२०८२ वैशाख १ गते सोमवार / Apr 14 , 2025 , Monday
२०८२ वैशाख १ गते सोमवार
Ads

वेदको विश्वव्यापीकरण आवश्यक

draupadi film
मध्यान्ह
२०८१ चैत ३१ गते ०९:०६
वेदको विश्वव्यापीकरण आवश्यक

-रूपक अलङ्कार
वेद प्राचीन मानव सभ्यताले आर्जन गरेको अनुभव र अनुभूतिको विशाल भण्डार हो । वेद शब्दको अर्थ नै ज्ञान हो, सम्यक् विचार हो । ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी ४ वटा संहिताहरू सुनिए तापनि वैदिक साहित्यको परम्परामा संहिता, ब्राह्मण, आरण्यक र उपनिषद्को समष्टिलाई वेद भनिन्छ । यस लघु आलेखमा वैदिक विषयलाई लिएर चञ्चुप्रवेश मात्र गर्ने प्रयास गरिएको छ । 

वेदमा प्रकृति चिन्तन
जीवन र जगत्को नैरन्तर्यका लागि प्रकृतिको अर्काे विकल्प नभएकाले मानिसलगायत सम्पूर्ण स्थावर जंगमको सृष्टि, स्थिति र लयात्मक पद्धतिको नियामक र विधायक पनि प्रकृति नै हो । प्रकृतिको स्थुलसूक्ष्मात्मक सहस्र अवयवहरूमध्ये दृश्य जगत्मा वर्तमान ग्रह, नक्षत्र, नदी, पर्वत, सूर्य, जल, वायु वनस्पति तथा प्राणीहरू प्रकृतिका मूर्तरूप हुन् ।

दार्शनिक तवरले प्रकृतिको तात्त्विक चिन्तन यस आलेखको आवश्यकता  होइन, यहाँ त जल, जमिन, जंगल, वायु, उषा आदि प्राकृतिक अंगहरूलाई वेदले कुन रूपमा हेरेको छ भन्ने कुरा हेरिन्छ । 

साहित्यको सौन्दर्यवर्धनमा प्रकृतिको भूमिका सर्वग्राह्य र सर्वस्वीकार्य छ । त्यसका अतिरिक्त प्राणीको जीवनलाई रसिलो, भरिलो र सौन्दर्यपूर्ण बनाउनका लागि त प्रकृतिको आनिवार्य आवश्यकता छ । विश्वमा विकसित कुनै पनि सभ्यता र दर्शनले प्रकृतिको विरलै अपमान गरेको होला । त्यसमाथि वैदिक मानवले प्रकृतिलाई माता–पिता र देवताका रूपमा सम्मान गरेका छन् ।

प्रकृतिको हित चिताउनु भनेको आफ्नै हित चिताउनु हो । प्रकारान्तरले आफ्नै कल्याण गर्नु हो । पुँजीवादी वर्तमानमा प्रकृतिको निर्मम दोहन भएको छ । प्रकृतिलाई नष्ट–भ्रष्ट बनाउनका लागि होडबाजी चलेको छ । चरम भौतिकवाद र उपभोक्तावादले गाँजेको अहिलेको समयमा मानिस सम्पत्तिका लागि विवेकहीन हुँदै गएको छ ।
पैसाका लागि सार्वजनिक सम्पत्ति मात्र नभएर परिवारलाई बेच्न पनि पछि नपर्ने कृतघ्नता मानिसको परिचय बन्दै गएको छ । सम्पत्तिका अगाडि जस्तोसुकै नीच कर्म गर्ने व्यक्ति पनि गन्यमान्य र पूज्य हुने स्थिति बनेको छ । सम्पत्ति संग्रह गर्ने नाममा जल, जंगल, खानी आदिको उत्खनन विक्री, वितरण, चोरी–पैठारीका कारण पृथ्वीको शक्ति र स्वरूप क्षीण हुँदै गएको छ ।

