काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
विभिन्न पेसागत कर्मचारीहरु आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको उनको आरोप छ । उनले शिक्षक आन्दोलनमा घाइते भएकाहरुको उपचारको प्रबन्ध सरकारले गर्नुपर्ने माग राखे ।
उनले भने, ‘विभिन्न माग राखेर विभिन्न पक्षले सडकमा आन्दोलन गरिराखेका छन् । सरकार त्यो आन्दोलन देख्दैन । सरकार दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको छ । हिजो जति जना पनि घाइते हुनुभएको छ उहाँहरुलाई शिघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको लागि सरकारसँग माग गर्दछौं ।’
फरक प्रसंगमा बोल्दै अर्यालले अगामी आर्थिक वर्षको बजेट बुढीगण्डकी जलविद्युत आयोजनालाई सम्बोधन हुनेगरी आउनुपर्ने बताए । मुलुकमा रोजगारी वृद्धि गर्नको लागि तीन सिफ्टमा काम गर्ने व्यवस्थासहितको बजेट आउनुपर्ने उनको भनाइ छ ।