोकसाहित्यसँगै जोडिएको लोकसंगीत हरेक समाजको परिचायक हो ।
विशेषगरी श्रुति परम्पराका रूपमा रहेका लोकसंगीतलाई प्रविधिको विकाससँगै रेकर्ड गरी आमजनसम्म पु¥याउन थालिएपछि यसको व्यापकता बढेको पाइन्छ ।
लोकसंगीतको सबैभन्दा सबल पक्ष भनेको यो जनजनका जिब्रोमा सजिलै झुन्डिने खालको हुन्छ । हरेकले आफ्नो महसुस गर्ने भाका, शब्द र शैली लोकगीतमा हुन्छ । यो लोकगीत, संगीतको शक्ति हो । अझ भन्नु पर्दा यसको सबैभन्दा सुन्दर पक्ष भनेको सरलता, कोमलता र हार्दिकता हो ।
यो कोमल हृदयको सूक्ष्म मिठाससहितको माधुर्य तरंग हो । सबै उमेर समूहका श्रोताले सजिलै टिप्न सक्ने भाका वा लय र शब्द अनि शैलीको प्रयोगका कारण लोकसंगीतले मानिसलाई छपक्कै छुन्छ । आफूतिर आकर्षित गर्छ । अत्यन्त सरल र सजिलै बुझिने शब्दको प्रयोग हुनुले पनि लोकगीत, संगीतलाई धेरैले रुचाउँछन् ।
लोकसंगीतको अर्को विशेषता के छ भने, यसले समाजका कथा, व्यथा, दुःख र विरहलाई मार्मिक ढंगले प्रस्तुत गर्छ । सोझै भन्न नसकिने यस्ता विषयलाई कलात्मक रङ दिएर गायक÷गायिकाले प्रस्तुत गर्दा समाजका पीडा र दुःख बुझ्न सहज हुने गर्छ । कतिलाई रुवाइदिन्छ । कतिलाई हँसाइदिन्छ । यसको तागत थाहै हुँदैन ।
नेपाली लोकसंगीतको सन्दर्भमा कुरा गर्दा यसको क्षेत्र फराकिलो देखिन्छ । नेपाली लोकगीतका अनेक रूप, प्रभेद र विषय छन् । जसरी नेपाली भूगोल, संस्कृति र सभ्यता समाज अनि समुदायपिच्छे अलगअलग छन्, त्यसरी नै लोकसंगीतका क्षेत्र पनि आ–आफ्नै प्रकारका छन् । यसको आयतन व्यापक छ ।
सुदूरपूर्वको भूगोल र समाजमा त्यहीँका समाज, सभ्यता र समुदायअनुसारका लोकसंगीत छन् भने बीचको क्षेत्रमा सोहीअनुसारका र गण्डकी, लुम्बिनी, राप्ती , कर्णाली र सुदूरपश्चिममा सोही भूगोल, सभ्यता, समाज र समुदायअनुसारका लोकसंगीत छन् । यी सबैका आ–आफ्नै विशेषता छन् । सबै एकअर्कामा नजिकै छन् तर भिन्न पनि छन् ।
प्रत्येक भूगोल र समाजले आ–आफ्ना लोकसंस्कृति र परम्परालाई लोकगीत, संगीतमा झल्काउने गरेका हुन्छन् । सोहीअनुसारका शब्द, भाका र शैली आफ्ना लोकसंगीतमा प्रस्तुत गर्छन् । प्रस्तुति शिष्ट अनि शालीन हुन्छ ।
हाम्रो नेपाली भूगोल मूलतः ३ खण्डमा विभाजित छ– हिमाली, पहाडी र तराई । यी तीनै खण्डमा आफ्नै खालका सभ्यता, भाषा, परम्परा र संस्कृति विद्यमान छन् । सोहीअनुसारकै लोकसंगीत र साहित्य हुनु स्वाभाविक हो । अनेकताभित्र एकता झल्किएको पाइन्छ लोकसंगीतमा ।
