२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

नेपाली कलाको अन्तर्राष्ट्रियकरण

draupadi film
२०८२ वैशाख ५ गते ०६:००
नेपाली कलाको अन्तर्राष्ट्रियकरण

–अनुरोध शर्मा

मानव जीवनको एउटा महत्त्वपूर्ण पाटो हो कला । कलालाई सभ्यता र संस्कृतिसँग पनि जोड्ने गरिन्छ । भाषा र लिपिको विकास हुनुपूर्व नै कलाको विकास भएको पनि कतिपयको मत छ । उसो त कलाभित्र संगीत, नृत्य, चित्र, अभिनय र साहित्यलाईसमेत जोड्ने गरिन्छ । अभिनय, नृत्य र चित्रका लागि लिपिको जरुरत नपर्न सक्छ । कोरा संगीतका लागि पनि भाषा वा लिपि जरुरी नहोला तर साहित्यका लागि भने सलपि र भाषा अत्यावश्यक छ ।

जे भए पनि यी सबैलाई हामीले कलाभित्र समेट्न सक्छौं । कलाका विभिन्न रूप र प्रविधाका रूपमा यिनलाई लिन सक्छौं । कला हरेक मानव समाजमा र सभ्यतामा हुन्छन् । जातजाति र समुदायपिच्छेका कला–सौन्दर्य छन् विश्वमा । ती सबैका आ–आफ्ना वैशिष्ट्य छन् । ती वैशिष्ट्यको पहिचान, संरक्षण र प्रवद्र्धन भने हुन नसकेको हुन सक्छ ।

हामी विशेषगरी भारतीय उपमहाद्विप अर्थात् भारतवर्षमा छौं । भारतवर्षमा हजारौं वर्षदेखि चलिआएका कला, संस्कृति र परम्परा छन् । भारतवर्षको एउटा खण्ड हाम्रो देश नेपाल पनि कला र संस्कृतिको धनी मानिन्छ । यहाँ बसोवास गर्ने सवा सयभन्दा बढी जातजाति र भाषाभाषीका आ–आफ्नै प्रकरका विशिष्ट कला छन् । तिनको संरक्षण, संवद्र्धन र प्रचारप्रसारको भने खाँचो देखिन्छ ।

कलाको इतिहासतिर छिर्ने हो भने, प्राचीन ढुंगेयुगमा मानव जातिले एकअर्कामा संवाद गर्ने माध्यम आवाज, हाउभाउ तथा रेखाचित्र थिए । क्रमशः मानिसले संवादका लागि नयाँ र सजिला प्रविधि, तरिका र साधन विकास गर्नतिर लागेपछि भाषा र लिपिको विकास भएके हो । यद्यपि, कला भने आजपर्यन्त उत्तिकै प्रभावशाली र प्रचलित छ ।

मानव सम्बन्धलाई नजिक ल्याउन र भिन्न भूगोलको संस्कृतिलाई बुझ्न कलाले महत्त्वपूर्ण सहयोग गर्ने विद्वान्हरूको मत छ । मानव सम्बन्धमा कलाको भूमिकालाई विशेष मानिँदै आएको पनि छ ।

कला र संस्कृति यस्ता चिज हुन्, जसले भिन्न भूगोलमा रहेका मानिसलाई पनि भावनात्मक हिसाबले नै जोडिदिन्छन् । उस्तै कला र संस्कृतिका मानिसहरू फरक भूगोलमा रहे पनि नजिक हुन्छन् कला र संस्कृतिका कारण । विश्वमा विकास भएका कला, संस्कृति र सभ्यताले मानव जातिलाई कडासँग जोडेका पाइन्छ ।

