अर्घाखाँची : एउटै वाडमा ३ ठाउँबाट सेवा दिँदै आएको शितगंगा नगरपालिका वडा नम्बर ११ को टिक्करमा वडा कार्यलयको शाखा कार्यालय स्थापना गरिएको छ । शितगंगा नगरपालिकाको ठूलो र विकट क्षेत्र रहेको वडा नम्बर ११ कूल भूभागको १४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । नेपालको भौगोलिक हिसाबले सबैभन्दा ठूलो नगरपालिका शितगंगा नगरपालिकाका १४ वडाहरुमध्ये भौगोलिक रूपमा विकट मानिने यस वडामा शाखा कार्यालय स्थापना भएपछि सेवा प्रवाह थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको स्थानीय समाजसेवी सीता बेल्वासेले बताइन् ।
यसअघि पनि जनताको चाहनाअनुसार कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलियामा वडा कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले अहिले टिक्करिमा शाखा स्थापना गरेको वडा नम्बर ११ का अध्यक्ष नवराज भुसालले जानकारी दिए ।
यस क्षेत्रका जनतालाई सेवा लिन र दिन निकै टाढा भएकाले टिक्करमा वडा कार्यलय स्थापनाका लागि नगरपालिका र सामुदायिक वनहरुको सामूहिक लगानीमा वडा कार्यलयको शाखा स्थापना गरिएको नगरप्रमुख छबिलाल पौडेलले बताए । अहिले कपिलवस्तुको इमलिया, अर्घाखाँचीको खयरभट्टी र टिक्करमा गरी हप्तामा २ दिनका दरले ३ ठाउँमा ६ दिन कर्मचारी र जनप्रतिनिधिले सेवा दिने अध्यक्ष भुसालको भनाइ छ ।
टिक्करस्थित नयाँ वडा कार्यालय स्थानीयस्तरमै निर्माण गरिएको हो । भाडामा सञ्चालन हुँदै आएको कार्यालय अब आफ्नै भवनमा सरेको छ । कार्यालय निर्माणका लागि आवश्यक जग्गा स्थानीय समाजसेवी नारायणप्रसाद आचार्य र तुलबहादुर कुँवरले निःशुल्क उपलब्ध गराएपछि उनीहरु सम्मानित भएका छन् ।
नवनिर्मित वडा कार्यालयको उद्घाटन शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेलले गरेका हुन् । उद्घाटन कार्यक्रममा वडा नं. १० का अध्यक्ष केशव बेल्बासे, वडा नम्बर १२ का वडा अध्यक्ष चोपबहादुर घम, कार्यपालिका सदस्य बोमबहादुर विक, विष्णु भट्टराईलगायत स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति थियो । कार्यक्रममा स्थानीय समाजसेवी सीता बेल्वासेलाई सम्मान गरिएको थियो ।