नेपालको उत्तरी भागमा हिमाली क्षेत्र छ । यहाँ विशेषगरी लामा, शेर्पा जातिहरू बसोबास गर्छन् । यस क्षेत्रमा बसोबास गर्ने लामा, शेर्पा, गुरुङ, तामाङ आदि जातिहरूका आफ्नै किसिमका लोकगीत छन् । यिनीहरूसँग लोकसंगीतमा सेब्रु गीत छ ।
यिनीहरू ल्होसार, मनिरिम्बु, दुम्जे आदि चाडपर्वमा स–साना गीतदेखि लामा–लामा धार्मिक गीत गाउँछन् । यिनीहरूका वाद्ययन्त्रमा ढ्यांग्रो, झ्याली, घण्टी, लाभा, चोसरंगा, स्वगचाम, शंख, डम्फु, नगरा, टुङ्ना आदि प्रमुख छन् ।
यसरी नै हिमाल र तराईका बीचमा रहेको भूगोल छ– पहाड । आफ्नै किसिमको मौलिक पहिचान र परम्परा रहेको पहाडी भेगमा पनि विभिन्न जातजाति र संस्कृतिका मानिस बसोबास गर्छन् । यहाँका हरेकजसो जातजातिका आ–आफ्नै लोकपरम्परा, साहित्य र संगीत छन् ।
यहाँका लोकगीतहरूमा आफ्नै किसिमको संस्कृतिको प्रभाव देखिन्छ । पहाडमा ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, तामाङ, दलित आदि जातजाति बसेका छन् । फरक–फरक समुदायमा पनि हामी एकै हौं भन्ने भावना कायमै छ ।
आ–आफ्ना जातीयता र संस्कार, संस्कृति अनि विशेषता झल्काउने लोकगीतहरूलाई आफ्नै भाषा र भाकामा पहाडका समुदायले प्रस्तुत गर्ने गरेका छन् ।
हिन्दुहरूले दसैंमा मालश्री, तिहारमा देउसी–भैली, विवाहमा रत्यौलीसँगै बालन, सँगिनी, सोरठी र कर्खा आदि गाउने गरेका छन् । पूर्व पहाडमा झ्याउरे, सेलो, धाननाच, हुर्रे, चण्डी, सँगिनी, बेठी, समला, चण्डी, बिरानी आदि प्रचलित लोकसंगीत हुन् । यस भेगमा जुहारी, दोहोरी, चाडपर्व, उत्सव, जात्राहरूमा समय र परिस्थितिअनुसार विभिन्न लोकबाजाको प्रयोगसमेत गरिन्छ ।
देशको भूगोलको तेस्रो खण्ड हो– तराई । यो तराई खण्ड समतल, घना बस्ती भएको र फाँट रहेको क्षेत्र हो । हिमाली, पहाडी क्षेत्रका मानिस बसाइँ सर्ने तथा विशेषगरी दक्षिणी भारतीय क्षेत्रको प्रभाव रहने तराई खासमा सबै संस्कृति, सभ्यता र परम्पराको साझा स्थल जस्तो लाग्छ ।
तराईमा बसोबास गर्ने नेपालीमध्ये मैथिली, भोजपुरी, थारू, सतार, राजवंशी, कोचे, मेचे, धिमाल जस्ता आदिवासीको विशेष स्थान देखिन्छ । तराईका लोकगीतहरूमध्ये मैथिली, भोजपुरी, धिमाल, झाँगड, झिझिया, गौना, होरी, रसिया आदि प्रसिद्ध छन् ।
तराईमा पनि आफ्नै प्रकारका लोकबाजा छन् । जस्तो कि ढोलक, मुरली, बाँसुरी, उर्नी, गोमना, तुझाई, पश्चिमा, मादल, तबला, चाप, झ्याली, दोदरा, झाँझर, मुजुरा, कठताल, चिम्टा, तासा, एकतारे र नागबेली तराईका प्रचलित लोकबाजा हुन् ।