भूमण्डलीकरणको आवरणमा पुँजीवादी मुलुकहरू आफ्नो देशको प्राकृतिक स्रोेत र साधन रित्याएर विकासोन्मुख तथा अविकसित देशको अक्षत प्रकृतिमाथि ¥याल काढिरहेका छन् र गिद्दे नजर लगाइरहेका छन् । तिनले देखाएका चकाचौंधका अगाडि वेदको आकाशमा शान्ति होस्, पृथ्वीमा शान्ति होस्, जलमा शान्ति होस्, औषधि शान्त होऊन् (द्यौः शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः) जस्ता दिव्यवाणी धिमा भएका छन् ।

धरती आमा हुन्, हामी उनका सन्तान हौं (माता भूमिः पुत्रो–हम् पृथिव्याः) भन्यो भने हाँस्ने मान्छे जन्मिएका छन् । साहित्य भनेको सात्त्विक चिन्तनको उत्तम अभिव्यक्ति हो, त्यस कारण यसले शाश्वत सत्यलाई वहन गरेको हुन्छ । सात्त्विक चिन्तनको निर्विवाद उदाहरण वैदिक ऋचा हुन् ।

प्रकृतिलाई देवताका रूपमा पूजा तथा श्रद्धा गर्ने परम्पराको स्रोत वेद हो । यस कारण प्रकृति संरक्षणमा वेदले अघि सारेको मार्ग अत्यन्त प्रेरणादायी छ । वैदिक ऋषिहरूको नजरमा पृथ्वी, जल, तेज, वायु, आकाश प्रकृतिका स्थूल रूप तथा तिनका सूक्ष्म रूप सारा देवता नै हुन् । प्राणीहरूको कल्याण गरुन्जेल तिनले नै देवताको सम्मान पाएका छन् भने प्राणीको अहित हुनेगरी अग्नि वायु आदिमा मात्रागत वृद्धि भएमा यिनैले असुर वा राक्षसको उपाधि र त्यसअनुसारको निन्दा पनि पाएका छन् । यद्यपि, प्रकृतिको आवश्यकता र अनिवार्यताको बोध भने वेदले उच्च तहमा गरेको छ । 

यज्ञ, आवास तथा कृषिका लागि खनजोत गर्दा, हाँगाबिँगा काट्दा पनि ‘पृथ्वी, तिमीलाई दुख्यो कि ?’ भनेर माफी माग्ने ऋषिहरूले हामीलाई प्रकृतिप्रति कृतज्ञ हुन, सचेत हुन र आवश्यकता बोध गर्न अनुरोध गरेका छन् । पढ्दा यस्ता कुरा भावुकताका उपज लागे पनि यिनले मनोवैज्ञानिक रूपमा हामीलाई बल प्रदान गरेका छन् । 

वर–पीपललाई देवत्व प्रदान नगरिएको भए चौतारीमा बसिरहेको मानिस पिसाब फेर्न अलि पर जाँदैनथ्यो होला । त्रासकै कारण भए पनि चौतारीको संरक्षण भयो नि ! वेदको प्रकृति संरक्षणको चेतना विभिन्न रूपबाट हाम्रो जीवनसित जोडिएको छ भन्ने कुराको यो एउटा उदाहरण मात्र हो ।

‘चौतारीमा वर–पिपलको बोट नौलो लगाऊँ, छाहारीको तलतिर बसी गीत यौटा म गाऊँ’ भन्ने माधव घिमिरेको भावनात्मक नाभी वेदको ‘वनस्पतये स्वाहा’सित जोडिएको देख्न सकिन्छ । यसरी वेदले अवगत गरेको प्रकृतिको सौन्दर्य चिन्तन हाम्रो साहित्य, संस्कृति र जीवन व्यवहारसित लपक्कै टाँसिएको छ । 

वेदमा सदाचार
सदाचारलाई धर्मसित तादात्म्य गरी हेर्ने र धर्मको सम्पूर्ण भार आचारमा थोपर्ने चलन चलिआएको छ । यसबाट आचार र धर्मबीचको पार्थक्य पहिचान गर्न अप्ठ्यारो परेको देखिन्छ । कुनै धर्ममा आस्था नराखे पनि मानिस सदाचारी हुन सक्छ र धार्मिक रङ बोकेर हिँडेको मानिस पनि भ्रष्ट र दुराचारी हुन सक्छ । जो सदाचारी छ, उसलाई धर्मको ल्याबमा टेस्ट  गर्नु पनि आवश्यक हुँदैन ।

