सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले करिब एक वर्षअघि डोजर प्रयोग गरी हटाएको हटिया लाइन, हङकङ बजार र गोदाम लाइन क्षेत्र अझै प्रयोगविहीन अवस्थामा छ ।
पार्किङ निर्माणको नाममा गरिएको उक्त हस्तक्षेपपछि हालसम्म पनि कुनै निर्माण कार्य सुरू हुन नसक्दा स्थानीय व्यापारीहरू आक्रोशित छन् । नगरपालिकाले २०८० फागुन ३० गते नगर विकास समितिको स्वामित्वमा रहेको जमिन खाली गराउन व्यापारीहरूका संरचनामा डोजर चलाएको थियो ।
यसअघि माघ १७ गतेभित्र संरचना हटाउन सूचना जारी गरिए पनि व्यवसायीहरूले अटेर गरेपछि नगरपालिका आफैं अघि सरेको थियो । डोजर चलाउँदा व्यापारीहरूबीच तनाव समेत उत्पन्न भएको थियो । केही व्यापारीले विरोधस्वरूप डोजरमाथि ढुङ्गा मुढा प्रहार गर्दा तीन जना कर्मचारी सामान्य घाइते भएका थिए ।
तर, संरचना भत्काइएको करिब एक वर्ष बितिसक्दा पनि पार्किङ निर्माणको काम अगाडि नबढ्दा आलोचना थप चुलिएको छ । खाली गराइएको जमिन अहिलेसम्म प्रयोगमा ल्याइएको छैन भने नगर प्रमुख मोहनमाया ढकालमाथि ‘स्टनबाजी’को आरोप लागेको छ ।
व्यापारीहरू भने फेरि आफूहरूलाई भाडामा दिनुपर्ने माग गरिरहेका छन् । बसपार्कमा फेन्सी पसल सञ्चालन गरिरहेका नारायण श्रेष्ठ भन्छन्, ‘नगरपालिकाले हतारमा हटायो, तर अहिले पार्किङ बनाउने चासो नै देखिएको छैन । अब पनि काम नहुने हो भने हामीलाई नै पुनः भाडामा दिनुपर्छ ।’
अर्का व्यापारी एलपी पाण्डेले पनि संरचना भत्काएर नगरपालिकाले अन्याय गरेको आरोप लगाए । ‘नगरपालिकाले हामीलाई हटायो, ठीकै छ, तर अहिलेसम्म केही सुरु नै भएको छैन । नगरपालिकाले व्यवसायीहरुलाई दुःख दिइरहेको छ,’ उनले भने ।
सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मण कँडेलले पनि पार्किङ निर्माणमा बहानाबाजी भइरहेको बताए । ‘कहिले बजेट त कहिले अन्य बहाना देखाउँदै नगरपालिका पन्छिइरहेको छ’ उनले भने ।
यता, नगर प्रमुख ढकालले भने हङकङ बजारमा टेन्डर खुलिसकेको र काम अगाडि बढिरहेको दाबी गरेकी छन् । ‘अन्य क्षेत्रका लागि पनि छिट्टै टेन्डर प्रक्रिया अघि बढ्नेछ,’ उनले बताइन् । ढिलाइ हुनुमा प्रशासनिक जटिलता र बजेट अभाव मुख्य कारण भएको पनि उनले स्पष्ट पारिन् ।