२०८२ वैशाख १५ गते सोमवार / Apr 28 , 2025 , Monday
२०८२ वैशाख १५ गते सोमवार
Ads

विद्यालय सञ्चालन गर्न निर्देशन

मध्यान्ह
२०८२ वैशाख १५ गते २१:२१
विद्यालय सञ्चालन गर्न निर्देशन


काठमाडौं: ललितपुर महानगरपालिकाले मंगलबारदेखि महानगरक्षेत्रका सबै विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ ।     

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले आज पत्राचार गरी सबै सामुदायिक विद्यालय सञ्चालन गरी पठनपाठन सुरू गर्न अनुरोध गरेको हो । 

‘महानगरपालिकाले शिक्षकको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ । उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायत शैक्षिक क्रियाकलाप हालसम्म सञ्चालन हुन नसक्दा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’, पत्रमा भनिएको छ ।     

विद्यालय शिक्षा ऐनलगायतका विभिन्न माग राखी शिक्षकले २६ दिनदेखि आन्दोलन जारी राख्दा देशभरका सामुदायिक विद्यालयमा अध्ययन अध्यापन प्रभावित भएको छ ।     

यसैबीच पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठन बुधबारसम्ममा सञ्चालन गर्न आन्दोलनरत शिक्षकलाई आग्रह गरेको छ । महानगरको शिक्षा महाशाखाले सोमबार सूचना प्रकाशन गरेर बुधबारसम्ममा पठनपाठन नियमित गर्न शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलाई आग्रह गरेको हो । नगर शिक्षा समितिको आइतबारको बैठकले पठनपाठन नियमित गर्न शिक्षकलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

नयाँ शैक्षिक सत्र वैशाख ८ देखि सञ्चालन गर्ने महानगर शिक्षा महाशाखाको तयारी थियो । तर, सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा रहेपछि संस्थागत विद्यालयको पठनपाठन पनि स्थगित गरिएको थियो । संस्थागत विद्यालयले गत वैशाख ११ देखि पठनपाठन सुरु गरिसकेका छन् ।
पोखरामा १ सय ९८ सामुदायिक र १ सय ७५ संस्थागत विद्यालय छन् । शिक्षा महाशाखाको २०८१ को तथ्यांकअनुसार ती विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १ लाख ४४ हजार विद्यार्थी अध्ययनरत छन् ।
यस्तै, ताप्लेजुङको फुङलिङ नगरपालिकाले पनि विद्यालय बन्द हुँदा समग्र शैक्षिक कार्यतालिका प्रभावित भएको भन्दै यथाशीघ्र कक्षा सञ्चालन गर्न नगरक्षेत्रका विद्यालयलाई आवह्वान गरेको छ ।  
नगर शिक्षा समितिका अध्यक्ष एवम् नगरप्रमुख अमिर मादेनले सोमबार एक विज्ञप्ति प्रकाशित गरी शिक्षकहरुको जायज माग पूरा गर्न नेपाल सरकारसँग आग्रह समेत गरेका छन् । उनले करिब महिना दिनदेखि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु सडक आन्दोलनमा जाँदा भर्ना अभियानसमेत हुन नसकेको, समग्र शिक्षा प्रणालीमानै नकारात्मक प्रभाव परेकोले यथाशीघ्र सामुदायिक विद्यालय सञ्चालन गर्न भनेका छन् ।  
नगरपालिकाले नगर शिक्षा समिति र वडा शिक्षा समिति समेतकोतर्फबाट यस्तो अपिल गरिएको बताएको छ । नगरपालिकाले समग्र शैक्षिक क्रियाकलाप नै ठप्प हुँदा लाखौं विद्यार्थीहरूमा मनोवैज्ञानिक रुपमा दूरगामी असर परिरहेकोले नगरक्षेत्रका विद्यालयहरू सुचारु गर्न आग्रह गरेको छ ।
०० 

ADV

सम्बन्धित खबर