-राजनारायण राई, दार्जीलिङ्ग
फुर्सदको बेला आँगनको झार गोड़ेर नै चिल्लै बनाउँदै छु । वर्षा झरीमा जुका, सर्प जस्तो रक्त पिपासु मेरै आँगनमा मेरै रगत चुस्नु नआओस् भनेर साेंच्दै थिए ।
घरको पछिल्लो भाग तिर घ्वारलप्प गरेको आवाज सुने । मैले सोंचे कोही न कोही जिप्टिएर बज्रियो भूईमा । म आवाज आएको भागतिर चिहाउनु भन्दै थिए । ठिक त्यहि समय तल्लो गाउँको मनमाया बहिनी पो मेरो छेउमा आईपुगिन् । उ निकै आत्तिएकी र हतारिएकी थिइन् । मैले उसलाई निकै विचार गरे । उसको अनुहार भयपूर्णँ देखिन्थ्यो । निधारमा पसिनाको भल छुटिरहेको थियो । केशराशि जिङरिङ्ग अस्तव्यस्त छ ।
मनमाया बहिनी मेरो घरको मूल बाटो भएर हिँड़दा सँधै त मुसुक्क हाँस्दै नै बोलाउँदै आउँथिन् जान्थिन् । उसै उसै पनि हँसिलो मुहारकी । असल स्वाभावकी मनमाया बहिनीलाई के भयो, के भयो आज ? उ बोल्नु सकेकी थिईनन् । शरीर नै कम्पनले थररर बनिरहेको भयानक दृश्य देख्दा केही न केही रहस्य छ । कारण छ भन्ने विचार मेरो मनमा आयो । अनि केही सोधेर वास्तविकता बुझ्नु मन लाग्यो । किन यसरी भयभित छिन् उनी ? किन आतिएकी होलान् ? के भयो उनलाई ? केही त गड़बड़ छ नै मैँले ठाने । त्यसैमाथि मनमायाको शंकास्पद हालत देख्दा मलाई आश्चर्य लाग्नु स्वाभाविक नै हो । मेरो मनमा पनि अनेक शंकाहरु जन्मन्छ । उ बोल्नु सकेकी रहेकी थिईनन् । उसलाई नियाल्छु साह्रै एकोह्रिएकी छिन् ।
मैले धेरै विचार बिर्मश गरिवरि विस्तारै उसलाई भने, ‘हन ! आज के भयो तिमीलाई बहिनी ? बोल्दैनौ पनि । चल्दैनौ पनि । खास कुरा भन त बहिनी तिमीलाई के भयो ?’ यही प्रश्न पटक–पटक दोहो¥याएँ । तब उ झस्किन् । अनि पो उसले लामो श्वास स्वा स्वा गरेर तानिवरी पुलुक्क मलाई हेरिन् । अनि उसको दुवै आँखा चिम्म गरिन् । तब सम्झिन्दो हो उ सुरक्षित छ्न् अथवा मलाई देखेर गाउँआई पुगेछु भनी ढुक्क पर्दो हो ।
अनि विस्तारपूर्वक उ आत्तिएको मूल कारण उसले भन्नु थालिन्, ‘दाजु म बजारबाट घर फर्कीने तत्खारमा थिए । साँझ ढल्डै थियो । मैले पैदल घर तिर फर्कीने विचार गर्दै थिए । त्यसै समय मदेखि अलिक पर तिर केही मानिसहरू झगडा गरिरहेको थियो । झुण्ड–झुण्ड पर्यो । केही क्षणपछि कोही भाग्न थाल्यो । कोही कराउन थाल्यो । कसैले भन्दै थियो मार्यो–मार्यो काम बिगार्यो । कसैले भन्दै थियो भाग छिटो भाग । मलाई भने मनमा डर पस्यो । त्यहीमाथि एक्लो आईमाई । त्यही बाटो भएर मलाई पनि घर आउनु थियो । अब कता जाउ बाटो रोज्नु सकिरहेकी थिइनँ । सडक शून्य पर्यो । सबैले पसलहरू बन्द गर्नु थाल्यो । भागाभागको दृश्य देख्दा म आत्तिएछु । निकै डराएछु । त्यतिबेला नै मेरो छेउ सन्तलाल दाजु पो एक हातमा रगत लतपतिएको खुकुरी बोकेर आईपुग्यो । हातभरि रगतै छ । अनुहारमा पनि केही रगतको बाछिटाले रंगीएको थियो । आँखा जुधाउनु सकिनँ । उ पनि मलाई नहेरि गयो । खै ! कता हो कता । अलिक परतिर एकमान्छे रगताम्मे लखरन्न लडिरहेको देखे । त्यतिबेलासम्म त्यो शरीर निर्जीव बनिसकेको थियो । रगतको भल बगिरहेको थियो । जो जोकमान नै हुनपर्छ । लेदरको ज्याकेट लगाएको थियो । मँैले उसलाई बिहानबजारमा भेटेको थिएँ । त्यही बस्त्रको आधारमा मर्ने मानिस जोकमन नै हो दाजु । म यसघटना देखेर स्वाँसै नरोकी दौड़ीएर नै यहाँसम्म आइपुगेकी छु ।’ यति भनेर उनी एकक्षण मेरै छेउ उभिरहीन् । म भने उसको कुरा सुनेर मुख आँ गरेर ट्वाल्ल हेरेको हेरै । मनमाया बहिनी फेरि ढ्वाक ढ्वाक गरेर कुदेर जाँदा पो म झस्किएछु । आङ्ग जिङरिङ भयो ।
मनमाया बहिनी किन नआतियोस र ! त्यो घटनाको खबरले सबैलाई थर्कमान परि छोड़्नेछ । म आफै पनि त टाड़ै बाट सम्हालिनु सकिनँ । मनमाया किन नआतियोस् ?
