२०८२ वैशाख १५ गते सोमवार / Apr 28 , 2025 , Monday
२०८२ वैशाख १५ गते सोमवार
Ads

शिक्षक आन्दोलनमा घाइते पत्रकार कार्की भन्छिन्- 'दाहिने आँखा खोल्नै मिल्दैन'

मध्यान्ह
२०८२ वैशाख १४ गते १८:२०
शिक्षक आन्दोलनमा घाइते पत्रकार कार्की भन्छिन्- 'दाहिने आँखा खोल्नै मिल्दैन'

काठमाडौं : आन्दोलनरत शिक्षक र प्रहरीबीचको झडपको क्रममा घाइते भएकी पत्रकार सविना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिनको लागि पानीको फोहोरा प्रहार गरेपछि प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

सोही समयमा समाचार संकलनका लागि पुगेकी प्राइम टाइम्स टेलिभिजनकी पत्रकार कार्की घाइते भएकी हुन् । उनलाई प्रहरीले अस्पताल पुर्‍याएको थियो ।

चोटका कारणले कार्कीको दुवै आँखाको लेन्सहरू सुन्निएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । घाइते कार्कीले समाचार संकलनको क्रममा पानीको फोहोराले एक्कासी अनुहारमा लागेको बताइन् । उनले आफू ढलेपछि एक शिक्षिकाले प्रहरीलाई खबर गरेपछि प्रहरीले उपचारका लागि अस्पताल पुर्‍याएको बताइन् । उनले बायाँ आँखाले केही हदसम्म हेर्न मिले पनि दायाँ आँखा खोल्नै नमिलेको बताइन् ।

उनले भनिन्, “पानीको फोहोरा एक्कासी आयो । म छेउ तिरै थिए । एक्कासि अनुहारमा लाग्यो । म ढलेँ । एक जना शिक्षिका आएर प्रहरीलाई खबर गरिदिनुभयो । त्यसपछि अस्पताल लैजानुभयो । दाहिने आँखाले देख्दै देख्दैन । देब्रे आँखाले हेर्न मिल्छ । दाहिने आँखा खोल्नै मिल्दैन ।” 

उपचारमा संलग्न डा. सिभान्त श्रेष्ठकाअनुसार आँखाभित्र रगत जमेका कारणले भिजन एकदमै कम रहेको छ । चोटका कारण आँखाको प्रेसर पनि बढेको उनले बताइन् ।

घाइते पत्रकार कार्कीलाई भेट्न नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहालको टोली अस्पताल पुगेको थियो । पत्रकार महासंघले पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार निन्दनीय र खेदजनक रहेको बताएको छ । महासंघले घाइते पत्रकार कार्कीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन माग गरेको छ ।

ADV

सम्बन्धित खबर