२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

गाँजाले खोल्न सक्छ नयाँ सम्भावना

draupadi film
२०८२ वैशाख १ गते ०६:०५
गाँजाले खोल्न सक्छ नयाँ सम्भावना

–सन्देश अर्याल

गाँजा निकै बहुउपयोगी वनस्पति हो । गाँजाका पात, फल, फूल सबै औषधिका रूपमा प्रयोग हुन्छन् । बहुउपयोगी यो वनस्पतिको प्रयोग प्राचीनकालदेखि नै औषधीय, धार्मिक तथा मनोरञ्जनात्मक रूपमा हुँदै आएको पाइन्छ ।

यसलाई चिकित्सकीय हिसाबले दुखाइ कम गर्ने, अनिद्रा हटाउने तथा मानसिक स्वास्थ्य समस्यामा उपयोग गरिन्छ भने परम्परागत रूपमा साधु–सन्तहरूले धार्मिक साधनाका रूपमा प्रयोग गर्ने गरेका पाइन्छ ।

तर, बहुयोगी भए पनि यो वनस्पति नेपालमा वैधानिक हिसाबले प्रयोगमा छैन । उत्पादन, प्रयोग र व्यापारका हिसाबले निकै सम्भावनायुक्त भए पनि कानुनी उल्झनका कारण यसबाट लाभ लिन सकिएको छैन । यो लेखमा नेपालमा उत्पादन, प्रयोग र व्यापारका सन्दर्भमा गाँजाको सम्भावनाबारे चर्चा गरिएको छ । 

नेपालमा गाँजा

नेपालमा सदियौंदेखि नै गाँजा खेती वैध थियो । सांस्कृतिक र चिकित्सकीय हिसाबले महत्त्वपूर्ण भएका कारण यो अनिवार्य जस्तो थियो । तर, सबै परिपाटीलाई बिथोल्दै विक्रमको २०३० को दशकमा कानुन नै बनाई यसलाई अवैध घोषित गरियो । त्यसपश्चात् यसको उत्पादन, प्रयोग र व्यापारलाई करिब पूर्ण रूपमै निरुत्साहित गरियो ।

गाउँगाउँबाट यो खेतीलाई निर्मूल पार्ने अभियान चलाइयो । त्यसयता गाँजा उत्पादन, प्रयोग र विक्री वितरण गरेकै आधारमा थुप्रै नागरिक कानुनी कारबाहीको फन्दामा समेत परे । त्यसअघिसम्म नेपालमा गाँजा सेवन गर्न लाइसेन्स प्राप्त पसलहरू संचालनमा थिए । सँगै, गाँजा सेवन गर्नकै लागि विदेशी पर्यटकहरू नेपालमा आउने गर्थे ।

यद्यपि, प्रतिबन्धको ४५ वर्षपछि गाँजालाई वैधानिक बनाउने बहस पुनः सुरु भएको छ । केहीले व्यापारिक दृष्टिकोणले यसलाई खुल्ला गरिनुपर्ने माग राखेका छन् भने केहीले औषधीय तथा औद्योगिक प्रयोजनका लागि खुल्ला गर्नुपर्ने माग गरेका छन् ।

विशेषगरी ५ वर्षअघि सन् २०२० मा संयुक्त राष्ट्रसंघले गाँ(जामाथिको प्रतिबन्धलाई खुकुलो बनाएसँगै नेपालमा गाँजाको सन्दर्भमा बहस छेडिएको हो । राष्ट्रसंघमा गाँजाबारे मतदान हुँदा नेपालले पनि पक्षमा मतदान गरेको थियो । 

नेपालको संसद्मा २०७५ फागुनमा पहिलो पटक गाँजालाई वैधानिक बनाउनेगरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको थियो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ४६ सांसदले सोसम्बन्धी प्रस्ताव दर्ता गरेका थिए, जसमा गाँजालाई खुल्ला गरी यसको उपयोगलाई प्रोत्साहन गर्ने प्रस्ताव गरिएको छ । तर, विभिन्न कारणले उक्त प्रस्ताव अलपत्र पर्न पुग्यो । 

पछिल्ला केही वर्षका बजेटमा सोबारे सम्बोधन गर्नेगरी विषयवस्तु समेटिएको भए पनि त्यसले पूर्ण आकार ग्रहण गर्न पाएको छैन । कानुनी जटिलताका कारण बजेटमा समेटिएका घोषणाहरू व्यवहारमा कार्यान्वयन हुन सकेका छैनन् । अझै पनि कानुनी हिसाबले नेपालमा गाँजाको उत्पादन, उपयोग र बजारीकरण अवैध छ । 

के छ बाह्य अनुभव ?

‘महाशक्ति’को ट्याग भिरेको अमेरिकामै पनि गाँजाको उत्पादन, उपयोग र व्यापारीकरण करिब खुल्ला छ । त्यहाँको संघीय सरकारले अझै गाँजालाई त्यति खुल्ला गर्ने नीति नलिए पनि राज्य तहमा खुल्ला गरिएको छ । धेरैजसो राज्यहरूले मनोरञ्जनात्मक र चिकित्सकीय प्रयोजनका लागि यसको उपयोगलाई वैधानिक बनाइसकेका छन् ।

अमेरिकाका मुख्य राज्यहरू वासिंगटन डीसी, न्युयोर्क, क्यालिफोर्नियासहितका राज्यहरूमा गाँजा खुल्ला छ । अहिलेसम्म २० भन्दा बढी अमेरिकी राज्यहरूले मनोरञ्जनात्मक साधनका रूपमा गाँजालाई वैधानिक बनाएका छन् भने ३० भन्दा बढी राज्यहरूले चिकित्सकीय प्रयोजनका लागि गाँजा प्रयोग गर्न दिएका छन् ।

वैधानिक बनाएका अमेरिकाका राज्यहरूमा गाँजा उद्योगले आर्थिक रूपबाट पनि ठूलो फाइदा पुर्‍याएको पाइन्छ । राज्यहरूले गाँजाबाट ठूलो मात्रामा कर संकलन गर्ने गरेका छन्, जुन शिक्षा, पूर्वाधार र जनकल्याणका कार्यक्रमहरूमा खर्च गरिएको पाइन्छ । उदाहरणका लागि, कोलोराडोले मात्र पछिल्लो १ दशकको बीचमा करमार्फत २ अर्ब डलरभन्दा बढी राजस्व संकलन गरेको छ ।

युरोपका पनि अधिकांश मुलुकहरूमा गाँजाको उत्पादन, विक्री वितरण र प्रयोगलाई खुल्ला गरिएको छ । कतिपयले मनोरञ्जनसहित धेरै खालका प्रयोजनका लागि खुल्ला गरेका छन् भने कतिपयले चिकित्सकीय र बाह्य निकासीका लागि मात्र खुल्ला गरेका छन् ।

जर्मनी, लक्जेम्बर्ग, माल्टा, नेदरल्यान्ड्स, स्पेन र पोर्चुगल करिब पूर्ण खुल्ला भएका देश हुन् भने फ्रान्स, इटाली, युनाइटेड किंगडम, पोल्यान्ड, ग्रिस, डेनमार्क, नर्वेलगायत चिकित्सकीय प्रयोजनका लागि मात्र खुल्ला भएका देश हुन् ।

वैधानिक भएका देशहरूमा गाँजाबाट ठूलो मात्रामा कर संकलन हुने गरेको छ । सँगै, ठूलो मात्रामा रोजगारी पनि सिर्जना भएको पाइन्छ । नेदरल्यान्ड्स गाँजा संस्कृतिकै कारण पर्यटक भित्र्याउने मुलुकका रूपमा विकसित भइरहेको छ । 

नेपालमा सम्भावना कति ?

विज्ञहरूका अध्ययनलाई केलाउँदा, नेपाल गाँजा उत्पादनका लागि निकै नै महत्त्वपूर्ण क्षेत्र हो । हिमाली र चिसो हावापानी भएका कारण यहाँको गाँजाको गुणस्तर विशेष प्रकृतिको छ । प्रतिबन्धअघि यहाँको गाँजा अमेरिका र युरोप निकासी हुने गथ्र्यो । अमेरिका र युरोपले यहाँको गाँजालाई पहिलो प्राथमिकतामा राख्ने गरेका तथ्य भेटिन्छ ।

सँगै, अध्ययनहरूले देखाएअनुसार उत्पादनका हिसाबले नेपालको हावापानी गाँजाका लागि निकै अनुकूल छ । यहाँ गाँजा उत्पादन गर्न अन्य देशहरूको तुलनामा लागत कम लाग्छ भने गुणस्तरीयताका हिसाबले पनि उच्च कोटिको हुन्छ । 

बहुउपयोगी गाँजालाई कच्चा रूपमै र प्रशोधन गरी विभिन्न रूपमा विक्री वितरण गर्न सकिन्छ, जसका आधारमा एकातिर कृषि क्षेत्रमा लाग्ने ठूलो संख्यालाई व्यावसायिक बनाउन सकिन्छ भने अर्कातर्फ गाँजाकै विभिन्न वस्तुहरू उत्पादन गर्न उद्योगहरू खोल्न सकिन्छ । 

प्रतिवेदनहरूलाई हेर्दा, विश्व बजारमा अहिले गाँजा र भाङजन्य पदार्थको तेलको माग अत्यधिक मात्रामा छ । ब्युटी प्रोडक्टमा पनि यसको व्यापक प्रयोग हुने गरेको पाइन्छ । पेय पदार्थमा पनि यसको उत्तिकै प्रयोग हुने गरेको छ । रक्सीरहित नशालु पेय पदार्थ बनाउन यसको प्रयोग भएको पाइन्छ । 

युरोप, अमेरिकालगायतको उदाहरण हेर्दा, गाँजाबाट नेपालले ठूलो आर्थिक लाभ प्राप्त गर्न सक्छ । नेपालमै भएका अध्ययनलाई हेर्दा, गाँजाकै उत्पादनबाट नेपालले व्यापारघाटा घटाउन सक्छ । दक्षिण अफ्रिकी देश पोन्डाल्यान्डको उदाहरण हेर्दा नेपालले गाँजाबाट ठूलो आर्थिक फड्को मार्न सक्छ । 

निष्कर्षमा, नेपालसँग आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सीमित आधार छन्, जसमा गाँजा खेती पनि एउटा आधार हुन सक्छ । प्रकृतिले दिएको यो अनुपम उपहारलाई नेपालले आफ्नो अनुकूलमा प्रयोग गर्ने नीति अघि सार्नुपर्छ ।

विगतमा कसैको दबाबमा कानुनी प्रबन्ध गरी यसलाई नियन्त्रणमा लिने काम गरियो । तर, विश्व बजारको अभ्यासबाट पनि सिक्दै नेपालले यसबाट फाइदा लिने नीति लिनु नै अहिलेका लागि महत्त्वपूर्ण कदम हुन सक्छ । गाँजालाई समृद्धितर्फ जोड्ने प्रयास गरौं ।

ADV

सम्बन्धित खबर

Advertise