काठमाडौँ : २८ दिनदेखि जारी शिक्षक महासंघको आन्दोलन सहमति नजिक पुगेको छ । सोमबार दिनभर र मध्यरातसम्म शिक्षामन्त्री रघुजी पन्त र शिक्षक नेताहरूबीच भएको वार्ता सकारात्मक बनेको हो ।
सरकारले शिक्षकसँग निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले नै तयार गरेको सात बुँदालाई टेकेर सहमति गर्ने तयारी गरेको छ । सरकारले पनि आजै बस्ने मन्त्रिपरिषद्बाटै आन्दोलनका माग सम्बोधनका विषयमा निर्णय गर्ने तयारी गरेको छ ।
शिक्षकका माग सम्बोधन गर्ने विषयमा सोमबार नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निवासमा सत्तारुढ दल र शिक्षक नेताहरूको संयुक्त बैठक बसेको थियो । उक्त बैठक सहमति नजिक पुगेको सहभागी नेताहरूले बताएका छन् ।
बैठकमा कांग्रेस उपसभापति खड्का, दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, एमालेबाट माहासचिव शंकर पोखरेल, मन्त्रीहरू अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त सहभागी थिए । शिक्षक महासंघबाट लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा पदाधिकारी सहभागी भएका थिए ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल बाँकी रहेको र आन्दोलन जारी रहने बताए ।