काठमाडौंः सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जबराले मुलुकको राजस्वले सामान्य खर्च पनि धान्न नसक्ने र विदेशबाट युवाले पठाएको ‘रेमिट्यान्स’का भरमा मुलुकको अर्थतन्त्र धानेको उल्लेख गर्दै अर्थतन्त्र सुधार गर्न विद्युत् उत्पादन बढाउनुपर्ने सुझाव दिए ।
‘उत्पादन बढाएर विद्युत् निर्यातबाट मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्छ । विद्युत् उत्पादन बढाउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न जरुरी छ’, उनले भने– ‘हालसम्म भएको सम्झौताअनुसार १० हजार मेगावट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको छ । यसबाहेकको विद्युत् कहाँ निर्यात गर्ने भन्नेबारे सदनलाई जानकारी गराउनुपर्छ ।’
सांसद मेटमणि चैधरी र वीरेन्द्रप्रसाद महतोले विगतमा शिक्षकसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरे । लगानीकर्ताका लागि लगानीको वातावरण बनाउन झन्झटिला प्रावधान हटाउनुपर्नेमा उनले जोड दिए ।
सांसद रामप्रकाश चौधरीले जनकपुर र वीरगञ्जको बीचमा नदीमा पुल बनाउन बजेट अभाव भएकाले आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकतामा राख्न सरकारसँग माग गरे ।
सांसद प्रेम सुवालले शिक्षकहरुसँग सम्झौता गर्ने तर कार्यान्वयन नहुँदा समस्या भएको बताए । ‘सम्झौता गर्दा मुलुकलाई पर्ने आर्थिक भारबारे पहिला नै ख्याल गर्नुपर्छ’, उनले भने । सहकारी पीडितका समस्या समाधान गर्न समेत सांसद सुवालले माग गरे ।