विराटनगर : कोशी प्रदेश सरकारले करिब १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको लगानी भित्र्याउने अन्तिम तयारी पूरा भइसकेको जनाएको छ । आगामी १८ र १९ वैशाखमा विराटनगरमा आयोजना हुने ‘कोशी लगानी सम्मेलन’मार्फत विभिन्न क्षेत्रका परियोजना प्रस्तुत गर्दै लगानीकर्तालाई आकर्षित गर्ने प्रदेश सरकारको तयारी छ ।
बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । सम्मेलनका लागि स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रसँग सहकार्य तथा समन्वय गरिएको उनले बताए ।
८ क्षेत्रमा ५४ वटा परियोजना, पर्यटन र उद्योगमा सर्वाधिक लगानी
प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाका अनुसार सम्मेलनमा ८ वटा मुख्य क्षेत्रमा करिब ५४ वटा परियोजनाको सोकेस गरिने छ । ती परियोजनाहरूबाट कुल १ खर्ब ३९ अर्ब रुपैयाँको लगानी भित्र्ययाउने लक्ष्य लिइएको छ ।
पर्यटन क्षेत्रमा मात्र १५ वटा परियोजना प्रस्तुत गर्दै ३७ अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी आकृष्ट गर्ने योजना बनाइएको छ ।
त्यस्तै, भौतिक पूर्वाधारमा १४ परियोजनाबाट ३१ अर्ब १ करोड, कृषिमा ९ परियोजनामार्फत ३ अर्ब ८ करोड, उद्योगमा ९ परियोजनाबाट ६५ अर्ब ४० करोड, ऊर्जा क्षेत्रमा ३ परियोजनाबाट २ अर्ब ७७ करोड, आईटीसीमा २ परियोजनामार्फत ४७ करोड र उत्पादन क्षेत्रमा ६० करोडको परियोजना प्रस्तुत गरिने बताइएको छ ।
प्रदेश लगानी प्राधिकरणका अध्यक्षसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो लगानी सम्मेलनले कोशी प्रदेशलाई नेपालकै प्रमुख लगानी गन्तव्य बनाउने दाबी गरे ।
उनले भने, ‘स्वदेशी, निजी तथा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याएर नवीनतम प्रविधि र ज्ञानको परिचालन गर्ने वातावरण बनाउने हाम्रो लक्ष्य छ । लगानी सम्मेलनले दोस्रो आवधिक योजनामा लिएको आर्थिक लक्ष्य पूरा गर्न र स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको दीर्घकालीन सोच हासिल गर्न सहयोग पुग्ने छ ।’
‘पर्यटन वर्ष, २०८२’ घोषणा
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पर्यटन वर्ष, २०८२ घोषणा गरिसकेको सन्दर्भ उठाउँदै प्रदेशको समृद्धि पर्यटनमार्फत अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे ।
‘हामीले सयभन्दा बढी परियोजना प्रस्ताव प्राप्त गरेका छौं । तीमध्ये व्यावहारिक र सफल बन्न सक्ने योजनाहरूलाई मात्र सम्मेलनमा अगाडि सारेका छौं’, उनले सुनाए । प्रदेशमा रोजगारी सिर्जना र व्यावसायिक वातावरण निर्माण गर्ने दीर्घकालीन लक्ष्यअनुरूप सरकारले औद्योगिक वातावरण निर्माणमा जोड दिएको कार्कीले उल्लेख गरे ।
मन्त्री भण्डारीका अनुसार प्रदेशमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलअन्तर्गतका परियोजना कार्यान्वयन गर्न कानुनी, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गर्नका लागिसमेत तयारी भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको सम्मेलनमा ७ देशका विदेशी लगानीकर्ता र गैरआवासीय नेपाली (एनआरएन) समुदायका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।
कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्न लागेको लगानी सम्मेलनलाई ऐतिहासिक अवसरको रूपमा लिएको छ । प्रदेशको औद्योगिक, पर्यटन, कृषि, ऊर्जालगायतका क्षेत्रमा लगानी भित्र्याई आर्थिक समृद्धि हासिल गर्ने सरकारको दीर्घकालीन योजना यो सम्मेलनमार्फत सार्थक बन्ने आशा गरिएको छ ।
सरकारले लगानीमैत्री कानुनी संरचना, प्रक्रियागत सुधार र प्रविधिअनुकूल वातावरण सृजना गर्दै प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य बनाउने लक्ष्य लिएको छ ।
प्रदेश सरकारले लगानी सम्मेलनमार्फत प्रदेशमा रोजगारी सिर्जना, पुँजी निर्माण, गरिबी निवारण र औद्योगिकीकरणको वातावरण तयार पार्ने लक्ष्य लिएको छ । सम्भावनाका नयाँ क्षेत्र पहिचान गर्दै नवीनतम प्रविधि र ज्ञान सँगसँगै आर्थिक विकासलाई गतिशील बनाउने प्रदेश सरकारको योजना रहेको बताइएको छ ।
कुन क्षेत्रमा कति लगानी ?
पर्यटन क्षेत्रमा १५ परियोजनामार्फत ३७ अर्ब ९७ करोड
भौतिक पूर्वाधारमा १४ परियोजनामार्फत ३१ अर्ब १ करोड
कृषिमा ९ परियोजनामार्फत ३ अर्ब ८ करोड
उद्योग क्षेत्रमा ९ परियोजनामार्फत ६५ अर्ब ४० करोड
इनर्जी (ऊर्जा)मा ३ परियोजनामार्फत २ अर्ब ७७ करोड
आईटी र कम्युनिकेसनमा २ परियोजनामार्फत ४७ करोड
अन्य उत्पादन क्षेत्रमा ६० करोड