
काठमाडौँ : सरकारले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि कारबाही तीव्र पारेको छ । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओसारपसार, लागुऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र तुल्याएको हो ।
सशस्त्र प्रहरीका अनुसार वर्तमान सरकार गठन भएयता हालसम्म सीमा क्षेत्रबाट रु एक अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ बराबरको अवैध सामग्री बरामद गरेको छ । उक्त अवधिमा १७ नाल अवैध हातहतियार बरामद भएका छन् भने आठ जना पक्राउ परेका छन् ।
त्यस्तै, लागुऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन् । निजहरूबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, खैरो हेरोइन, ट्याब्लेट तथा इन्जेक्सनलगायत लागुऔषध बरामद गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११८ जना बालबालिका छन् । त्यसमा संलग्न ९१ जना अभियुक्त पक्राउ परेका छन् ।
सीमा अतिक्रमण नियन्त्रणतर्फ दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना र १७ स्थानको सात दशमलव ४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ । यसैगरी, २०४ स्थानमा ९४ दशमलव ५८८ किलोमिटर क्षेत्र सरसफाइ गरिएको छ ।
सीमावासीसँगको सम्बन्ध र जनचेतना अभिवृद्धिका लागि त्यस अवधिमा दुई हजार ८०६ कार्यक्रम सञ्चालन गरिएको छ । विभिन्न स्थानमा रहेका १४१ सहायता कक्षबाट तीन लाख ४९ हजार ९०८ र १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएको सरकारले जनाएको छ ।