–ध्रुब न्यौपाने
सन् १९९७ देखि २०१२ बीचमा जन्मिएका पुस्तालाई जेनेरेसन–जेड अर्थात् ‘जेन–जी’ पुस्ताको रूपमा विश्वभर नै हेर्ने गरिएको छ । धेरै नै आशा र अपेक्षा गरेको पुस्ता हो यो । प्रविधीमैत्री र स्टार्टअपमा ‘जेन–जी’ (१३ देखि २८ वर्ष) पुस्ताको रुचि अत्यन्तै देखिन्छ ।
व्यक्तिगत रूपमा यो पुस्ताले विश्वभर नै केही नयाँ र फरक गर्ने कोसिस गरिरहेको छ । तर, नेपालमा अधिकांश ‘जेन–जी’ पुस्ताको मनोविज्ञान विदेशमोहमा देखिन्छ । सरकारले यो पुस्तालाई देशमै अवसर र सम्भावना नदेखाउँदा ‘जेन–जी’ पुस्ता स्वदेशमा भन्दा विदेशमा कसरी पलायन हुने भनेर अवसर खोजिरहेको देखिन्छ ।
नेपालका ग्रामीण बस्तीदेखि शहर बजारमा समेत यो पुस्ता विदेशमोहमै भौंतारिरहेको छ ।
गाउँगाउँमा सरकारले ठूलो लगानी गरेर सडक, बिजुली, पानीदेखि स्वास्थ्य उपचारका लागि अस्पतालदेखि एम्बुलेन्ससम्मको पहुँच पु¥याइदिएको छ तर किन गाउँमा ‘जेन–जी’ पुस्ता अटाउन सकिरहेको छैन ?
हामीले नेपाल अपार सम्भावना भएको मुलुक हो भनेर वर्षाैंदेखि भनिरहेका छौं । देश बनाउने जिम्मा दिएका जनप्रतिनिधिहरूले पनि चुनावदेखि सत्तामा पुग्दासमेत नेपालको सम्भावनाको भाषण गरेका सुनेर थाक्ने बेला भयो तर देशले मुहार फेर्ने किन सकिरहेको छैन ?
स्वर्ग जस्तो सानो देशमा जन्मिएर पनि हाम्रा युवा पुस्ता देशमा अडिन सकिरहेका छैनन् । कृषि, पर्यटन, जलस्रोत, जडीबुटीबाटै नेपालको मुहार फेर्न सकिन्छ भनेको कति वर्ष भयो तर समस्या उस्तै किन छन् ? हामीलाई थाहा हुँदाहुँदै पनि आफ्नो विशेषता बुझ्न नसक्दा कस्तुरीझैं हामी देश छाडेर विदेशमा कुनाकुनामा पुग्न लालायित भइरहेका छौं ।
‘जेन–जी’ पुस्ताले किन आफ्नो जन्मभूमिमा सम्भावना देख्न सकिरहेको छैन ? कृषि, पर्यटन, जलविद्युत्लगायतका क्षेत्रमा सम्भावना देख्न सकेको छैन । नेपालबाट दक्षिण कोरियामा कृषिमा काम गर्नका लागि हजारौं ‘जेन–जी’ पुस्ता ईपीएस पढ्नका इन्ष्टिच्युट धाइरहेका छन् तर नेपालमा किन काम गर्न चाहिरहेका छैनन् ?