यतिबेलासम्म यो घटना गाउँभरि हल्ला भईसकेको हुन्छ । मनकुमार दाजु त्यही बाटो ओह्रालो झर्दै रहेछ । मैँले उसलाई नजानिदो पाराले सोधे, ‘दाजु ! जोकमन र सन्तलालको घटना सत्य हो रहेछ ?’ मेरो प्रश्न सुनेर मनकुमार दाजुले पनि छोटो उत्तर दिन्छ, ‘जोकमन मारि गएछ नि ।’ यति भन्दै दाजु गयो हतार साथ । मैले उसलाई हेरिपठाए । उ गएको ठाउँ ओह्रालै ओह्रालो ओह्रालै ओह्रालो ।
सन्तलालले छिनाकै रहेछ जोकमानलाई । अति दुःखदायी घटना घट्यो । त्यो घटनाले पुरै गाउँलाई नै दुख्यो । कसको पक्षमा उभिने गाउँ । दुवै एकै गाउँको त हो । एक समय ति दुवै घनिष्ठ मित्रता थियो । समयलेनै ति दुवैलाई यसरी कठोर शत्रुतामा बदली दियो । यहाँसम्म कि एक जनाको प्राण नै गयो ।
यो घटना सम्भावित नै थियो । किनभने जोकमानले सन्तलालको राम्री पत्नी यशोधालाई भगाएर लगेकै हो । यसैबाट जन्मिएको थियो ति दुई माझ शत्रुता । फलतः जोकमानको प्राण नै गयो ।
बुझेर नै यशोधाले सन्तलालसँग विवाह गरेकी थिईन् । जोकमानले पनि सानैदेखि मित्रताको सम्बन्धमा छल गरेकै थियो । सन्तलालले पनि रक्सी नपिएको भए र घरमा अशान्ति नगरेको भए यशोधा जोकमानसँग पोइला शायद जाने थिएन होला । सन्तलालको घृणित व्यवहारले यशोधाको मन बदलिनु धेरै समय लागेन । जे नहुनु थियो त्यही भयो । यसोधा जोकमानसँग प्रेम गरी पोइला गईन् । यस घटनाले मेरो मनमस्तिष्कमा दोषी को रहेछ त ? यही प्रश्नहरूले घेरिरहन्छ ।
मैले साँेच्दै थिए । सन्तलालको पत्नी यशोधालाई जोकमानले भगाएर दोषी नै थियो । यशोधा पनि घरमा लोग्ने हुँदाहुँदै अर्कोसँग पोइला जानु दोषी नै भयो । सन्तलालको ठूलो दोष जोकमानलाई मार्नु थियो । जोकमानलाई नमारेर दोस्रो बिवाह गरी घर बसाएको भए त्यहाँ पनि सुन्दर संसार बन्न सक्थ्यो । त्रिकोणी प्रेम भूल कसको ? यही सोच्दै नै मेरो माथा घुमिरह्यो ।
राती एकहुल पुलिस झर्यो मेरै घरको बाटो भएर । यतिबेला गाउँ सुनसान बन्यो । पल्लो घरको काकी बरण्डामा निस्केर मलाई भन्दै थिईन्, ‘ओई ! कान्छा सन्तलाल पनि पक्राउ परेछ हगि ? थाहापाईस् के ?’ फेरि भन्दै थिईन्, ‘यशोधालाई पनि पुलिसले थानामा बोलाएको छ अरे ।’ यसै घटनाले म दुःखी थिएँ । मैले टाउको हल्लाएर सांकेतिक उत्तर मात्र काकीलाई दिए । काकीले मेरो उत्तरलाई वास्ता गरे कि गरेनन् मलाई थाहानै भएन । म चाहि यो घटनाक्रम हुनुमा मुख्य भूल कसको हो ? यस्तै प्रश्नहरूको पर्खाल बनेर धेरै बेरसम्म एक्लै उभिरहे उभिरहे रातको चिसो हावामा ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies