दिवस रिजाल
मलेसिया : दिक्तेलमा लोकसेवा तयारी कक्षा सन्चालनमा विद्यार्थी नै नपढाइ लाखौं रकम हिनामिना भएको पाइएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लोकसेवा तयारी कक्षा सन्चालनमा विद्यार्थी नै नपढाइ लाखौं रकम हिनामिना गरेको पाइएको हो ।
आर्थिक वर्ष २०८०/८१ सालको महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदनमा किराँत राई विद्यार्थी संघ, हिमालय आइटी इन्स्टिच्युट र शैक्षिक विकास तथा युवा रोजगार फाउन्डेसनलाई लोकसेवा तयारी कक्षा सन्चालनमा विद्यार्थी नपढाइ र बिल नै पेश नगरी लाखौं रकम भुक्तानी गरेको भनी उल्लेख गरेको पाइएको हो ।
शैक्षिक विकास तथा युवा रोजगार फाउन्डेसनलाई २० जनाको ११ हजार ६२ का दरले २ लाख ५० हजार विद्यार्थी नै नपढाइ तथा सक्कल बिल नै पेश नगरी भुक्तानी गरेको पाइएको हो । यसैगरी किराँत राई विद्यार्थी संघलाई बिल नै पेश नगरी रु ३ लाख भुक्तानी गरेको छ ।
हिमालय आइटी ईन्स्टिच्युट्ले हाजिरीभन्दा बढी विद्यार्थी खडा गरी १ लाख १६ हजार ६ सय ६० रुपैयाँ दिक्तेल नगरले भुक्तानी गरेको छ ।
यस्तो हचुवाको भरमा विद्यार्थी नै नपढाइ तथा हाजिरी भन्दा बढी विद्यार्थी खडा गरी भुक्तानी गरेको भन्दै उक्त संस्थाबाट असुल गर्नुपर्ने महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ ।