-प्रतीक ढकाल
जापान भन्नेबित्तिकै संसारभरिका मान्छेले जापानलाई चिनाउने एउटा अर्को बिम्बलाई पनि प्रायः सँगसँगै सम्झिन्छन् । अर्थात्, जापान भन्नासाथ जापानीहरूले नै असीम श्रद्धा गरेर विश्वप्रसिद्ध बनाइदिएको त्यहाँको सर्वोच्च चुचुरो माउन्ट फुजीलाई पनि मान्छेले सम्झिहाल्छन् । तर, त्यसको उचाइ समुद्र सतहबाट केवल ३ हजार ७७६ मिटर अग्लो छ ।
माउन्ट फुजीको यो उचाइ नेपालका पाङ्बोचे, दिङ्बोचे, लोबुुचे, गोरक्सेप, लाङटाङ, क्यान्जिन जस्ता अधिकांश हिमाली बस्तीहरूभन्दा धेरै तलको हो । जतिसुकै सम्पन्न र विकसित मुलुक भए पनि फ्रान्सको सर्वोच्च चुली मो ब्लाँ ४ हजार ८०६ मिटर मात्र अग्लो छ । यसरी नै जर्मनीको सर्वोच्च चुली जुग्सपिसको उचाइ २ हजार ९६२ मिटर मात्र छ । स्विट्जरल्यान्डको सर्वोच्च चुली मोन्ते रेसाँ ४ हजार ६३४ मिटर र बेलायतको सर्वोच्च चुली बेन नेभिस १ हजार ३४५ मिटर मात्र अग्ला छन् । त्यति मात्र होइन, ब्राजिलको सर्वोच्च चुली नेब्लिना पिक ३ हजार १४ मिटर, मलेसियाको सर्वोच्च चुली माउन्ट किनाबालु ४ हजार ९५ मिटर, अस्ट्रेलियाको सर्वोच्च चुली माउन्ट कोस्युज्को २ हजार २२८ मिटर र हिवैंहिउँको साम्राज्य फैलिएको यो धरतीको एक मात्र जनशून्य महादेश अन्टार्कटिकाको
सर्वोच्च चुली माउन्ट भिन्सनको उचाइ केवल ४ हजार ८९२ मिटर छ । तर, संसार नै चकित हुने कुरो के छ भने, नेपालमा चाहिँ ५ हजार ८०० मिटरभन्दा कम उचाइ भएको चुलीलाई हिमाल नै मानिँदैन । ५ हजार ७९९ मिटरसम्म उचाइ भएको कुनै पनि चुली नेपालका लागि एक सामान्य ‘डाँडो’ मात्र हो, ‘हिमाल’ होइन; चाहे त्यो जतिसुकै हिउँले छोपिएकै किन नहोस् ।
यसका पछाडि नेपालको आफ्नै तर्क छ, जस्तो कि भारी बोकेको खच्चर पुग्न सक्ने ठाउँ हिमाल हुन सक्दैन । जहाँ पिठ्युँमा भारी बोकेको जोक्पे पुग्न सक्छ, त्यो हिमाल हुँदै होइन । जहाँ मान्छेले मान्छेलाई नै बोकेर पु¥याउन सक्छ, त्यो हिमाल होइन । हिमाल हुन त एक्लो मान्छेको साहस, आँट र धैर्यको परीक्षण हुनुपर्छ, तब मात्र हाम्रा लागि त्यो ‘हिमाल’ हुन्छ ।
त्यसैले, हिमाल मात्र एक यस्तो विषय हो, जसमा नेपाल विश्वका सामुु सधैं प्रथम नै भइरहन सक्छ । हिमाल नै एक यस्तो विषय हो, जसले नेपाललाई कहिल्यै विश्वमा दोस्रो हुनै दिँदैन ।
संसारमा कहिल्यै कसैको अधीनस्थ नभएका विश्वका ११ देशहरूको सूचीमा बरु नेपाल एक्लो छैन, अरू पनि १० वटा देश साथमै छन् । तर, हिमालको कुरो गर्दा त नेपाल विश्वमै एक यस्तो एक्लो नायक हो, जसको विश्व रंगमञ्चमा कुनै प्रतिस्पर्धी नै छैन । अनि, यति गर्विलो र दर्बिलो विषयका बारेमा नेपालको सरकार, नेपाली जनता र नेपालको पाठ्यक्रम निर्माताहरू नै अनभिज्ञ हुनुचाहिँ कुनै साधारण वा क्षम्य हुुन सक्ने कुरै होइन ।
देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने यति ठूलो कुरोका बारेमा पनि केही थाहा नपाईकन बस्नु त यो देशका सरकारका लागि झनै सुहाउने कुरै होइन ।
