काठमाडौं : यस वर्ष गर्मीयाममा आगलागीको घटना बढेको छ । विगतको तुलनामा आगलागीका घटना बढ्नुमा पानी नपर्नुलाई प्रमुख कारण मानिएको छ । कारण जे जस्ता भए तापनि पूर्वतयारी र पूर्वसावधानी नअपनाउँदा आगलागीबाट ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको छ ।
नेपाल प्रहरीका अनुसार आगलागीको घटना बढ्दो छ । पानी नपरेका कारण फेरि पनि जोखिम कम भएको छैन । प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय आगोले गरेको मानवीय क्षति र भौतिक क्षति अत्यासलाग्दो छ ।
गत चैत महिनामा देशभर आगलागीका १ हजार ३२१ वटा घटना भए । सबैभन्दा धेरै कोशी प्रदेशमा ४३४ वटा आगल(ागीका घटना भएका छन् । लुम्बिनी प्रदेशमा २२७, बाग्मती प्रदेशमा १७९, मधेश प्रदेशमा १६१, सुदूरपश्चिम प्रदेशमा १००, काठमाडौं उपत्यकामा ६८, गण्डकी प्रदेशमा ९० र कर्णाली प्रदेशमा ६२ वटा आगलागीका घटना भएका छन् ।
प्रहरीका अनुसार घटना बढेसँगै मानवीय र धनको क्षति पनि बढेको छ । सावधानी नअपनाउँदा आगलागीबाट लाखौं रुपैयाँ बराबरको क्षति हुने गरेको छ भने पीडितहरू घरबारविहीन बन्ने गरेका छन् ।
गत चैत महिनामा देशभर भएका १ हजार ३२१ वटा घटनामा परेर १५ जनाको मृत्यु भएको छ । १ जना बालिका, ७/७ जना महिला र पुरुषको आगलागीमा परेर मृत्यु भएको हो । ९६ जना घाइते भएका छन् । घाइते हुनेमा ३ बालक, ६ बालिका, ४३ जना पुरुष र ४५ जना महिला छन् ।
भौतिक क्षतिअन्तर्गत ५२ करोड ६९ लाख ८५ हजार ६७० बराबर रहेको प्रहरीको तथ्यांक छ । यसअन्तर्गत ३०६ वटा पशु चौपाया मरेका छन् भने ३५४ वटा घर र २५६ वटा गोठ जलेर नष्ट भएका छन् । आगलागीका कारण ३९ जना विस्थापित नै भएका छन् ।
कोशी प्रदेशमा भएका अधिकांश आगलागी गोठबाट सुरु भएका प्रहरीको भनाइ छ । जंगलमा लागेको आगो मानवीय बस्तीमा पसेर पनि क्षति भएको छ ।
आगलागी भएपछि समयमै दमकल पुग्न नसक्दा धेरै क्षति भएको छ ।
वन जंगलमा आगलागीका घटना बढ्दै जाँदा जंगल नजिक रहेका घरमा समेत आगलागी हुने जोखिम बढेको छ । सुख्खा समयमा आगलागीका घटना हुने जोखिम भए पनि त्यसतर्फ पूर्वसावधानी नअपनाउँदा आगलागीका घटनाबाट बढी क्षति हुने गरेको छ ।
आगलागीमा परेर घाइते भएकाको उपचारमा समेत समस्या छ । सरकारले सातै प्रदेशमा जलनको उपचार विस्तार गरेको भने तापनि उपकरणलगायतका कारण प्रभावकारी हुन सकेको छैन ।
नेपालमा जलनको उपचार गर्ने प्रमुख अस्पताल काठमाडौं कीर्तिपुरको बर्न अस्पताल हो । अन्यत्र पनि जलनको उपचार हुन्छ तर जनशक्ति र साधन, स्रोतको भने कमी छ ।