धर्म आस्था र विश्वाससित जोडिएको हुन्छ र यो साम्प्रदायिक संरचनाले युक्त हुन्छ । आचारको नाता व्यक्ति वा समाजसित मात्र गाँसिएको हुन्छ । सदाचारीहरूको समाज सभ्य र सुसंस्कृत हुन्छ । 

आपसी सद्भाव, सामाजिक उत्तरदायित्व, सामाजिक कार्य, दान, सहकार्य जस्ता कुराहरू सदाचारभित्र पर्छन् । सबैको कल्याण, उन्नति र प्रगतिको कामना सदाचारका उन्नायक हुन् । सबैको मंगल होस्, आपसमा ईष्र्या नहोस् जस्ता शुद्ध भावनाले ओतप्रोत ऋचाहरू वेदमा प्रशस्त पाइन्छन् । 

दानलाई स्वर्ग वा धर्मसित जोडेर हेर्ने परम्परा भए तापनि दान छुट्टै मानवीय मूल्यको उपज हो । आफूभन्दा कमजोर तथा दरिद्रलाई दान गर्नु मानवीय दायित्व हो । अन्न, वस्त्र, श्रम तथा द्रव्य दानबाट बडाबडा सामाजिक कार्य भएका छन् ।  मठमन्दिर, पाटीपौवा, धारा, चौताराहरू दानकै प्रतिफल हुन् ।

व्यक्तिगत स्वार्थ तथा कर्मलाई परित्याग गरी जो सामाजिक जीवन बाँच्छ, त्यस्तालाई समाजका मानिसले दान गरेर उत्प्रेरित गर्नुपर्छ । जनताका पक्षमा भएका सयौं अभियान र आन्दोलनहरू जनताको दान र चन्दाबाटै सफल भएका उदाहरण हामीसित छन् । दानले सामाजिक प्रतिष्ठालाई उँचो त बनाउँछ नै, मानसिक शान्ति तथा आनन्द पनि प्रदान गर्छ ।

त्यस कारण दान जस्ता सामाजिक कर्मलाई वैदिक ऋषिहरूले उच्च महत्त्व दिएका छन् । सय हातले संग्रह गर, हजार हातले दान गर (शतहस्त समाहर सहस्रहस्त सङ्किर) । जसले नबाँडी खान्छ, त्यस्तो मानिस पापी हुन्छ (केवलाघो भवति केवलादी) । कसैको सम्पत्तिमाथि पनि द्रोह नगर (मा गृधः कस्यचिद्धनम्) जस्ता वैदिक ऋचाहरूले समाजमा मिलीजुली बस्न र बाँडीचुँडी खान सिकाएका छन् । 

संसारका प्रायः सभ्यता र संस्कृतिले दानलाई महत्त्व दिएका छन् त्यस कारण दान मानवीय स्वभाव र दायित्व हो । यसलाई निश्चित धर्मसित गाँसेर मात्र हेर्नुपर्छ भन्ने छैन । अलि बढी चुइयाँ तथा कृपण मानिसलाई पनि दानबाट प्राप्त हुने आनन्दबाट लाभान्वित बनाउनका लागि दान गरे धर्म हुन्छ भनी दानलाई धर्मसित जोडिएको हो ।
वेदले पनि दानलाई प्राथमिकता दिएको छ । वेदले अगाडि सारेको दानको अवधारणामाथि उभिएर दधिचि, रन्तिदेव, कर्ण आदिका आख्यान लोकप्रिय भएका हुन् । 

समाज यतिखेर शंकापङ्कमा भासिँदै गएको छ । विश्वासको अभाव यतिबेला मानव समाजमा देखिएको कठोर संकट हो । वेदले हामीलाई एकआपसमा विश्वास र भरोसा राखेर व्यवहार गर्न सिकाउँछ ।  एकले अर्कालाई मित्रको भावनाले हर्नुपर्ने सत्यको बोध गराउँछ । सबैलाई मित्रको आँखाले हेरौं (मित्रस्य चक्षुषा समीक्षमहे) । हाम्रो मन र संकल्प समान होस् (समानि व आकूती समानि हृदयानि वै) जस्ता सूक्तिले सत्य संकल्प, भ्रातृत्व, बन्धुत्व, सामाजिक उन्नति र उद्बोधनका सन्दर्भमा कालजयी उद्घोष गरेका छन् ।

