–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
लोकतन्त्र सधैं शुभकामना दिन व्यस्त छ, नयाँ वर्ष लाग्यो शुभकामना, इद आयो, नेपाल सम्वत् आयो, दसैं–तिहार केके आयो, क्यालेन्डरहरू पल्टिए, सबैजसो शुभकामनामै व्यस्त छन्, तर शुभ कर्म, शुभ काम गर्नेहरूको सधैं खडेरी छ देशमा । शुभकामनाले पेट भरिएन नेपालीको, न आङमा कपडा नै, बरु बन्दी बाकसमा फर्कने खाडी जाने २–४ हजार कमाउने ध्याउन्नमा छन् र त आज गाउँ खाली छ, शहर बेरोजगार छ, गोठका किला दाम्ला निदाएका छन्, संघीयता सिंहदरबार वरिपरि घुम्छ, लोकतन्त्रको डोजर गाउँगाउँतिर ।
शिक्षकदेखि किसानसम्म र व्यापारीदेखि चिकित्सकसम्म, सहकारीदेखि लघुवित्तपीडित अनि मिटर ब्याजपीडितसम्म आन्दोलनमै त छन्, मैनबत्तीको जुलुस, कालो मास्कको जुलुस, टर्च लाइटको जुलुस, सिटी जुलुस केके जुलुस नाम दिएर साध्य छैन ।
भान्साबाट थालहरूको जुलुस आए पनि महँगीको मारमाथि बच्ने उपाय हामीसँग भएन । न उत्पादन छ, न त खर्च कम गर्ने क्षमता नै छ हामीसँग । समय पहिरो लागेसँगै मनको पहरो सधैं गइरहेको छ । नेपालीहरूको आँसु लोकतन्त्र, न गणतन्त्र वा संघीयताले नै पुछ्न सकेको छ बरु यसका संचालकहरू हर्षाश्रु बगाउँदै छन् विप्रेषण पाएर, ठेक्कापट्टा पाएर, सार्वजनिक पदमा हालिमुहाली गर्न पाएर, श्रीमती, श्रीमान्ले पदभार ग्रहण गरेसँगै गर्लफ्रेन्ड वा ब्वाई फ्रेन्डहरूले समेत ओहदाका ठूलाठूला पद पाएर ।
सुनिँदै छ, नेपाल राष्ट्र बैंकका गभर्ननरको लिलाम बढाबढ हुँदै छ । सुटकेस बा ब्रिफकेसको साँचो बैंकमै त हुन्छ, नोट त्यहीँबाट छापिन्छ, नोट र भोट लोकतन्त्रमा एकअर्काका पर्याय भएको अहिले नयाँ कुरो होइन । जातभात मिल्नुपर्छ, कामुसामुको कुरो गोली मारिदिए हुन्छ, अतीतले पनि पाठ सिकाएकै हो ।
२ ठूला हात्तीहरू मिलेपछि यहाँ सबै ठीक हुन्छ, अन्य भारेभुरे बाद । सबैलाई करिब थान्को लगाइसकिएको छ, कोही कारागार चलान, कोही नजरबन्द, कोही भूमिगत, कोही घेराबन्दी, बाँकी चुरफुर गर्नेलाई बार्गेनिङ गर्न मिलिहाल्छ । बस्, लोकतन्त्र लोभतन्त्रमा परिणत भएपछि शुभकामना दिएर वर्ष चलिहाल्छ, चौरासीमा अर्कै रणनीति । त्यतिबेलासम्मलाई ढुक्कको राजनीति, यसलाई लाजनीति भन्नेहरू भनिरहून्, सबै उही ड्याङका मूलाहरू नै भइसकेका छन् ।
शिक्षक झुक्ने, उद्यमी झुक्ने, व्यापारी झुक्ने, किसान झुक्ने, कर्मचारी झुक्ने, वकिल, न्यायाधीश, डृाइभर, विद्यार्थी, राष्टृ सेवक, तमाम पेसाकर्मी झुक्ने लोभतन्त्रमा नागरिक नझुक्ने कुरै छैन ।