यो छोटो आलेखमा विश्व सम्पदाका रूपमा समेत रहेको नेपालको यही अतुलनीय र प्रकृतिप्रदत्त सम्पत्तिका बारेमा केही चर्चा गरिने छ, जसको आधारभूत ज्ञान हुनु हामी सबैका लागि जरुरी छ ।
(
१) राजनीतिक अस्तित्व भएका देशहरूको विश्व संस्थाको रूपमा संयुक्त राष्ट्रसंघ रहेजस्तै पर्वतारोहणको दुनियाँको विश्व संस्थाको रूपमा विश्व पर्वतारोहण संघ छ । यसले प्रकाशन गरेको विश्वका ‘टप टेन’ हिमालको वरीयताको सूचीमा रहेका पहिलो अर्थात् सर्वोच्च चुली सगरमाथा (८,८४९ मि.), तेस्रो, कन्चनजंघा (८,५८६ मि.), चौथो, ल्होत्से (८,५१६ मि.), पाँचौं, मकालु (८,४६३ मि.), छैटौं, चोयु (८,२०१ मि.), सातौँ, धवलागिरि (८,१६७ मि.), आठौं, मनास्लु (८,१६३ मि.) र दशौं, अन्नपूर्ण (८,०९१ मि.) गरी १० मध्ये ८ चुली त नेपालमै छन् ।
नेपालमा नरहेका भनेका जम्मा २ चुली मात्र हुन्– दोस्रो वरीयतामा रहेको माउन्ट केटुको नामबाट बढी चिनिने गडविन अस्टिन (८,६११ ीम.) र नवौं, नंगा पर्वत (८,१२५ मि.), जो पाकिस्तानमा अवस्थित छन् ।
(२) यही विश्व पर्वतारोहण संघले दिएको मान्यताअनुसार ८ हजार मिटरभन्दा बढी उचाइ भएका हिमचुलीहरू यो संसारमा जम्मा नै १४ वटा छन् । ती १४ चुुलीमध्ये नेपालमा ८ वटा पर्छन् । तर, नेपाल सरकार यही बिन्दुुमा चुुकिरहेको छ– गणनामा छुटेका आफ्ना ८ हजार मिटरभन्दा बढी उचाइ भएका अरू ६ वटा ठूला हिमालहरूलाई पनि अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नुुपर्छ भन्ने थाहै नपाई बसिरहेको छ ।
यी माथि उल्लेखित ८ वटा नामहरूलाई त त्यो संस्था आफैंले मान्यता दिएको हो । यस्तो अवस्थामा त नेपालले भन्नुपथ्र्यो, ‘तपाईंहरूले हाम्रो कन्चनजंघाको मुख्य चुचुरो (८,५८६ मि.)लाई त विश्वको तेस्रो अग्लो चुलीको रूपमा गणना गरिदिनुभयो । धन्यवाद छ । तर, त्यसैका आसपासमा रहेका ८ हजार मिटरमाथिका अरू ४ वटा चुलीहरू यालुङ्काङ (८,५०५ मि.) अनि कन्चनजंघाकै दक्षिणी चुली (८,४७६ मि.), मध्य चुली (८,४७३ मि.) र पश्चिमी चुली (८,०७७ मि.)लाई त छुटाइदिनुभयो । त्यसरी नै हाम्रो ल्होत्से हिमाललाई त विश्वको चौथो उच्च हिमालको मर्यादाक्रममा राखिदिनुभयो । आभारी छौं । तर, त्यसकै छेउमा लहरै रहेका ल्होत्से सार (८,४१३ मि.) र ल्होत्से मिडल (८,४०० मि.)लाई त छुटाइदिनुभयो नि !’
यसरी संसारमा जम्मा ६ वटा ठूूला हिमाल गणनामा छुटेका छन्, ती सबै नेपालकै छुटेका छन् । राष्ट्रिय गरिमाको अलिकति अर्थ पनि बुझ्ने सरकार हाम्रो देशमा पनि हुन्थ्यो भने आज ८ हजार मिटरमाथिका हिमालको संख्या संसारमा २० हुुने थियो र एक्लो नेपालसँग १४ वटा चुली भएको वैश्विक मान्यता प्राप्त हुन्थ्यो ।
यस्तो हुनासाथ संसारका ‘टप सिक्स्टिन’ हिमालहरूमध्ये दोस्रोबाहेक बाँकी १५ वटा हिमालहरू नेपालमै रहेका मानिन्थे । यो त कुनै ओलम्पिकमा स्वर्ण पदक जित्नुभन्दा सहस्र गुणा ठूलो कुरो हो नि ! तर, सरकारमा बस्नेलाई यस्ता कुरा थाहा भए पो !
