२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

किन खोजी हुँदै छ वैज्ञानिक समाजवादको ?

draupadi film
२०८२ वैशाख ९ गते ०६:००
किन खोजी हुँदै छ वैज्ञानिक समाजवादको ?

–माधव गौतम ‘विनयराज’ 

वैज्ञानिक समाजवाद मानव जातिको वर्गविहीन, जातिविहीन, राज्यविहीन, धर्मविहीन, स्वतन्त्र, समान, शान्त समृद्ध बनाउने मानव–सभ्यता हो । वैज्ञानिक समाजवादी व्यवस्था निजी पुँजीको उन्मूलन गर्ने व्यवस्था हो । समाजवादी सत्ता भनेको काल्पनिक कुरा वा व्यवस्था होइन । विभिन्न देशहरूमा समाजवादी सत्ताको अनुभव गरिएको थियो । पेरिस कम्युन, महान् अक्टोबर क्रान्तिद्वारा समाजवादी सत्ता प्राप्त, चिनियाँ क्रान्ति, पूर्वी युरोपको समाजवादी व्यवस्था, भियतनामको क्रान्ति, कोरिया, क्युबाको क्रान्ति आदि छन् । त्यसैले वैज्ञानिक समाजवादी व्यवस्था स्वप्न दृश्यहरूको मन गढन्ते कुरा होइन । 

वैज्ञानिक समाजवादी व्यवस्था नेपालको सन्दर्भमा आजको अनिवार्य आवश्यकता भइसकेको छ किनकि हामीले सबै क्षेत्रलाई राम्रोसँग अध्ययन गर्ने हो भने श्रमशक्ति विदेश पलायन भएको छ । कृषिबाट हुने उत्पादन न्यून छ । वस्तु (माल) उत्पादन, बजारीकरण, औद्योगिकीकरण र उचित मूल्य नहुनाले श्रमिक जनताहरू जीवन बाँच्न सक्ने अवस्था नभएर मृत्युको मुखमा पुग्नुपरेको छ । पुँजीवादले पुँजी केन्द्रिकरण गरेपछि व्यापक रूपमा साना–ठूला उद्योगहरू खोल्न सकिरहेको अवस्था छैन । नवउदारवादी नीतिले गर्दा भएका उद्योगहरू निजीकरण गर्दै कौडीको भाउमा बिक्री गरिएको छ । आत्मनिर्भर उत्पादन, उत्पादन भएका बस्तुको बिक्रीद्वारा अर्थतन्त्रको विकास नै हुन दिइएको छैन । विश्व साम्राज्यवादी नव औपनिवेशिक अर्थतन्त्र, अति केन्द्रीकृत एकाधिकारवादी विकेन्द्रित उत्पादन र केन्द्रित वितरण, उत्पादक शक्तिमा विज्ञान तथा प्रविधिको समायोजन र अर्थतन्त्रद्वारा राजनीतिमाथि प्रभुत्व जमाइराखिएको छ । सूचना सञ्चार, सूचना प्रविधि, यातायात केन्द्रीकृत गरी विश्व एउटै कोठा जस्तो बनेको छ । त्यसले अविकसित देशको अवस्थामा पनि धेरै परिवर्तन ल्याएको छ । 

मानिसमाथि हुने सबै खाले शोषण, दमन, उत्पीडन र अन्यायको अन्त्य वैज्ञानिक समाजवाद र साम्यवादमा मात्र सम्भव हुन्छ । वैज्ञानिक समाजवादमा सर्वहारा श्रमजीवी मजदुर वर्गको अधिनायकत्वले आफ्नो संक्रमणकालको लामो प्रक्रियामा वर्ग विभेदको अन्त्य गर्ने, वर्ग विभेद जन्मने आधारमा रहेको उत्पादन सम्बन्धको उन्मूलन गर्ने, उत्पादन सम्बन्धअनुरूपको सामाजिक सम्बन्ध अन्त्य गर्ने, सामाजिक सम्बन्धबाट विभिन्न विचार हरूलाई क्रान्तिकरण गर्ने प्रक्रिया हुन्छ । वैज्ञानिक समाजवाद प्राप्त गर्नको लागि विभिन्न आधारहरू तय गर्नुपर्दछ । दार्शनिक आधार, राजनीतिक आधार, आर्थिक आधार, सामाजिक आधार, सांस्कृतिक आधार, विज्ञान प्रविधि तथा सूचना सञ्चारको आधार, मालेमावादी विचारसहितको संगठन तय गरी संघर्ष गर्नुपर्ने देखिन्छ । नव औपनिवेशिक पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा लाखौँलाख जनताहरूलाई मुठ्ठीभर दलाल पुँजीवादीको शोषण, उत्पीडनबाट मुक्त गराई जनताको जीवनमा सुख र समृद्धि ल्याउने व्यवस्था नै वैज्ञानिक समाजवाद हो । त्यसैले वैज्ञानिक समाजवादी व्यवस्था सुसङ्गत र अपराजेय छ । 