संसारका दर्शन र विचारको उद्देश्य मानिसको सर्वतः समुन्नति वा सुख हो भने त्यस सिद्धान्तको प्रथम प्रवाचक वैदिक ऋषिहरू हुन् भन्ने कुरा उनीहरूका ऋचाले बताइरहेका छन् । 

वेदमा विश्वकल्याण
वेदलाई कुनै पूर्वाग्रहले ग्रस्त भएर हेर्नु जरुरी छैन किनभने माध्यमिक तथा आधुनिक समाजमा देखिएजस्तो जात, धर्म, सम्प्रदाय तथा मतमतान्तरको खिचडी वेदमा पाइँदैन । सत्यासत्य तथा न्यायान्यायलाई अवश्य पनि वेदले पक्षपात गरेको छ अन्यथा जन्मादिलाई कारण देखाएर मानिस–मानिसबीचमा वैमनस्य सिर्जना गर्ने काम वेदले गरेको छैन ।

समाजको विकास र परिवर्तनका क्रममा वेदलाई कुनै वर्गले अंगीकार र कुनै वर्गले बहिस्कार गरे होलान् तर जहाँ मानवोपयोगी विचार देखिन्छ, त्यहाँ समस्त मानवकै कल्याणका लागि कामना गरिएको पाइन्छ । समाजवादी वा साम्यवादी पूर्वीय चिन्तनको बीजभूमि वेद नै हो । 

वैदिक ऋचाले भन्छ, ‘भद्रं कर्णेभिः श्रुणुयामः (हाम्रा कानले राम्रो कुरा सुनून्), आँखाले राम्रो देखून् । यहाँ तिमी र उनीलाई छाडेर  सम्पूर्णको दृष्टिबाट प्रथम पुरुष बहुवचन प्रयोग गरेर सबैको आवाज मुखरित गरिएको छ ।
ज्ञान, चिन्तन र मननलाई वेदले अत्यन्त महत्त्व दिएको छ । वेदको शाब्दिक अर्थ पनि ज्ञान नै हो । ज्ञानबिना मुक्ति सम्भव छैन (ऋते ज्ञानान् नमुक्तिः) भन्ने कुरा जानेरै सरस्वतीले हामीलाई सम्पन्न बनाऊन् (सरस्वती नः सुभगामयस्करत्) भनेको हो वेदले ।

अज्ञानता र चेतनाहीनताकै कारण संसारका मानिस दुःखी भएका हुन् भन्ने कुरालाई संसारका जुनसुकै उन्नत दर्शनले स्वीकार गरेका छन् । कसले पढ्ने र कसले नपढ्ने भन्ने विषयमा वैदिक संहिताले महत्त्व दिएको छैन । त्यसैले ज्ञान सबैका लागि अपरिहार्य छ भन्ने कुरा स्वयं प्रकाश्य छ । 

वेदको यात्रा ज्ञान र चिन्तनको यात्रा हो । तमाम अन्धकारलाई जितेर ज्योतिर्मयतातिर जान, असत्यलाई चिरेर सत्यको आभामा हराउन, मृत्यु वा अधोगतिलाई रोकेर उच्चता तथा अमरतातिर जान वेदले हामीलाई आग्रह गरेको छ (असतो मा सद्गमय । मृत्योर्मा आमृतं गमय । तमसो मा ज्योतिर्गमय ।) । निरन्तर जीवनप्रति विश्वस्त हुन र उज्यालोतर्फको यात्रामा मानिसलाई नित्य निरन्तर प्रेरित गर्ने काम वेदले गरेको छ । यसर्थ हाम्रा वेदलाई विश्व कल्याणका खातिर संसारभर कसरी प्रचार गर्ने र यसबाट विश्वका मानवलाई कसरी लाभान्वित गर्न सकिन्छ भनेर सोच्नु र सोअनुसारका योजना, नीति बनाउनु उत्तम हुने छ । 
 
(नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापनरत उपप्राध्यापक अलङ्कार वेदाचार्य हुन् ।)
 

ADV

सम्बन्धित खबर

Advertise