यिनका अतिरिक्त देशको बीचको भूगोल देशको राजधानीसमेत रहेको क्षेत्र काठमाडौं उपत्यकामा पनि अनेक लोकसंस्कृति र परम्परा अनि लोकगीत, संगीत छन् । काठमाडौं उपत्यकामा विशेषतः नेवार समुदायको सांस्कृतिक रूपमा अग्रता, बाहुल्य र विशिष्टता पाइन्छ । तामाङ समुदायको पनि आफ्नै विशिष्टता पाइन्छ यहाँ ।
नेवार र तामाङका विशिष्ट संस्कृति, संस्कार र भाषा पाइने यहाँका नेवारहरूका आफ्नै लोकपरम्परा छन् भने तामाङका पनि आफ्नै खालका लोकपरम्परा, संगीत र साहित्य पाइन्छन् । आफ्नै जीवनशैलीमा रमाउने यहाँका नेवार र तामाङ जातिका चाडपर्व, उत्सव, जात्रा, रीतिरिवाज, चालचलनमा आफ्नै मौलिकता झल्किन्छ ।
यहाँका नेवार जाति ‘षोडसो लास्य’ नामका १६ प्रकारका नाचगानका देवतालाई पूजा गर्छन् । चर्या, महाकाली, लाखे नाच, नवदुर्गा नाच, देवी नाच, कुमारी नाच जस्ता नाचमा सुन्दर गायन प्रस्तुत गरिन्छ ।
नेवार जातिले प्रयोग गर्ने लोकबाजा पनि आफ्नै छन् । उनीहरू खीं, मगःखीं, पच्छिमा, बाँसुरी, बय्, भुस्या, छुस्या, धिमे, नेकुबाजा, काः, पोगा, ताः र नाय्खींं आदि प्रयोग गर्छन् । यिनका छुट्टै तर फरक विशेषता जोडिएका छन् ।
यस्ता सामाजिक पहिचान, सभ्यता र संस्कृतिका परिचायक लोकसंगीतको संरक्षण, प्रचारप्रसार र विश्वव्यापीकरणमा भने हामी चुकिरहेका छौं । राज्य तहका साथै सरोकारवाला सबै पक्षबाट यसको संरक्षण र संवद्र्धन अनि प्रचारप्रसारमा प्रभावकारी भूमिका देखिनु अत्यावश्यक छ तर देखिँदैन ।
कतिपय लोकसंगीत हराउने अवस्थामा छन् भने पछिल्लो समय लोकसंगीतका नाममा विकृति र विसंगति मौलाउँदो छ । यसको रोकथाम गर्ने दायित्व पनि राज्यको र सरोकारवालाकै हो । राज्य मौन छ ।
हामीकहाँ भएका विविध जातजाति, भूगोल र संस्कृतिका लोकसंगीत, लोकबाजा र लोकसाहित्यको प्रवद्र्धन गर्न राज्य तहबाटै प्रभावकारी र भरपर्दो कुनै निकाय खडा गर्न आवश्यक देखिन्छ । प्रज्ञाप्रतिष्ठानभित्र सामान्य एउटा विभाग जस्तो देखाएर केवल अल्मल्याउने शैलीबाट लोकसंगीतको विकास र विस्तार हुँदैन ।
हुनत राज्य मौन छ । प्रज्ञाप्रतिष्ठानहरूलाई केही यस्तो अधिकार छ तर ती विशुद्ध लोकसंगीतका लागि क्रियाशील हुन नसक्ने अवस्था भएकाले विशुद्ध लोकसाहित्य र संगीतमै सक्रिय रहनेगरी एउटा प्राज्ञिक निकाय आवश्यक देखिन्छ, जसले नेपाली लोकसाहित्य र लोकसंगीत अनि लोकबाजालाई विश्वस्तरमा फैलाउन सकोस् ।
नेपाली लोकसाहित्य र लोकसंगीतको आफ्नै मौलिकता भए तापनि यो विश्वव्यापी भाषा भएकाले यसलाई खुम्च्याएर राख्नुहुँदैन । यसको आयतन बढेको देखेर लोकसंगीत र लोकसाहित्यकर्मीहरू लगायत सम्पूर्ण नेपालीले गौरव गर्न सकौं ।
(श्रेष्ठ विश्व कीर्तिमानी संगीतकार हुन् ।)