२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

बालेनलाई गगनको जवाफ- तर्साउने धेरै आए, तर्सिने बानी परेन

Nada
२०८३ कार्तिक १६ गते १९:२०
Shares
बालेनलाई गगनको जवाफ- तर्साउने धेरै आए, तर्सिने बानी परेन

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहको चेतावनीयुक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । सोमबार साँझ ठिक ६ बजे फेसबुकमा स्टाटस लेख्दै थापाले आफू कसैको धम्कीबाट नडराउने सन्देश दिएका हुन् ।

थापाले फेसबुकमा लेखेका छन्, ‘अहिले ठिक १८ः०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’

यसअघि प्रधानमन्त्री शाहले आइतबार फेसबुकमार्फत ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त स्टाटसपछि कांग्रेस सभापति थापाको प्रतिक्रिया सार्वजनिक भएको हो । यद्यपि थापाले आफ्नो स्टाटसमा प्रधानमन्त्रीको नाम उल्लेख गरेका छैनन् ।

थापाले स्टाटस सार्वजनिक गर्न ठिक १८ः०० बजेको समय रोज्नुलाई पनि राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय कांग्रेसको विशेष महाधिवेशन र त्यसपछि पार्टीले प्राप्त गरेको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँ लेनदेन भएको आरोप सार्वजनिक भएपछि यो विषय चर्चामा छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका इनम सापकोटाको बयानलाई आधार बनाएर कांग्रेसको आधिकारिकता प्रक्रियामा बिचौलियामार्फत १८ करोड रुपैयाँ लेनदेन भएको दाबीसहित समाचार सार्वजनिक भएका हुन् । तर, कांग्रेसले उक्त आरोप अस्वीकार गर्दै त्यसलाई पार्टीविरुद्ध भ्रम सिर्जना गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

यसअघि कांग्रेस सभापति थापाको सचिवालयले विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिकतासम्बन्धी विषयलाई बिचौलिया र आर्थिक लेनदेनसँग जोडेर प्रचार गरिएको भन्दै आपत्ति जनाएको थियो । पार्टी विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको दाबी गर्दै कांग्रेसले आफूविरुद्धका आरोपलाई षड्यन्त्रको संज्ञासमेत दिएको थियो ।

यही पृष्ठभूमिमा थापाले ठिक १८ः०० बजे स्टाटस लेख्नुलाई १८ करोड रुपैयाँ लेनदेनसम्बन्धी आरोपप्रतिको सांकेतिक जवाफका रूपमा पनि बुझिएको छ । तर, उनको अभिव्यक्ति प्रधानमन्त्रीको स्टाटसप्रतिको प्रतिक्रिया हो वा कांग्रेसमाथि लागेका आरोपको प्रतिवाद, त्यसबारे उनले स्पष्ट पारेका छैनन् ।

सम्बन्धित खबर