नेपालको सन्दर्भमा ६५ प्रतिशत कम्युनिस्ट विचारलाई अँगाल्ने जनता छन् । तर, विडम्बना नै भन्नुपर्छ कि नव औपनिवेशिक दलाल पुँजीवादी संसदीय व्यवस्था मान्ने राजनीतिक दलका नेताहरू आफूलाई कम्युनिस्ट भन्दै दलाल पुँजीवादको रक्षा र सेवा गरी दलाली र भ्रष्टचारमा लिप्त छन् । कम्युनिस्ट जनताहरूको मतलाई खिल्ली उडाउँदै कम्युनिस्टको नाममा कलंक भनेझैं भद्दा मजाक गरिरहेका छन् । त्यसैले वैज्ञानिक समाजवादी व्यवस्था जनताको विकल्प बन्न पुगेको छ । यसलाई वैज्ञानिक समाजवादी जनक्रान्तिमा जोडेर सत्ता बदल्ने अभियानमा लाग्न जरुरी छ । 

जनक्रान्तिको कार्यभार जनताले आफ्ना हक, हित र अधिकार तथा देशको स्वतन्त्रता, प्रगति आदिका निम्ति संगठित रूपमा चलाएको आन्दोलनलाई जनक्रान्ति भनिन्छ । वैज्ञानिक समाजवाद स्थापनार्थ गरिने क्रान्ति नै वैज्ञानिक समाजवादी क्रान्ति हो । यसमा सर्वहारा अधिनायकत्व साधनको रूपमा रहन्छ । यो क्रान्तिले पुँजीपति वर्गमाथि सर्वहारा वर्गको शासन चल्ने प्रक्रियालाई अगाडि बढाउँछ । सर्वहारा अधिनायकत्वमा राज्यको विलोपीकरण हुन्छ । राज्यको विलोपीकरण भनेको जनतामा निहित सार्वभौम अधिकारहरू असली अर्थमा जनतामा नै विकेन्द्रित भएर जनतामा नै अन्तर्निहित गराइनु हो । जब राज्य पूरै समाजको सच्चा प्रतिनिधि बन्नेछ, त्यसबेला त्यो आफ्नो निम्ति आफैं अनावश्यक रहन जानेछ । अब नेपालमा वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशाबाट आम जनतालाई संगठित र आन्दोलित गराई वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्दछ । पुँजीवादबाट साम्यवादमा पुग्न सर्वहारा वर्गको अधिनायकत्व अपरिहार्य छ । समाजवाद संक्रमणकालीन व्यवस्था हो । यसमा पुँजीवादको जन्म चिन्हहरू रहन्छन् । यस अवधिमा पुँजीवादका अवेशषलाई खत्तम पार्ने, उत्पादक शक्तिहरूको तीव्र विकास गर्ने, जनताको मानसिक तथा बौद्धिक दृष्टिकोणलाई नयाँ ढाँचामा फेर्ने अभिभारा पूरा गर्नुपर्दछ । तर, यो अभिभारा शान्तिपूर्ण संक्रमणद्वारा कदापि पूरा गर्न सकिँदैन । यो त कठोर र भयानक वर्गसंघर्षद्वारा पूरा गरिने अभिभारा हो । 

समाजवादको पूरै अवधि सर्वहारा वर्ग र पुँजीपति वर्गबिच संघर्षको अवधि हो । यी दुई वर्गबिचको अन्तर्विरोध नै समाजवादी समाजको गति हो । अन्त्यमा, वैज्ञानिक समाजवादी जनक्रान्तिपछि स्थापना हुने समाजवादमा सामूहिकता र बन्धुत्वपूर्ण पारस्परिक सहयोग रहने परिपाटी हुन्छ । हरेकले सबैको लागि र सबैले हरेकको लागि काम गर्नुपर्दछ । अन्याय, परनिर्भरता, छलकपटता, पदलोलुप्ताप्रति असहिष्णुता हुन्छ । सामाजिक सम्पत्तिको संरक्षण तथा समृद्धिमा प्रत्येक व्यक्तिको योगदान रहन्छ । परिवारमा परस्पर सम्मानको भावना र केटाकेटीको हेरविचार हुन्छ । विश्वभरिका श्रमिक जनताहरूको बिचमा बन्धुत्वपूर्ण एकता रहन्छ । समाजवादमा सर्वहारा वर्गले आफ्नो सर्वहारा अधिनायकत्व कायम गर्नको लागि राज्यसत्ता आवश्यक पर्दछ । मुख्यतः पुँजीपतिको शक्तिलाई धूलोपिठो पार्नका लागि वा तिनीहरू फेरि उठ्न नसक्ने पार्नका लागि राज्यसत्ता चाहिन्छ । समाजवादमा श्रमको उच्चस्तरीय केन्द्रीकरण तथा सामाजिकीकरण गरिएको विशाल यान्त्रिक उत्पादन, विज्ञान तथा प्रविधिको विकास, शोषणको जरा उखेल्ने काम र अरू प्रकारको उत्पीडनबाट मुक्ति हुनेछ । 

(विनयराज, श्रमिक कम्युनिस्ट पार्टी नेपालका नेता हुन् ।)

ADV

सम्बन्धित खबर

Advertise