(३) नेपालका लागि स्थायी हिमरेखा ५ हजार मिटरको उचाइलाई मानिएको भए तापनि हिमाल हुनका लागिचाहिँ ५ हजार ८०० मिटर वा सोभन्दा बढी उचाइ भएको पर्वत नै हुनुपर्ने नेपालको मान्यताबारे माथि नै चर्चा भइसकेको छ ।
यो गणनाअनुसार अब नेपालमा १ हजार ७९२ वटा हिमाल कायम भएका छन् । नेपालमा पर्यटन मन्त्रालयको स्थापना गराएर पहिलो पर्यटन मन्त्रीसमेत हुुनुुभएका नेपालका प्रथम हिमालविद् डा. हर्क गुरुङसँग जिन्दगीभर हिमालकै खोजीको सहकार्य गर्नुुभएका नेपालका अर्का प्रबुुद्ध हिमालविद् तथा नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा भन्नुहुन्छ, ‘हिमालको यो संख्या र तिनका नामहरूलाई नेपाल सरकार (मन्त्रिपरिषद्)को २०७१ वैशाख २५ गते बसेको बैठकले एजेन्डा नम्बर १९ मा पारित गरेर यसको स्वामित्व लिइसकेको छ । तर, लज्जाको कुरो, नेपाल सरकारसँगै यसको व्यवस्थित अभिलेख छैन ।’
सम्पत्ति चिने पो अभिलेख राम्ररी राखिन्छ त !
यसैबाट थाहा हुन्छ, नेपालको सरकारले हिमाललाई कति महत्त्व दिएको छ भन्ने कुरो । अनि, हामी जनता पनि उस्तै छौं– दबाब दिने जानकारी नै छैन । यिनै हिमालको राम्ररी मार्केटिङ भएर विदेशी पर्यटक ओइरिन थालेपछि नेपालले आर्थिक समृद्धि हासिल गर्ने हो । नेपालले विश्वमा एकछत्र राज्य गर्न सक्ने विषयवस्तु भनेकै हिमाल मात्र हो ।
तर, विदेशमा नेपालको छवि उज्ज्वल पार्न पठाएका राजदूतहरूको हालत उस्तै छ । १० वटा हिमालका नाम पनि भन्न नसक्ने, पञ्चध्यानी बुद्धलाई पनि नचिन्ने, देशै नबुझेका पार्टीका झोलेहरूलाई यो भूमिका दिएर पठाइएको छ । पाठ्यक्रम बनाउने कथित विज्ञहरूले त झनै नाम्चे बजारसम्म पुुग्ने पाउकष्ट पनि गरेका हुँदैनन् । अनि, कहाँबाट थाहा होस् विद्यार्थीवर्गलाई हिमालको महत्त्व ? कहाँबाट आओस् यस्तो गौरवी चेतना ?
हाम्रा नीति निर्माता, हाम्रो पाठ्यक्रम, हाम्रो प्रशासन र हाम्रो सरकारको हालत अब पनि यस्तै लथालिंगे पाराकै रहिरहने हो भने भावी पुुस्ताले पनि हिमाल चिन्न पाउने छैन । भावी पुुस्ता पनि आजको सरकार जस्तै आफ्नै सम्पत्ति नचिनेर सुुनको कचौरोमा निकेलको सिक्का भिक्षा मागिरहने नै भएर निस्कने छ । आफ्नै नाभीमा भएको बिनाको सुुगन्ध पहिचान गर्न नसकेर भौंतारिइरहने कस्तुुरीकै नियतिमा पुुग्ने छ ।
तसर्थ, नेपालीले हिमालको अर्थ, महिमा र गरिमा बुुझौं र सम्पन्न हुुने आफ्नो बाटो आफैं बनाउन सुुरु गरौं नत्र ढिलो हुुने छ र इतिहासले हामीलाई कहिल्यै क्षमा गर्ने छैन ।
(नेपाल सरकारका पूर्वसहसचिव ढकाल चर्चित र लोकप्रिय नियात्राकार हुन् ।)