काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७६औँ स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । छयात्तर वर्षअघि २००६ साल वैशाख ९ गते (तद्नुरुप २२ अप्रिल १९४९)मा आजकै दिन भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
पार्टीका तत्कालीन संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र संस्थापक नेतामा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठ रहेकी थिए । तर मोतीदेवी भौतिक रूपमा उपस्थित थिएन ।
कम्युनिष्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो ।
नेपालमा जहानियाँ राणा शासन रहेको बेला भूमिगत रूपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले शोषण, उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो ।
अहिले नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (माले)लगायतका पार्टी छन् । बि.सं. २०७५ जेठमा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पनि त्यो पनि धेरै लामो समय टिक्न सकेन ।
नेपालका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै छन् । स्थापना दिवसका अवसरमा आज एमालेले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १२:३० बजे विशेष कार्यक्रम गर्ने जनाएको छ ।
दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सात जना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने र ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक गर्ने भएको छ । यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पार्टीले पनि विविध कार्यक्रम गरी दिवस मनाउँदै छन् ।