संगठितको हालत त यस्तो छ भने निरीह र असंगठितको हालत देशमा के हुन्छ ? बस्, यत्ति थाहा छ– नरोएसम्म र छातीमा बच्चाले लात नहानेसम्म आमा दूध दिन बाध्य नहुने हाम्रो संस्कृति विकसित भइसकेको छ । संस्कृति र संस्कार पनि लोभतन्त्रमा झुकिसकेको छ ।
ट्रम्पले उत्पापदित वस्तुमा १०४ प्रतिशतको भन्सार ट्यारिफले चीनलाई झुकाइसकेको सन्दर्भमा छिमेकीले हामीलाई झुकायो भन्दा अत्युक्ति मान्ने कुरो भएन । हाम्रो त झन् उत्पादन नै छैन, उसकै कोटामा निर्भर छौं । विचार पनि उसैको र १२ बुँदे पनि उतैको, लोकतन्त्र, गणतन्त्र सबै अरूकै र धर्मनिपेक्ष पनि आफ्नो नभएकाले झुक्दिनँ, सोझै बस्छु भन्नु जोकर फाल्टु हुनु मात्र हो ।
आन्दोलनकारीहरूले आन्दोलनबाट देशमा परिवर्तन गरे पनि क्रेडिट अरूकै, नगरे पनि क्रेडिट पुरानै क्या मज्जाको लोकतन्त्रले शुभकामनाबाहेक जनताको दैलोमा कुनै सेवा वा वस्तु आपूर्ति गरिदेला, यो सोच्नु हाम्रो भूल हुने छ । इतिहासको विरासत बोकेकाले त सकेनन् भने हिजो अस्ति उम्रिएकाले केही गर्लान् नसोच्दा राम्रो होला ।
मेलम्ची खाने, वाइडबडी खाने, ललिता निवास खाने, बाँसबारी खाने, बालमन्दिर खाने, भृकुटी कागज खाने, रोजिन एन्ड टर्पेन्टाइन खाने, हेटौंडा, उदयपुर सिमेन्ट खाने, गोरखकाली रबर खाने, ट्रली बस, रोप वे खाने, साझा यातायात खाने, हरिसिद्धि इँटा खानेलाई औषधि लिमिटेडको सन्चोलाई खाएर विसन्चो देश देख्न कुरै उल्झन हुन्न ।
देश रोगी छ, एन्टिबायोटिक दिएर रोग निको नहुने भएको छ । शल्यक्रिया गर्ने क्षमताका चिकित्सकहरू देशमा देखिएनन्, सबै बिकेका र लोभतन्त्रको तर मारिसकेका मात्र देखिए ।
धर्मनिरपेक्ष र संघीयता ठीक छ भन्दै अन्तर्राष्ट्रिय फोरमहरूमा बोल्ने र उपल्लो पद लिनेहरू अहिले बेठीक भन्दै छन् र तिनको गुह्य बुझिसकेका हस्तीहरू बिस्तारैबिस्तार्र बोलीबाट काउन्टर दिँदै छन् भने गुह्य बुझ्न बाँकीहरूलाई ताडनाको प्रहार राज्यलाई अवगतै भएको विषय बनेको छ, भागाभागको अवस्था छ तिनको ।
नयाँ वर्ष लाग्छ, आन्दोलनको रापताप, बिस्तारै सेलाउँछ, लोकतन्त्रका नायकहरूले सबैको गुढ रहस्य बुझिसकेका छन् । नवपुस्ता विदेश भासिने, केही पुस्तालाई राजनीतिक रोजगारी मिल्ने, बाँकी पुस्ता कराएर केही नहुने देशका नायकहरूले सबैको नाडी छामिसकेकाले मनपरी गर्न अभ्यास भइसकेको छ तिनको ।
राज्य दोहन गर्न सिालु छन् ती, बेलाबखत हामी छौं, चिन्ता नलिनू भन्दै गोहीको आँसु पनि बगाउन तल्लीन छन् । देशले भने शुभकामना होइन, शुभ काम खोजेको हो, अहिलेसम्म शुभ कर्म वा शुभ काम गर्न जीउ ज्यान आहुति दिने कोही आएन, किन होला ? नेपाली धर्तीमा एक सिंगो र जिउँदो जंगबहादुरको आवश्यकता छ, जसले देश र जनताबाहेक अरू नहेरेको होस् ।