भोजपुर : भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफी खेती गरिएको छ । प्रदेश सरकारबाट प्राप्त रु सात लाख र किसानसँगको साझेदारीमा रामप्रसाद राई गाउँपालिकामा कफी खेती सुरु गरिएको हो ।
नमूना कफी खेती विस्तार गर्ने लक्ष्यले गुराँस सहकारी संस्थामा आबद्ध आठ जना कृषकहरूको समूहले दुई हजार दुई सय बिरुवा रोपेर कफी खेती सुरु गरेको वडा नं ८ का अध्यक्ष बाचकुमार राईले जानकारी दिए। यो क्षेत्र कफी खेतीका लागि उपयुक्त भूगोल रहेकोले वडाको पहलमा बजेट माग गरी कफी खेती प्रवर्द्धन तथा विस्तार भइरहेको वडाध्यक्ष राईले बताए ।
वडाध्यक्ष राईले भने, “खोक्सिक क्षेत्र कफी खेतीका लागि उपयुक्त भूगोल मानिन्छ। कृषकलाई कफी खेतीका माध्यमबाट आयआर्जनमा जोड्न यो कार्यक्रमले टेवा पुग्ने विश्वास छ ।”
विगतमा सामान्य रूपमा कफी खेती गरिरहेको भए पनि यो कार्यक्रमले बृहत् रूपमा खेती विस्तारमा टेवा पुगेको गुराँस सहकारी संस्थाका उपाध्यक्ष मनोज राईले बताए ।
“हाम्रो क्षेत्रमा सामान्य रूपमा कफी खेती गरिरहेका थियौँ”, उनले भने, “धेरै मात्रामा विस्तार गर्ने सोच भए पनि आर्थिक अभावमा गर्न सकिएको थिएन । कार्यक्रम सञ्चालन भएपछि हामीलाई खेती विस्तारको लागि हौसला मिलेको छ ।”
रामप्रसाद राई गाउँपालिकासँगै हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानहरूले कफी खेती गरिरहेका छन् । यहाँका किसानले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर काठमाडौँ हुँदै जापान, कोरियासम्म निर्यात हुने गरेको कफी व्यवसायी सुनिल श्रेष्ठले बताए ।
अर्ग्यानिक (जैविक) कफीको विदेशी बजारमासमेत माग रहेको उनको भनाइ छ । भोजपुरमा उत्पादन भएको कफी संकलन गरेर बाहिरका बजारमा आफूले बिक्री गर्दै आएको श्रेष्ठले जानकारी दिए । कफीले बाह्य बजारमा राम्रो मूल्य पाउन थालेपछि यहाँका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् ।
२२ जना सम्मानित
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माले वडाको विकासमा सहयोग पुर्याउने २२ जना नागरिकलाई सम्मान गरेको छ । वडाले ‘समृद्ध वडा’ निर्माणका लागि विभिन्न क्षेत्रबाट पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरेको हो ।
वडाको विकासका लागि विभिन्न संरचना निर्माणको गर्न नि:शुल्क जग्गा दान गर्ने, वडाको सडक निर्माणमा आर्थिक सहयोग गर्ने, शिक्षा ,स्वास्थ्य तथा सामाजिक क्षेत्रको विकासमा सहयोग गर्ने उनीहरू सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको वडा नं १ तिम्मा वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए ।
“उहाँहरूले विभिन्न क्षेत्रबाट वडाको विकासका लागि सहयोग पुर्याउनु भएको छ”, वडाध्यक्ष राईले भने, “यहाँको विकासका लागि उहाँहरूले निस्वार्थ रूपमा गरेको सहयोगको कदर स्वरूप वडाको तर्फबाट सम्मान गरेका हौँ । स्थानीयको सहयोगले नै यो वडाको विकासलाई अघि बढाउन सहजता भएको छ ।”
गाउँपालिकाले लिएको ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार स् टेम्केमैयुङ विकासको आधार’ भन्ने नारालाई सफल गराउन स्थानीय नागरिकबाट भएको सहयोगको कदर स्वरूप गाउँपालिका उपाध्यक्ष रमादेवी राईको उपस्थितमा सम्मान गरिएको वडाध्यक्ष राईले जानकारी दिए ।