नेपालमा कृषिको बजारलाई हामीले आत्मनिर्भर बनाउन नसक्दा नेपालमा भन्दा कोरियामा सम्भावना देख्ने ‘जेन–जी’ पलायन भइरहेको छ । पछिल्लो समय विदेशमा लामो समय काम गरेर फर्केनेहरूले कृषिमा गरेको सफलताको कथामा हाम्रो चासो किन गइरहेको छैन ? नेपालको कृषिमा क्षेत्रमा लाग्ने जनसंख्या ८० बाट घटेर ६० प्रतिशतमा झरेको छ । यो अझै घट्ने क्रममै छ किनभने कृषि भू–भागमा अहिले घडेरी बनाइएको छ ।
विदेशबाट आएको पैसा घर र घडेरी जोड्नै सकिएको छ । तर, कृषिमा लगानी गरेर प्रतिफल आउँछ भन्नेभन्दा घर बनाएर फेरि विदेश जाने संस्कार देशैभर देखिन्छ । पछिल्लो समय नेपालबाट कृषि श्रमशक्ति विदेश पलायनको डरलाग्दो रूप देखिँदै गएको छ ।
अहिले आमअभिभावकको आफ्ना छोरा–छोरीलाई नेपाल बस्नभन्दा विदेश गए छोटो सयममै धेरै पैसा कमाउँछन भन्ने सोच छ । विदेश गएकाहरूले हप्ता दिन काम गरेर १ दिन काम गरेको तस्बिर सामाजिक संजालमा पोस्ट गर्दा ‘जेन–जी’ पुस्तामा समेत नेपालमा भन्दा विदेश जानुपर्छ भन्ने धारणा बन(ाउन सहयोग गरिरहेको छ ।
तर, सरकारले कृषिमा ‘जेन–जी’ पुस्तालाई लगाउने हो भने नेपालमा आयात हुने कृषिजन्य उत्पादनलाई चर्काे कर लगाउने र नेपालको कृषिलाई क्षेत्रका आधारमा पकेट क्षेत्र घोषणा गर्ने हो भने २ वर्षमै यहाँको कृषि क्षेत्रले नयाँ स्वरूप लिन सक्छ ।
नेपालको भौगोलिक विविधतालाई, हिमाल, पहाड र तराईको क्षेत्रलाई पकेट क्षेत्र छुट्याएर काम गर्ने हो भने हामी कृषिमा आत्मनिर्भर हुन ५ वर्ष पनि लाग्दैन ।
‘जेन–जी’ पुस्ता छिटो धनी हुन चाहन्छ किनभने यो पुस्ताले सहज रूपमा आम्दानी गर्न चाहिरहेका् छ । त्यसैले, यो पुस्ता इन्टरनेट र प्रविधीमै झुम्मिइरहेको छ ।
नेपालको कृषिजन्य उपजलाई अनलाइन व्यापार र कृषिलाई व्यावसायिक उत्पादनका लागि उच्चस्तरीय प्रविधिको प्रयोगलाई सरकारले नै प्रथामिकतामा राख्न जरुरी छ ।
उत्पादन र आत्मनिर्भरता
नेपालमा उत्पादन गर्नेभन्दा विदेशबाट आयात गरेर विक्री गर्ने धेरै उद्यमी व्यवसायी छन् । यसले व्यापारमा ‘रिस्क’ कम गर्दै नाफामा प्रतिशत खाने र राज्यलाई केही राजस्व तिर्ने मात्र भएको छ । यो नेपालका लागि दीर्घकालीन समाधान होइन ।
नेपालमा आएको रेमिट्यान्स हामी विदेशबाट उपभोग्य सामान आयातमै खर्च गरिरहेका छौं । योजत्तिको बिडम्बना केही होइन ।
नेपालमा आवश्यक प्रविधि आयात गर्नुपरे पनि कृषि उपज आयातमा कडाइ नगर्दासम्म नेपालको कृषि क्षेत्र आत्मनिर्भर बन्न सक्दैन । नेपालको बढ्दो व्यापारघाटालाई सन्तुलित बनाउनका लागि हामीले नेपालमा यस्ता उद्योगहरू संचालन गरौं, जसले नेपालमा उत्पादन हुने कच्चा प्रदार्थलाई प्रशोधन गरेर आयातीत वस्तुलाई रोक्न सकियोस् ।
नेपालमा उत्पादन हुने कृषिजन्य उत्पादनलाई प्रोत्साहन गर्र्नका लागि सरकारले कृषकमैत्री नीति बनाउन आश्वयक छ । नेपाली युवा जनशक्ति कामका लागि खाडी मुलुक जानुपर्ने तर हाम्रो उर्वर कृषि भूमि बाँझो हुने अवस्था रोक्नका लागि उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्छ ।
पछिल्लो सयम विदेश गएर फर्केका नेपालमा युवा पुस्ता कृषिमा सम्भावना देखेर काम गर्न थालेका छन् । कतिले राम्रो गरिरहेका छन् भने कति आशावादी छन् । कृषिमा आकर्षण भएकालाई सम्भावना देखाउनका लागि यो सही समय हुन सक्छ ।
नेपालमा काम गर्नेलाई प्रोत्साहन दिने हो भने नेपालमा ठूलो लगानीभन्दा सानोसानो लगानीबाट नै आत्मनिर्भर बन्न सकिन्छ । यस्तै, नेपालमा कृषि क्षेत्रलाई माथि उठाउनका लागि सामूहिक रूपमा लगानी र सामूहिक प्रतिफलको अभ्यास गर्ने हो भने कृषि क्षेत्र फस्टाउन सक्छ ।
नेपालमा मिहिनेत गरे के हुँदैन भन्ने बिदेशबाट फर्केकाहरूले देखाएका उदाहरण धेरै छन् । स्वर्ग जस्तो देशमा हामीले काम भन्दा पनि गफ धेरै गर्ने संस्कारको विकास हुँदा समृद्धिमा असर परेको छ । अब हाम्रो सोच नै बदल्नु आवश्यक छ ।
नेपालमा हुने कृषि खेती परम्परागत हुँदा आत्मनिर्भर हुन कहिल्यै सकेन । कृषिलाई व्यावसायीकरणका लागि जेन–जी पुस्ता अहिले जसरी विदेश पलायन भएका छन्, उनीहरूलाई रोक्नु नै पर्छ । नयाँ पुस्तालाई साना तथा घरेलु उद्योगदेखि उद्यमी बन्नका लागि प्रोत्साहन गरे मात्र नेपालको समृद्धि हुन्छ ।
आयातमा भन्दा उत्पादनमा जोखिम
नेपालमा प्रशस्त उत्पादन हुने भए पनि उत्पादन गर्नभन्दा आयात गर्न जोखिम कम छ । कृषिजन्य उत्पादन यति संवेदनशील हुन्छ कि सानो समस्या हुँदा पनि त्यसको असरले कृषकको वर्षभरको आम्दानी गुम्छ ।
नेपालमा राम्रो उत्पादन भएको समयमा भारतबाट यसरी कृषि उपज भित्रिन्छ कि नेपालमा उत्पादन भएका वस्तुहरू कौडीको मूल्यमा समेत विक्री हुँदैनन् । नेपाली उत्पादन एक सिजनमा विक्री भएन भने अर्काे सिजनमा किसानले कृषि गर्ने हिम्मत नै आउँदैन । त्यसपछि आयातीत कृषि उत्पादनमा व्यवसायीले मनलाग्दी रूपमा नै मूल्य बढाउने हुँदा त्यसको असर आमउ(पभोक्तलाई पर्छ । तर, यस्तो गम्भीर विषयमा कसैलाई चासो नै छैन ।
नेपालको कृषि क्षेत्रलाई अगाडि बढाउने हो भने नेपालमा उत्पादन हुने कृषि उत्पादनलाई बढावा दिई आयातमा रोक लगाउने वा भन्सार मूल्य अधिक बनाउने हो भने नेपालमै उत्पादन गर्न कृषकमा उत्साह आउँछ ।
कृषिमा आत्मनिर्भर बनाउने चर्चा र बहस हुन लागेको वर्षाैं हुँदासमेत कृषिमा हाम्रो परनिर्भरता बढ्दै गएको छ । कृषिमा श्रम अत्यधिक हुन्छ तर त्यसबाट प्रतिफल निकै कम हुँदा यसमा सरकारको साथ अति नै आवश्यक छ । कृषिमा प्रतिफल दिन सकिन्छ भन्ने तथ्यमा अहिलेको जेन–जी पुस्तालाई विश्वस्त बनाउनका लागिसमेत कृषिमा क्रान्ति गर्न आवश्यक छ ।