भनिन्छ, ‘कला र संगीतको भाषा हुँदैन, भूगोल हुँदैन ।’ यसको आशय– कला र संगीतको भाषा सबैका लागि ग्राह्य हुन्छ । सबैले बुझ्न सक्छन् । अभिनय होस् वा संगीत, मूर्ति होस् वा चित्र, यी विश्वका सबै भाषाभाषीका लागि बुझिने कला हुन् । यस्ता कलाको विश्वव्यापीकरण वा अन्तर्राष्ट्रियकरण हुन सके त्यसले सम्बन्धित देश वा समाजको उन्नति र समृद्धि पनि सम्भव हुन सक्थ्यो ।

यहाँ नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रियकरणको सवालमा केही कुरा उल्लेख गर्नु सान्दर्भिक हुने छ ।

नेपाली कलाको अन्तर्राष्ट्रियकरणको इतिहास खोतल्दा पहिलो शताब्दीदेखि नै नेपाली कलाले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवेश पाएको भेटिन्छ । नेपाली कलामा भारतवर्षमा प्रचलित विभिन्न शैलीको प्रभाव परेको र नेपाल, भारत तथा चीनमा कलाको प्रभाव र शैली एकआपसमा परिरहेको भेटिएको छ ।

सातौं शताब्दीमा नेपाली चेली भृकुटीको विवाह तिब्बती राजा स्रङचङ गम्पोसँग भएपछि भने नेपाली कलाको प्रभाव तिब्बत तथा चीनमा पर्न गयो । उनका कारण बौद्ध कलाको तिब्बत तथा चीनमा व्यापक प्रभाव पर्न गयो ।

त्यसपछि नेपाली कलाकार तिब्बत तथा चीनमा जाने– आउने क्रम बढ्दै गयो । १३औं शताब्दीमा अरनिकोले तिब्बत तथा चीनमा निकै कलाकृति बनाएपछि नेपाली कलाको प्रभाव त्यहाँ पर्न गयो । नेपाली कलाको एउटा ठूलो र सम्भावित बजार अहिले चीन पनि हो । नेपालबाट चीनमा करोडौं मूल्यका कलाकृति निर्यात हुन्छन् ।

युरोप, अमेरिका, भारत, जापान, कोरियालगायतका देशमा पनि नेपाली कला तथा हस्तकलाले अर्बौंको व्यापार गरिरहेका तथ्यांक भेटिन्छ ।

विश्वभर नेपाली कलाको माग पनि बढिरहेकै अवस्था छ तर त्यसका लागि हामीले नै उचित प्रबन्ध गर्न सकिरहेका छैनौं । मागलाई अझ बढाउनका लागि हाम्रा कलाको व्यापक प्रचारप्रसार आवश्यक छ । कला प्रदर्शनी, कार्यशाला, गोष्ठी, आवासीय कला परियोजना आदिमार्फत कलाकारले अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन सक्छन् ।

यसरी नै अन्तरदेशीय कला उत्सव, महोत्सव आयोजना गर्ने, कलाको आदानप्रदान गर्ने, कला अध्ययन÷अनुसन्धानलाई राज्य तहबाटै विशेष महत्त्व र प्राथमिकता दिने गर्न सकिन्छ ।

सरकारी तवरबाट संस्कृति मन्त्रालय तथा अन्तर्गतका निकायहरू विभिन्न प्रज्ञाप्रतिष्ठानहरूमार्फत नेपाली कलाको प्रचारप्रसार, विश्वव्यापीकरण, राष्ट्रिय/अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, कार्यशाला गर्न सकिन्छ, जसले नेपाली कलाको फैलावट बढ्न सक्छ ।

नेपाली रैथाने कला, मौलिक कलालाई मात्र विश्व बजारमा पुर्‍याउन सक्ने हो भने यसबाट अर्बौं रकम आम्दानी हुन सक्ने अवस्था छ तर यसका लागि राज्य पक्ष र गैरराज्य पक्ष वा कलाकार÷व्यवसायी आफैं अग्रसर हुनु जरुरी छ ।

ADV

सम्बन्धित खबर

Advertise